नवलपुर, ५ पुस – अमर ईंग्लीस स्कुल रजहरले आफ्नो स्वर्ण महोत्सवको अवसरमा चितवनमा निर्मित अन्तराष्ट्रिय क्रिकेट रंगाशालालाई सहयोग गरेको छ । बिद्यालयका प्रिन्सिपल पदम बरालले घोषणा गरे अनुसार एकलाख रुपैयाँ हस्तान्तरण गर्ने कार्यक्रममा उपस्थित सहभागिले समेत रकम थप्दा दुइलाख २३ हजार ४ सय ३३ रुपैयाँ पुगेको हो । उक्त रकम शुक्रवार बरालले धुर्मुस सुन्तली फाउण्डेसनलाई हस्तान्तरण गरेका छन् । बिद्यालयको समापन समारोहमा आएका फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसलाई रकम हस्तान्तरण गरिएको हो । कार्यक्रममा आएका कट्टेलले रंगाशालालाई जोसुकैले जस्तो सुकै सहयोग गरेपनि स्विकार्य हुने बताए । उनले नीजि बिद्यालय स्थापना गरेरपनि सामाजिक काममा लागेको भन्दै बराल परिवारको प्रसंसा पनि गरेका थिए । कार्यक्रममा प्रिन्सिपल पदम बराल, प्रबन्ध निर्देशक द्रौपदी बराल र परिवारका सदस्य तथा बिद्यालयका शिक्षकहरुले सामुहिक रुपमा रकम हस्तान्तरण गरे । कट्टेललाई हेर्न आएका सहभागिले पनि रंगाशालालाई सहयोग गर्ने बताएका छन् । कट्टेलले बिद्यालयको कार्यक्रममा बालबालिकालाई प्रेरित गर्नेगरी प्रस्तुती समेत दिएका थिए । शुक्रवारै बरालले आफ्ना माता लीलाबती र पिता चुडामणीको संझनामा रजहरको देवचुली माबिमा अक्षयकोष स्थापना गरिदिएका छन् । बिद्यालयका प्रअ नारायण भण्डारी र व्यवस्थापन समितिका अध्यक्ष सूर्य न्यौपानेलाई बराल परिवारले एकलाख रुपैयाँ हस्तान्तरण गरे । २५ बर्ष अघि बरालका मातापिताले यो बिद्यालय स्थापना गरेका थिए ।





