बागलुङ, ६ पुस – अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागलुङले मानवअधिकार बर्ष पुस्तक २०२० बारे छलफल तथा अन्तरक्रिया गरेको छ । हरेक बर्ष मानवअधिकार बर्ष पुस्तक प्रकाशन गर्नकालागि छनौट भएका घटनाको समीक्षा गरेर निष्कर्षमा पुगेपछि मात्र प्रकाशनका लागि पठाउने चलन छ । इन्सेक प्रतिनिधि सिर्जना पन्तले जिल्लामा अघिल्लो बर्षको तुलनामा मानवअधिकार हनन्का घटना बढेको बताईन् । अंग्रेजी बर्ष अनुसार सन् २०१९ भर बागलुङमा भएका घरेलु हिंसा, यौन दुव्र्यवहार, जबरजस्ती करणी, जबरजस्ती करणी उद्योग, नागरिक तथा राजनितिक अधिकार, धम्की तथा कुटपिट राज्य पक्षबाट, बालअधिकार÷शैक्षिक संस्थामा कुटपिट, जातिय विभेद, बहुविवाह, महिला अधिकार÷गोली प्रहार–घरेलु हतियार, मानव वेचविखन तथा ओसार पसार, आत्महत्या दुरुत्साहन÷शंकास्पद मृत्यु र सम्पत्ती क्षतीमा गरी १०५ प्रकारको घटना सूचिकृत भएको पन्तले जानकारी दिइन् । अघिल्लो बर्ष ५७ घटना मात्र भएकोमा यो बर्ष संख्या बढेको पाइएको हो । कार्यक्रममा गण्डकी प्रदेश संसद इन्द्रलाल सापकोटाले इन्सेक प्रतिवेदनले समाजको अवस्थाको प्रतिबिम्व गरेकोले आआफ्नो ठाउँबाट मानव अधिकार उल्लङ्घनका घटना हुन नदिन सजग रहनु पर्ने आवश्यकता रहेको औल्याए । हरेक नागरिक र राज्यका सबै निकाय मानवअधिकार हनन् नगर्ने अभियानमा लाग्दा देशको अबस्था सुधार हुने बताए । लामो संघर्षबाट आएको संघिय लोकतान्त्रिक गणतन्त्रका मूल्य र मान्यता, संविधान र कान्ून पालनामा लाग्दा घटना न्युनिकरण हुने उनले बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका सचिव राम थापा ‘अविरल’ र नेपाली काँग्रेस बागलुङका कोषाध्यक्ष उमेश गौतमले मन्तव्य व्यक्त गरेका थिए । उक्त अवसरमा पत्रकार, समाजसेवी, नागरिक अगुवा लगायतले छलफलमा भाग लिएका थिए ।





