बागलुङ, ६ पुस – होमस्टेमा पुग्दा अर्गानिक खाना पाइन्छ । अर्गानिक खानाकै कारण धेरै आन्तरिक पर्यटकको रुपमा नेपालीहरुमा होमस्टे घुम्ने बानी बसेको छ । पूर्वदेखि पश्चिम सम्मका मानिसहरु घुम्ने क्रममा ठूला होटलको तुलनामा होमस्टे खोजी खोजी पुग्ने गरेका छन् । तर पछिल्लो समय नेपालका होमस्टेमा बिदेशी पाहुनाको पनि चासो बढेको छ । नेपाल भ्रमण बर्ष मनाउने तयारी भैरहेको बेला प्रचारमा आएका होमस्टेले बिदेशी पाहुना राख्ने अवसर समेत पाएका हुन् । बागलुङको भकुण्डे, ताराखोलाको किकल्टा होमस्टे लगायतमा बिदेशी पाहुना समेत राख्न थालेका हुन् । काम बिशेषले आएका पाहुना र होमस्टेको स्वाद चाख्ने रहरले समेत आएकाहरुले बेलाबेला होमस्टै भरिभराउ भएको भकुण्डेस्थित होमस्टे संचालकहरुले बताए ।
भकुण्डेको होमस्टेमा कोरियाली, जापानी र अमेरिकी पर्यटकहरु आएर बसेको संचालक मुना थापाले बताईन् । ‘एकैपटक २५ जना बिदेशीसहित ५० जना पर्यटकसम्म आएपछि हामीले व्यवस्थापन गरेर राखेका छौं’ थापाले भनिन्, ‘खाना एकै स्थानमा खुवाएर बसाल्न घरघरमा पु¥यायौं ।’ भकुण्डेस्थित अतिथि सत्कार होमस्टेमा आन्तरिक पर्यटक समेत नियमित आउने गर्छन् । जिल्लाको पहिलो होमस्टे भएकोले यहाँ फोन सम्पर्क गरेर आउने पर्यटक पनि धेरै छन् । कोरिया र जापानका पर्यटकहरु यहाँ नियमित जस्तै आउने गरेका छन् । अध्ययनको क्रममा नेपाल आउने कोरियालीले यहाँको होमस्टेमा आएर साता दिनसम्म पनि बिताउने गरेका छन् । बागलुङ नगरपालिका १० को भकुण्डेस्थित अतिथि सत्कार होमस्टेमा दुई बर्षदेखि बिदेशी पाहुना आउने क्रम बढेको हो । ‘आएका पाहुनालाई फूल अभिरले स्वागत गर्ने हाम्रो चलन हो’ होमस्टे संचालन समितिका अध्यक्ष खिमबहादुर थापाले भने, ‘पाहुनालाई अर्गानिक खुवाउने र फर्केर आउने बनाउन प्रयास गरेका छौं ।’ आन्तरिक पर्यटकहरु दश पटकसम्म फर्केर आएको र बिदेशीहरु पनि दुई पटकसम्म आएको उनले अनुभव सुनाए । पाहुना बढेपछि स्थानीयले विभिन्न घरमा बाँडेर खाना खुवाउने र बसाल्ने समेत गरेको थापाले बताए । गण्डकी प्रदेश सरकारले पनि भकुण्डेलाई पर्यटकीय क्षेत्रमा सूचिकृत गरेको छ । प्रदेश सरकारकै होमस्टे अनुदानमा पनि समावेश भएर १० लाख पाएको हो । जिल्ला स्तरमा गरिएको बर्गिकरणमा बागलुङ कालीका भगवती मन्दिरपछि भकुण्डेलाई दोश्रो नम्बरमा सूचिकृत गरिएको छ ।
सबै क्षेत्रबाट सूचिकृतमा परेपछि यहाँका होमस्टे संचालकहरु अझै हौसिएका छन् । ‘हामीले काम गरेको देखेरै सबैको साथ र सहयोग पाएका छौं’ थापाले भने, ‘पर्यटक बढाउन सकियो भने छोराछोरी बिदेशिनु पर्दैन, यही रोजगारी पाइन्छ ।’ थापाले गाउँका धेरै युवालाई गाउँमै बसेर व्यवसाय गर्नपनि आग्रह गरेको बताए । भकुण्डे पुग्ने सडक पनि स्तरोन्नती गरिएको छ । बागलुङ बजारदेखि तित्याङ, भकुण्डेहुँदै रायडाँडा पुग्ने सडकलाई पहिलो प्राथमिकतामा राखेर काम गरिएको स्थानीय उमाकान्त शर्माले बताए । ‘गत बर्षसम्म सडककै समस्याले धेरैले पैदल जानुपर्ने बाध्यता थियो, अहिले सहज भएको छ’ शर्माले भने, ‘पाहुनाले पैदल यात्रा गर्न चाहेमा होमस्टेबाटै लठ्ठी दिने व्यवस्था पनि गरिएको छ ।’ भकुष्डेमा होमस्टेसहित भ्यू–टावर पनि छ । यो टावरबाट बागलुङ सदरमुकामसहित म्याग्दीको बेनी र पर्वतको कुश्मा पनि देखिन्छ । त्यस्तै जैमिनी नगरपालिकासहित धेरै गाउँ तथा एक दर्जन हिमाली श्रृंखलाहरु देख्न सकिन्छ ।
गण्डकी प्रदेशले तीन बर्षसम्म भ्रमण बर्ष मनाउने तयारी गरेको छ । यो तयारीसंगै यहांका होमस्टे सुधारका लागि १० लाख रुपैयाँ अनुदान समेत दिएपछि होमस्टे संचालकहरु हौसिएका छन् । पाँच बर्षभित्र २० लाख पर्यटक गण्डकी प्रदेशमै ल्यउने योजनामा होमस्टेले साथ दिने थापाले बताए । यहाँका संचालकहरुले अर्गानिक खेती बिस्तार, बिद्युत र पानीको व्यवस्थापन तथा सामुदायिक भवन निर्माणमा पनि सरकारी लगानी भित्राउन पहल गरेका छन् । केही समय अघिसम्म यहाँ ९ घरले छुट्टै पाहुना कोठा बनाएका छन् । दर्जनबढी अन्य घरमा सामान्य अबस्थामै पाहुना राख्ने गरेका छन् । भकुण्डेमा ५० जना पाहुनालाई नियमित बसाल्ने गरेका छन्भने आगामी बर्ष क्षमता बढाउने तयारी गरेका छन् । नगरपालिकाले खानेपानी योजना ल्याएर गाउँलाई व्यवसायिक बनाउने अभियानमा साथ दिने प्रमुख जनकराज पौडेलले पनि आश्वासन दिएका छन् । ‘गाउँमै रोजगारी बढाउने योजनालाई खानेपानीकै कारण असर नपरोस् भनेर योजनाको छनौट भैरहेको छ’ पौडेलले भने, ‘श्रोत खोजेर केही संकलन ट्यांकी समेत बनाउने र पानी बिरतण गर्ने गरी काम गर्छौ ।’ मगर संस्कृतिमा आधारित गीत, संगीत र नृत्यहरु देखाउने, स्थानीय जातको खाना खुवाउने भएकोले बिदाको दिन सदरमुकामका कर्मचारी समेत भकुण्डे जान रुचाउँन थालेका छन् । यहाँका ४० घरमा होमस्टे बनाउन सकिने पूर्वाधार छ । खाना पकाउने, सरसफाई र पाहुना स्वागतका लागि उनीहरुले तालिम पछि पाएको प्रमाणपत्र र घरघरमा होमस्टेको बोर्ड बनाएर राखिएको छ ।





