बागलुङ, ७ पुस – कृषकलाई व्यावसायिक बनाउने उद्देश्यले जिल्लाको जैमिनी नगरपालिकाले यान्त्रिक हलो (मिनी पावर टिलर) वितरण गरेको छ । थोरै समयमा धेरै खेतबारी जोत्न सकिने, गोरु पाल्न झन्झट नहुने र कम लागतमा खेती लगाउन पाइने भएकाले कृषकको मागअनुसार नगरपालिकाले यान्त्रिक हलो वितरण गरेको हो ।
नगरपालिकाको ५० प्रतिशत अनुदान र किसानको ५० प्रतिशत लगानीमा नगरभरी ३२ वटा यान्त्रिक हलो (मिनी पावर टिलर) वितरण गरिएको कृषि शाखाले जनाएको छ । नगरपालिकाले दशवटै वडामा ३२ वटा कृषकहरुको समुह बनाएर यान्त्रीक हलो वितरण गरेको कृषि शाखाका कृषि प्राबिधिक रविन्द्र शर्माले बताए । गत आर्थिक बर्षमा समेत नगरपालिकाले २३ वटा कृषि समुहलाई यान्त्रीक हलो वितरण गरेको थियो ।
गाउँमा खनजोतका लागि गोरुको अभाव र जनशक्ति समेत नरहेकाले किसानहरुको माग यान्त्री हलो हुने गरेको छ । डिजेल वा पेट्रोलबाट चल्ने तथा कम जनशक्ति भए पनि पुग्ने भएकाले यसतर्फ कृषकको आकर्षण बढेको नगरपालिकाका उप–प्रमुख लिला रानाले बताए । ‘यस बर्ष ७ लाख रुपैयाँ अनुदान उपलव्ध गराएर हलो वितरण गरियो’ रानाले भने ‘क्रमश सबै किसानलाई सहज हुने हिसावले यान्त्रीकरण गर्ने तयारीमा हामी छौं ।’
एक हल गोरुले एक दिनभरीमा जोत्न सकिने जमिनी यान्त्रीहलोले २ घण्टामा जोत्न सकिन्छ । हलो पाएसँगै कृशानहरुले त्यसको प्रयोगको बिषयमा जानकारी गराउन माग गरेका छन् । बेला बेलामा आउने यान्त्रीक समस्याका बिषयमा समेत नगरले सहजीकरण गरिदिनुपर्ने उनिहरुको माग छ ।
कम तौल भएको यान्त्रिक हलो (मिनी पावर टिलर) प्रतिगोटा ४८ हजार रुपैयाँमा खरिद गरिएको उप प्रमुख रानाले बताए । अग्ला कान्ला र भीरालो जमिनमा समेत दुई तिन जनाले बोकेर हिडाउन सकिने भएकाले यान्त्रिक हलो (मिनी पावर टिलर)को माग उच्च रहेको छ ।





