आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बागलुङ बसपार्क निर्माणको म्याद थपेपछि काम तीब्र गतिमा

बागलुङ बसपार्क निर्माणको म्याद थपेपछि काम तीब्र गतिमा


  • ढोरपाटन संबाददाता
  • पुष ८ २०७६, मंगलबार

बागलुङ,७ पुस – निर्माण रोकिएको बागलुङ बसपार्कका लागि नगर बिकास कोषले म्याद थप गरेको छ । उक्त म्याद थपबारे जानकारी आएपछि बागलुङ नगरपालिकाले पनि म्याद थपेर निर्माण गरिरहेको ठेकेदार कंपनीलाई काम छिटो सक्न निर्देशन दिएको छ । बागलुङ नगरपालिका वडा नं. ४ उपल्लाचौरमा थालिएको काम गत भदौमा म्याद सकिएपछि सुस्ताएको थियो । अहिले फेरी म्याद थपपछि कामले तीब्रता पाएको हो । सोह्र बर्ष अघि स्थानीयले जग्गा दिएपछि बसपार्क बनाउने भनेपछि रोकिएको थियो । गत बर्ष नगरबिकास कोषको लगानीमा ठेक्का लगाएपछि निर्माण थालिएकोमा एक बर्ष मात्र समय दिंदा काम नसकेर रोकिएको थियो । ठेक्का लिएको कंपनीले तोकेको समयमा काम नसकेपछि पुन अलपत्र पर्नेखतरा बढेको थियो । बसपार्क बनाउन ठेक्का दिएको नगर बिकास कोषले ६ महिना म्याद थपेर बसपार्क बनाउने बाटो खोलीदिएको हो । उक्त थप म्यादमा ठेकेदार कंपनीले काम सक्ने भनेपछि बागलुङ नगरकार्यपालिकाको बैठकलेपनि ६ महिना म्याद थपेर काम गर्न बाटो खुलाएको नगर प्रमुख जनकराज पौडेलले बताए । बागलुङ नगरपालिका वडा नं. ४ का ५१ जना बासिन्दाले सामुहिक जग्गा दिएर यहाँ बसपार्क निर्माण गर्ने योजना थियो । लामो समय अलपत्र परेको योजना जनप्रतिनिधि आएपछि थालनी भएको हो । विस्तृत परियोजना प्रस्तावमा त्रुटी भएको र ठेक्का दिंदा पनि एक बर्ष मात्र सक्ने भनिएकोले काम समयमा नसकिएको भन्दै ठेकेदार कंपनीले पनि म्याद थपका लागि माग गरेको थियो । कोषले डिपआरको त्रुटी सच्याएर पुन काम गर्न अनुमति सहित म्याद थपेपछि ठेकेदारले धमाधम काम थालेका छन् । जग्गादाताहरुलाई एकएकवटा घडेरी दिने गरी यहाँको ५९ रोपनी जमिन लिएर बसपार्क बनाउने तयारी गरिएको हो । बसपार्क बन्ने भएपछि स्थानीय फेरी खुसी भएका छन् । ‘बसपार्क बन्यो भने हाम्रो घडेरी आउँछ, सानो व्यपार गरेर भएपनि बसौला भन्ने छ’ स्थानीय कोपिला केसीले भनिन्, ‘लामो समयदेखि पर्खियौं, बन्नेनै भए ६ महिना कुर्न समस्या छैन ।’ आशिष फेवा संयुक्त निर्माण कंपनीले ठेक्का लिएपनि छोटो समय भएकोले काम सक्न मुस्किल भएको बताएर म्याद थपका लागि माग गरेको हो । अहिले सम्म ३५ प्रतिशत काम सम्पन्न भएको अनुमान गरिएको छ । ‘अब जमिन सम्याउने र सजिलो काम बाँकी छ’ इन्जिनियर मनोज शर्माले भने, ‘संरचना निर्माणको काम भने सम्पन्न भएको छ ।’ नगर बिकास कोषको ९ करोड लगानी हुने भएपनि कंपनीले ७ करोड ६६ लाख ९९ हजार रुपैयाँमा काम सक्ने गरी ठेक्का लिएको थियो । ठेक्का सम्झौतामा बसपार्क, टर्मिनल भवन, व्यपारिक भव, भूमिगत ट्याक्सी पार्क लगायतको संरचना बनाउनु पर्ने उल्लेख छ । हाल बागलुङको चिप्लेटीमा रहेको बसपार्कले चाप नधानेपछि यो बसपार्क बनाउन लागिएको हो । यो बसपार्क बनेमा लामो र छोटो दुरीका बस संचालन गर्न दुइवटा पार्क संचालनमा आउन सक्नेछन् । बसपार्क निर्माणका लागि परामर्श दिनका लागि केही मरामर्शदाता समेत थप्ने तयारी छ । बानपा ४ उपल्लाचौरका यो बसपार्क निर्माणाधिन छ । बसको पार्किङ, टर्मिनल भवन, शौचालय, खानेपानी र दोहोरो ट्रयाक १७ रोपनीमा बन्नेछ । बाँकी जमिनमा जग्गादाताको लागि कम्तिमा साँढे दुइ आना देखि पाँच आना सम्मका एकसय २७ वटा घडेरी बनाईने छ । बसपार्कका लागि निशुल्क जग्गा दिएकालाई घडेरी उपलब्ध गराउन १६ बर्ष अघि नगरपालिकाले सम्झौता गरे अनुसार हस्तान्तरण गरिने वडा अध्यक्ष धु्रबबहादुर केसीले बताए । कोषको ऋण बाहेक यहाँ नगरपालिकाको ७५ लाख र समपुरक कोषबाट २५ लाख केएफ डब्लुले १० लाख र नेपाल सरकारले १८ लाख रुपैयाँ पनि ऋण सहयोग गर्नेछ । यसरी नगरपालिकाको ऋण भार १० करोड ४ लाख ८८ हजार रुपैयाँ पुग्नेछ ।यो बसपार्क बनेपछि एकैपटक ८० वटा बस राख्न मिल्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->