पोखरा,१३ पुस -दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टि–२० क्रिकेटको उपाधि चितवन राइनोजले जितेको छ ।
पोखरा रंगशालास्थित क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा विराटनगर टाइटन्सलाई ३२ रनले हराउँदै चितवनले उपाधि हात पारेको हो ।उपाधिसँगै चितवनले २७ लाख नगद राशी हात पारेको छ । उपविजेता विराटनगरले १० लाख रुपैयाँमा चित्त बुझायो ।
टस हारेर पहिले ब्याटिङ गरेको चितवनले ५ विकेट गुमाएर २ सय २ रनको योगफल खडा गरेको थियो । लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७० रनमै समेटियो ।
पहिलो संस्करणमा पोखरा पल्टनसँग पराजित हुँदै उपविजेतामा चित्त बुझाएको चितवनले दोस्रो संस्करणमा आएर नतिजा आफ्नो पक्षमा पारेको हो ।निकै उत्कृष्ट खेल प्रदर्शन गरेको चितवन लिग चरणमा सबै खेलमा जित हात पार्दै फाइनल प्रवेश गरेको थियो ।
चितवनको जितका लागि रोहन मुस्ताफा र अनिलकुमार शाहले उत्कृष्ट अर्धसतक प्रहार गरेका थिए । दुईजनाको ९५ रनको साझेदारीले चितवनले विशाल योगफल बनाउन सक्यो ।
अनिललाई १६ ओभरको पहिलो बलमा र रोहनलाई सोही ओभरको चौथो बलमा समान ५० रनमा रोक्दै विराटनगरका पुनित मेहराले साझेदारी तोडेका थिए । कप्तान पारस खड्काले २५ रन, आरिफ शेख १९ रन र बाबर हायत ५ रनमा आउट हुन पुगे । करण केसी २६ रन र सन्नी पटेल १६ रनमा अविजित रहे ।
बलिङतर्फ पुनित मेहरा र मुहम्मद जाइद आलमले समान २÷२ विकेट लिँदा किशोर महतोको नाममा १ विकेट लिन सफल भएका थिए ।
जवाफी ब्याटिङमा उत्रिएका ओपनिङ ब्याट्सम्यान मुहम्मद जाइद आलमको अर्धशतकीय पारीले विराटनगरलाई जिताउन सकेन् । उनले ४८ बलमा ५७ रन बनाएर रोहन मुस्ताफाको बलमा भुवन कार्कीको हातबाट आउट हुन पुगे ।
कप्तान प्रदीपसिंह ऐरीलाई ३६ रन र दीलिप नाथलाई खातै खोल्न नदिई चितवनका करण केसीले १९ औं ओभरको तेस्रो र चौथो बलमा लगातार आउट गराए ।पुनित मेहरा ३२, सुनिल धमाला ४, लोकेश बम १ र नोमान खान १८ रनमा आउट भए । पुष्प थापा ३ र जितेन्द्र मुखिया ७ रनमा अविजित रहे ।
बलिङतर्फ करण केसी सर्वाधिक ३ विकेट लिए । सन्नी पटेल र रोहन मुस्ताफाको नाममा समान १ विकेट रह्यो ।खेलको म्यान अफ दि म्याच चितवन राइनोजका रोहन मुस्तफा घोषित भए उनले नगद रु १० हजार हात पारे ।फास्टेस बलर चितवनका करण केसी घोषित भए ।
इमर्जिङ खेलाडी एक्सपर्ट धनगढीका अनिल खरेल घोषित हुँदै १५ हजार रुपैयाँ प्राप्त गरे । मोस्ट भ्यालुएवल खेलाडी विराटनगर टाइटन्सका लोकेश बम घोषित भए उनले १ लाख रुपैयाँ हात पारे ।उत्कृष्ट बलर चितवन राइनोजका करण केसी घोषित हुँदै टिभिएस मोटरसाइकल प्राप्त गरे ।
उत्कृष्ट ब्याटसम्यान काठमाडौं गोल्डेन वारियरका कप्तान तथा नेपाल राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्ल घोषित हुँदै टिभिएस मोटरसाइकल प्राप्त गरे ।प्रतियोगिताको म्यान अफ द सिरिज चितवन राइनोजका रोहन मुस्तफा घोषित हुँदै टिभिएस मोटरसाइकल प्राप्त गरे ।





