बागलुङ,१३ पुस – बुढ्यौलीमा साहाराको खोजीमा हरेक मानिस हुन्छन् । परिवारको सहारा होस वा आँफु आवद्ध भएको संस्थाको सहारा किन नहोस, आफ्ना सन्तानले दिने माया र ममताले जेष्ठ नागरिकहरुको छाती चौडा हुने कुरा हाम्रो समुदायमा नौलो कुरा होईन । तर सानो तिनो लगानी गरेर सहभागिता जनाएको संस्थाले अभिभावक मानेर सम्मान र दायित्वबोध गर्दाको क्षणमा हुने अनुभव भने फरक हुन्छ ।
यस्तै फरक अनुभव गर्दै थिए बागलुङको नारायणस्थान र अमलाचौरमा ७० बर्ष उमेर काटेका जेष्ठ नागरिकहरु । शनिवार बागलुङ नगरपालिका १४ नारायणस्थानमा साना किसान कृषि सहकारी संस्थाको २३ औं साधारणसभामा उपस्थित जेष्ठ शेयर सदस्यहरुले पनि दुखमा काम लाग्ने निकाय भेटेको महसुश गरे । राज्यले दिने सुविधाको भोग गरेका जेष्ठ नागरिकहरुलाई कुनै आर्थिक सुबिधाको आशात थिएन तर भौतिक रुपमा सहकारीले गरेको सम्मान र वितरण गरेको सामग्रीबाट उनीहरु सन्तुष्ट देखिन्थे । सहकारीले आफ्नो साधारणसभाको अवसरमा ७० बर्ष काटेका १३ जनालाई जाडोमा लगाउने उनको टोपी तथा बुढ्यौलीमा टेक्ने बेतको लठ्ठी प्रदान गरेको थियो । जेष्ठनागरिकलाई अभिभावक मान्दै सहकारीले सन्तानको दायित्व सम्झेर लठ्ठी र टोपी वितरण गरेको थियो । लठ्ठी र टोपी वितरण गर्दै कृषि सहकारी संघका केन्द्रिय अध्यक्ष खेम बहादुर पाठकले जेष्ठ नागरिक प्रति सहकारीले देखाएको सद्भाव अतुलनीय रहेको बताए । पाठकले पछिल्लो समय सहकारीहरुले गरेको प्रगतीमा महंगो व्याज लिने साहु र केही महंगो व्यजमा सामान्य नागरिकलाई लगानी गर्ने गरेका बित्तीय संस्थाहरुले मतभेद गरेको बताए । उनले सहकारीका सदस्यहरुमा चेतना, सीप, प्रबिधि, बजार र सम्पर्क रहनुपर्ने भन्दै त्यसकालागि सहकारीकर्मी तयार रहनुपर्नेमा जोड दिए । ‘साना किसानका सदस्यहरुले चाउचाउ बिस्कुट किनेर खाने होईन खुदोले चिनी र मकैले चाउचाउ बिस्थापन गर्ने हो’ पाठकले भने ‘किसान भनेको किनेर सामान नखाने नागरिक मात्रै हुन् ।’ कार्यक्रममा कृषि सहकारी संघको प्रस्तावित गण्डकी प्रदेश संयोजक रामजी प्रसाद अधिकारीले कृषि सहकारीहरुले कृषि उत्पादनमा जोड दिनुपर्ने बताए । सानाकिसान कृषि लघुबित्त गण्डकी प्रदेशका प्रबन्धक राजकुमार यादवले सहकारीहरुले शेयर सदस्यको हितमा कार्यक्रमहरु बनाउनुपर्नेमा जोड दिए । बागलुङ नगरपालिका १४ का वडाअध्यक्ष चक्रबहादुर खत्रीले किसानले उत्पादन गरेका कृषि सामग्रीको बजारीकरण तथा प्रबद्र्धनमा वडाको तर्फबाट सहयोग रहने बताए । साधारणसभामा संस्थाका अध्यक्ष नरबहादुर खत्रीले सहकारीको प्रगती तथा आगामी बर्षका कार्यक्रमको बिषयमा जानकारी गराएका थिए । साधारणसभाले अध्यक्षको प्रगती प्रतिवेदन र लेखा समितिको प्रतिवेदन सर्वसम्मतले पारित गरेकोछ । सहकारीले नयाँ कार्यकालकालागि ओमनाथ सिग्देलको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । उपाध्यक्षमा ओमबहादुर केसी र सदस्यमा टेकबहादुर खत्री, बलबहादुर केसी, कृष्णबहादुर पौडेल क्षेत्री, पुष्पबहादुर घर्ती क्षेत्री, रेखा भण्डारी श्रेष्ठ, सन्तुकुमारी श्रेष्ठ, साबित्रा पौडेल, टेकनारायण शर्मा, दुर्गाप्रसाद सुवेदी, खेमराज शर्मा, शकुन्तला शर्मा र द्रुपता शर्मा रहेका छन् । बिष्णुप्रसाद शर्मा पौडेलको संयोजकत्वमा गोपाल प्रसाद शर्मा र सचिता क्षेत्री रहेको लेखा समिति पनि गठन भएको छ ।





