पोखरा,१४ पुस – शनिबार पोखरामा एकैचोटी सयौँ साइकलहरु पोखराको सडकमा निस्किए । साइकल सिटीले आयोजना गरेको ‘टुर दि पोखरा’को क्रममा सडकम निस्कनुअघि बोल्ने क्रममा कलाकार हरिवंश आचार्यले भने,‘सडकमा अहिले झिंगाहरुको बिगबिगी छ, यताबाट पनि छिर्छ, उताबाट पनि छिर्छ ।’ उनले मोटरसाइकललाई झिंगाको संज्ञा दिएका हुन् । ट्राफिक नियमको पालना नगरि गाडी र मोटरसाइकल चलाउँदा सडक असुरक्षा बढेको उनको भनाई थियो ।
कुनै समय थियो, पोखरामा साइकल हुनेको खुबै शान हुन्थ्यो । साइकल चढ्ने ठूलामान्छे गनिन्थे । तर, अहिले समय त्यस्तो छैन । रहर र बाध्यताले दुबैले साइकल चलाउनेहरु पनि पोखराको सडकमा सुरक्षित छैनन् । किनकि, यहाँ साइकल चलाउन छुट्टै लेन छैन । नगरबस, मोटरसाइकल, साना गाडीहरु सबैले साइकललाई हेप्छन् । कतिबेला कहाँ दुर्घटना होला भन्ने पीर !
स्वास्थ्यको लागि साइकल चढ्नु स्वास्थ्यको लागि लाभकर छ । तर, सडक सुरक्षित नहुँदा साइकल चढ्ने जोखिम मोल्न गाह्रो छ । त्यसो भए गर्ने के त ? आइतबार आयोजना भएको एक अन्तरक्रियामा पोखरामा मेयर मानबहादुर जिसीले साइकल लेन बनाउने योजना सुनाए । उनले पोखराको विजयपुरदेखि, कालिका, माझथाना, मोहरिया हुँदै बेगनास ताल झर्ने गरि तथा लेकसाइडको हल्लनचोकबाट भदौरे पञ्चासेसम्म पनि साइकल लेन बनाउनेबारे तयारी भइरहेको बताए । लेक टु लेक अर्थात् तालबाट ताललाई साइकल लेनले जोडिने उनको भनाई थियो । मेयर जिसीले सडक बनाउँदा साइकल लेन बनाउनेबारे पनि सोचिएको उनले बताए ।
पोखरा साइकल सिटी, नेपाल साइकल एसोसिएसन र महानगरबीच आइतबार ‘साइकल संवाद’को साइकल लेनबारे सम्भाव्यता अध्ययनका लागि ३ सदस्यीय समिति गठन गरियो । पोखरा साइकल सिटीका निर्वतमान अध्यक्ष प्रकाश बज्राचार्यको संयोजकत्वमा गठित समितिले अध्ययनपछि महानगरलाई प्रतिवेदन बुझाउने छ । त्यो प्रतिवेदन अनुसारको योजना बनाएर अघि बढिने महानगरका इञ्जिनियर सुरेन्द्र पौडेलले बताए । पोखरामा अहिले १५ प्रतिशतले साइकल चढ्ने गरेको अनुमान छ । स्वास्थ्यको कारण साइलक चढ्ने चाहना बढे पनि असुरक्षाका कारण साइकल चढ्नेहरु घट्दै छन् ।





