बागलुङ, १६ पुस – केही दिनदेखि बागलुङ महोत्सव संचालन भैरहेको छ । महोत्सव भनेको जिल्लाको कृषि, पर्यटन र औद्योगिकीकरणको बजारीकरण गर्ने, कला र संस्कृतिको संरक्षण गर्ने तथा आम नागरिकलाई महोत्सवको अपनत्व लिने अवसर पनि हो । महोत्सवको थालनी गर्दा आयोजक बागलुङ उद्योग बाणिज्य संघले सबै बिद्यालय, संघ संस्था, टोल बिकास समिति, सरकारी तथा गैरसरकारी संस्थाहरु समेतलाई बोलाएको थियो । हुन पनि उद्घाटनको दिन सयौं मानिस उपस्थित भएर महोत्सवको उद्घाटनलाई भब्य बनाए । धेरै संघसंस्था र जातीय संस्थाहरुले आफ्ना भेषभुषा समेत लगाएर गए । साँस्कृतिक झाँकी पनि प्रर्दशन गरे ।
जब मेला सुरु हुँदै गयो त्यसपछि मेलाबारे टिकाटिप्पणीहरु बढीरहेका छन् । मेलामा पास बाँडेको हल्ला बजारमा सतहमा आएको छ । पास बाँड्ने कुरा नौलो पनि होइन । पास चाहिन्छ पनि । साथै आएका पाहुनालाई पासबाटै लैजानुपर्छ । किनकी खेलाडी, स्वयंसेवक, कलाकार, पत्रकार र सुरक्षाकर्मीलाई स्वत प्रवेशको व्यवस्था नभए महोत्सवको औचित्य पनि त्यति हुँदैन । धौलागिरी बहुमुखी क्यामपसमा आयोजना गरिएकोले क्यामपसका बिद्यार्थीहरु स्वत जाने नै भए । त्यतिमात्र होइन क्याम्पसमा बिज्ञान बिषयको पढाई समेत भैरहेको छ । पढ्नकै लागि पनि कतिपय शिक्षक र बिद्यार्थीको अनिवार्यता देखिन्छ । यसरी पासको बिबाद भन्दा आवस्यकता हो भनेपनि हुन्छ । कुरा यतिमा सिमित छैन । महोत्सवमा टिकट काट्नेहरु अधिकांस ग्रामीण बासिन्दा छन् । ‘दिउँसो महोत्सव हेर्ने भन्दै आउनेहरुले खुरुखुरु टिकट काट्छन्, तर दिउँसो कार्यक्रमहरु खासै हुँदैनन्’ तित्याङकी एक दर्शकले भनिन्, ‘बेलुकी भएपछि कलाकार आउने र गीत गाउने चलन रहेछ, त्यतिबेला फर्कनुपर्छ ।’ हुनपनि महोत्सवका लागि आएका राष्ट्रिय कलाकारहरुले बेलुकी ७ बजेपछि मात्र आफ्ना प्रस्तुती देखाउने गरेका छन् । अहिलेसम्म आएका बसन्त थापा, प्रकाश सपुत, रामकृष्ण बम मल्ल लगायतका दर्जनौं कलाकारले बेलुकी भएपछि मात्र गीत गाएका छन् ।
आयोजक उद्योग बाणिज्य संघ यो बिषयमा केही बोलेको छैन । टिकट दर महंगो भयो भन्ने एकातर्फ गुनासो छभने दिउँसोमा बजारबासी नजाने, बेलुकी भएपछि पास लिएकाहरुको ओइरो हुने कारणले महोत्सव महोत्सव जस्तो नभएको टिप्पणी सुरु भएको छ । यो बिषयमा आयोजक उद्योग बाणिज्य संघका पूर्व पदाधिकारी समेत आलोचना गर्न थालेका छन् । उनीहरुले कलाकारको प्रस्तुती दिउँसै गर्न पनि आग्रह गरेका छन् । दिउँसो गर्दा पास भएकादेखि नभएका सम्मले हेर्न पाउने उनीहरुको तर्क छ । उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष उमाकान्त शर्मा बाबुले कलाकारलाई दिउँसै बोलाए पनि रात परेपछि मात्र गाउने गरेको बताए । उनले कलाकारहरुले दिउँसै गाउँछन् भन्ने सन्देश दिन सक्दा धेरै दर्शक आउने र त्यो प्रभावकारी हुने तर्क राख्छन् । पुरानो चलन र कलाकारहरुको चाहनाले यस्ता क्रियाकलाप बेलुकी हुने गरेको समेत उनले बताए । संघका प्रेस सल्लाहकार राजेशचन्द्र राजभण्डारीको भने फकर तर्क छ । न्युनतम मूल्यको टिकट वा फ्रि बनाएर महोत्सवमा दर्शकलाई लैजान सकेमा फाइदा हुने उनले बताए । ‘बरु स्टलको मूल्य बढाउने, दर्शकलाई निशुल्क पठाउनु पर्छ’ राजभण्डारीले भने, ‘त्यस्तो गर्दा स्टलको व्यापार बढ्छ, महोत्सवको उद्धेश्य पनि पुरा हुन्छ ।’ टिकट र पास छपाई, काउन्टर र गेटमा खटाउनेलाई दिने खर्च पनि उत्तिकै बढी भएको उनले बताए ।
कर छलीको टिप्पणी
कलाकारहरुलाई बोलाउँदा राजश्वमा समस्या भएको समेत टिप्पणी हुने गरेको छ । पछिल्लो समय मञ्चमा उभिएर दुईचार वटा चलेका गीत गाउँदा कलाकारले ४० हजार देखि ८० हजार रुपैयाँसम्म माग गर्न थालेका छन् । आयोजकहरुले पनि उक्त रकम दिने शर्तमा कलाकार बोलाएका छन् । तर उनीहरुले नगदमा रकम बुझेर हिड्दा राजश्व छली भएको छ । ‘यो बिषय गम्भिर हो, म कोषाध्यक्ष हुँदा नाफाको कर तिरेको थिएँ’ बागलुङ उद्योग बाणिज्य संघका पूर्व कोषाध्यक्ष बिदेशकुमार श्रेष्ठले भने, ‘अहिले पनि मैले कुरा राखेको हो, तर त्यस्तो हुन सकेन ।’ कर तिर्दा कलाकारको गरिमा पनि बढ्ने उनले बताए । टिप्पणी आएपछि कलाकारको खाता नम्बर मागेर पैसा जम्मा गर्ने तयारी गरेको उमाकान्त शर्माले बताए । नेपालको कानूनले आम्दानीको १५ प्रतिशत कर लाग्ने व्यवस्था गरेको छ । तलब जस्तो नियमित आम्दानीको हकमा पाना नम्बर लिएर १ प्रतिशत कर तिर्नुपर्छ भने अन्य भत्ता आम्दानीमा १५ प्रतिशत कर तिर्नुपर्ने प्रावधान छ ।





