बागलुङ, १७ पुस – फोहोरलाई मोहोर बनाउने गलकोट नगरपालिकाको योजना अहिले सम्म सफल हुन सकेको छैन । बरु जग्गा नपाएर नगरपालिकाले अहिले सम्म अस्थायी रुपमा समेत फोहोर व्यवस्थापन गर्न सकेको छैन । दुइ बर्ष अघिदेखि फोहोर प्रशोधनको केन्द्र समेत बनाएर कमाईको आधार समेत बनाउने भनेपनि जग्गा नभेटिएर रोकिएको बताइएको छ । ‘आवस्यक जग्गा भेटिएकै छैन, बस्ती र खोलामा फाल्न मिलेन, अन्यत्र जग्गाको समस्याले काम गर्न सकिएन’ नगरप्रमुख भरत शर्मा गैरेले भने, ‘अझै पनि जग्गाको खोजी भैरहेको छ ।’ नगर प्रमुखमा निर्वाचित भएपछि गैरेले फोहोर प्रशोधन केन्द्र बनाएर नगर सफाई गर्ने बताएका थिए । यो अभियानले स्थानीय युवाहरुले रोजगार पाउने समेत उनको भनाइ थियो । नगरपालिका भैसकेपछि दैनिक उठ्ने फोहोरको उचित व्यवस्थापन गर्नुपर्ने बाध्यात्मक अबस्था छ । नगरभित्र जथाभावी फोहोर फाल्न नमिल्ने भएपनि अझै उचित व्यवस्थापनको काम हुन नसकेको हो । अहिले दरमखोला र गौदीखोलाको छेउछाउमा पनि फोहोरको डंगुर देख्न थालिएको स्थानीयले बताए । ‘फोहोरले खोलाको पानीपनि प्रदुषण भैहरेको छ’ हटियाका एक व्यवसायीले भने, ‘नगरपालिकाले उचित व्यवस्थापनको काम गरेको छैन, कतिपयले लापरवाही गरेर खोलामा फाल्छन् ।’ नगरपालिकाले चालु बर्ष नगरपालिका भवन निर्माणका लागि रकम बिनियोजन गरेको छ । यो बर्ष नगरपालिकाको जग्गा व्यवस्थापन र भवन निर्माणमा भने काम हुने बताइएको छ ।
नगरपालिकाले डम्पिङ बनाउने मात्र नभई कम्पोष्ट मल बनाउने तरिका देखाउने योजना बनाएर पनि संचालन गर्न नसकेको हो । गैरेका अनुसार प्लाष्टिक जन्य फोहोर प्रशोधन गरेर पुन प्रयोगका सामाग्री बनाउने र कुहिने फोहोरलाई कम्पोष्ट मल बनाउने भन्ने लक्ष छ । सिसाजन्य बस्तुहरुलाई भने छुट्टै व्यवस्थापनको काम गर्ने योजना भएपनि जग्गा अभाव र दक्ष प्राविधिक समेत अभाव भएको हो । ‘केही गरौ भन्ने चाहना भएपनि जग्गा अभावले समस्या भयो’ उनले भने, ‘सार्वजनिक जमिन पाईएन, भएको स्थानमा पनि समुदायबाट सहयोग पाउन सकेको छैन ।’ फोहोर बिर्सजनको काम भएकोले हतपत कसैलेपनि जग्गा दिन नमानेको उनले बताए । गलकोट नगरपालिकाकै वडा नं. ५ ले भने छुट्टै जग्गा खोजेर फोहोर व्यवस्थापनको तयारी गर्ने वडा अध्यक्ष नारायणध्वज मल्लले बताए । ‘साझा डम्पिङ साइट निर्माण भएमा पनि राम्रो भयो, नभएपनि स्थानीय रुपमा फोहोर व्यवस्थापनमा जग्गा खोजीरहेका छौं’ मल्लले भने, ‘कम्पोष्ट मल बनाउने र वडा पूर्ण सफाईको नमूना बनाउन लागिएको छ ।’ चौथो नगरसभाले पारित गरेको बिधेयकले फोहोर व्यवस्थापनका लागि नीजि तथा सहकारी क्षेत्रलाई समेत दिन सकिने प्रावधान राखेपनि अहिले सम्म कोही खोजी गर्न नआउँदा धेरै काम गरेर पनि कार्यपालिकालाई फोहोर मात्रै टाउको दुखाई भएको वडा नं. ३ का अध्यक्ष बीरजंग भण्डारीले बताए ।
‘मुख्य बजार यही छ, गाडिका ग्यारेज, अन्य सार्वजनिक स्थान समे धेरै भएपछि दैनिक फोहोर धेरै संकलन हुन्छ, तर व्यवस्थापनमा कठिन छ’ भण्डारीले भने ‘अरु कामलाई सकेसम्म समयमै सकिरहेका छौं, तर फोहोरमा केही समस्या छ ।’ उद्योग गाउँ बनाउने चाहना पनि जग्गा अभावमै रोकिएको उनले बताए । हरेक स्थानीय तहको एकएक उद्योग गाउँ बनाउने भनेपनि अहिले सम्म गलकोटले पनि जग्गा खोजी गर्न सकेको छैन । नगरपालिकाले एक बर्ष अघिदेखि स्थानीय गौंदीखोला र दरमखोला सफाई अभियान थालिसकेको थियो । ट्रयाक्टर खरिद गरेर फोहोर संकलनको काम भने गरिरहेको छ । नगरपालिकाले मुसुरोबारी भन्ने स्थानमा भने केही जग्गा खरिद गरिसकेको छ । उक्त जग्गा अपुग भएकोले थप्न खोज्दा नपाएर काम रोकिएको गैह्रेले बताए ।





