बागलुङ, १७ पुस – जिल्लाको काठेखोला गाउँपालिकाले लोपोन्मुख सोरठीको संरक्षणका लागि पालिका स्तरीय सोरठी नाँच प्रतियोगिता आयोजना गर्ने भएको छ । गाउँपालिका भित्र रहेका सोरठीहरुको संरक्षण र नयाँ पुस्तामा हस्तान्त्रण गर्ने भन्दै गाउँपालिकाको कला संकृति तथा खेलकुद समितिको संयोजनमा प्रतियोगिताको आयोजना गरेको हो । आगामी माघ १५ देखि गाउँपालिकाले प्रथम अध्यक्षकप भलिवल प्रतियोगिता आयोजना गरेको छ । उक्त प्रतियोगिता सँगै सोरठी नाँच प्रतियोगिता, काठेखोला लोक तारा–२०७६,काठेखोला गजल तारा–२०७६ र विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने भएको हो । ‘हाम्रो पालिकामा सदियौं देखिको सोरठी नाँच लोप हुने अवस्थामा छ, हामीले संरक्षणको पहल थालेका छौं’ गाउँ कार्यपालिका सदस्य टिका संगम बिकले भने ‘अव सोरठी प्रतियोगितानै नगर्नेहो भने नयाँ पुस्ताले नसिक्ने भए ।’ प्राबिधिक र सोरठीको सारका हिसावले प्रतियोगिता आयोजना र सञ्चालन कठिन बिषय भएपनि सिमीत समयमा सन्देशमुलक प्रस्तुती दिनेगरी प्रतियोगिता गरिएको बिकले बताए ।
पालिका स्तरमा रहेका खेलाडी, कलाकार, गजलकार र बिद्यार्थीहरुको क्षमता बिकास गर्दै सबै क्षेत्रमा सक्षम जनशक्ती उत्पादनकालागि प्रतियोगिताहरु आयोजना गरिएको गाउँपालिका अध्यक्ष अमर थापाले बताए । पर्यटकीय गाउँ धम्जामा सञ्चालन हुने प्रतियोगिताहरुको बिषयमा गाउँपालिकाले बुधबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो । गाउँपालिकाको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा थापाले प्रथम अध्यक्ष कपको लोगो सार्वजनिक गरेका थिए । ‘खेलकुद, कला साहित्य र संगीतको माध्यामबाट सभ्य संस्कृति युक्त शिक्षित, सक्षम, समुन्नत बिकसित र आत्मनिरभर गाउँपालिका निर्माण गर्ने हाम्रो अभियान हो’ अध्यक्ष थापाले भने खेलकुद एवं कला साहित्यको माध्यामबाट काठेखोलाको पहिचान स्थापित गराउने योजनामा छौं ।’ प्रतियोगितामा गाउँपालिका भित्रका खेलाडी कलाकार र बिद्यार्थी मात्रै सहभागि हुन पाउने व्यवस्था गरिएको थापाले बताए ।
लोक तारा र गजल प्रतियोगितामा पहिलो चरणका प्रतिस्पर्धा तत्कालै सुरु हुने गाउँपालिकाले जनाएको छ । अन्तिम प्रतिस्पर्धामा पुगेका प्रतियोगिहरुलाई मात्रै माघ १५ देखि १८ सम्म धम्जा देउरालीमा हुने कार्यक्रममा प्रतिस्पर्धा गराईने छ । प्रतियोगिता अन्तरगत भलिबल प्रतियोगिताको विजेताले १ लाख ३२ रुपैयाँ प्राप्त गर्ने जनाइएको छ । उप बिजेताले ८० हजार रुपैयाँ प्राप्त गर्नेछन् । काठेखोला लोकतारा हुनेले ३० हजार, गजल तारा हुनेले १० हजार, सोरठी जित्नेले ३० हजार र वक्तृत्वकला जित्नेले १० हजार रुपैयाँ पाउनेछन् । प्र
तियोगिताहरुमा उपबिजेता, तेस्रो र सन्त्वनाहुनेहरुलाई समेत आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्नका लागि गाउँपालिका अध्यक्षको अध्यक्षतामा तीन सय एक सदस्य रहेको मूल आयोजक समिति बनाईएको छ । त्यस्तै बिभिन्न प्रतियोगीता सञ्चालन तथा कार्यक्रम व्यवस्थापनकोलागि विभिन्न उपसमिति गठन गरेको छ । समितिले भलिबल संयोजकमा बाबुराम भण्डारी, सोरठी संयोजकमा प्रेम श्रीस, लोक तारा संयोजकमा विक्रम शर्मा, गजल तारा संयोजकमा सुकमाया पुन, स्वयंमसेवक संयोजकमा निर्मल थापा र मञ्च व्यवस्थापन संयोजकमा सुर्य भण्डारी लाई चयन गरेको छ ।
अतिथी सत्कार संयोजकमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिम बहादुर बिक र सुर्य भण्डारीको संयोजकत्वमा १ सय २१ सदस्य प्रचारप्रसार समिति गठन गरिएको छ । पत्रकार सम्मेलनमा गाउँपालिका अध्यक्ष थापाले गाउँपालिका अध्यक्ष कप लगायतका प्रतियोगिताको पहिलो संस्करण धम्जाबाट सुरु भएको भएपनि आफ्नो कार्यकाल भित्रै अरु वडाहरुमा पनि प्रतियोगिताहरु सञ्चालन गर्ने बताए। प्रतियोगिताका लागि १३ लाख रुपैयाँ छ।





