आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

सुन्तला, आलु र दूध उत्पादनमा काठेखोलाको जोड

सुन्तला, आलु र दूध उत्पादनमा काठेखोलाको जोड


  • ढोरपाटन संबाददाता
  • पुष १८ २०७६, शुक्रबार

बागलुङ, १८ पुस – काठेखोला गाउँपालिकाले उच्च पहाडी बस्तीमा सबै किसानलाई आलु उत्पादनमा लाग्न आग्रह गरेको छ । यो क्षेत्र आलुको पकेट क्षेत्र पनि हो । आलु उत्पादनलाई सहजै बजारमा पहुँच बढाउने, तत्काल बिक्री गर्न नसक्ने स्थानको भण्डारन गर्ने गरी गाउँपालिकाले लगानी पनि गरेको छ । कृषि फसलका संभवना भएका स्थान समावेश गरेर पकेट क्षेत्र बनिसकेको छ भने जोनमा पनि समावेश गर्ने योजना रहेको अध्यक्ष अमर थापाले बताए ।
काठेखोलाका हरेक वडाका उच्च क्षेत्रमा आलुको व्यवसायिक उत्पादन भैरहेको छ । तर घरघरै उत्पादन बढाउन पनि पहल गरिएको हो । वडा नं. ८ को कादेश, वडा नं. ७ को रेश र वडा नं. ३ को धम्जामा अहिले पनि प्रसस्त आलु फल्छ । गाउँपालिकाले बीउ, प्रविधि र औजारमा समेत सहयोग बढाएको थापाले बताए । हरेक वडा प्रतिवर्ष ५ जनाका दरले युवालाई कृषि उद्यमको तालिम दिएर व्यवसायमा लगाउने काम थाल्ने उनको योजना छ ।
कृषि पेशा गरिरहेकै युवालाई प्राविधिक तालिम समेत दिंदा रोग किरा लाग्दा उपचार पनि आँफै गर्ने अबस्था आउने उनले बताए । हरेक वडामा २० जनाको दरले व्यवसायिक किसान र प्राविधिक समेत उत्पादन हुँदा दिगो रुपमा कृषिको बिकास हुने गाउँपालिका योजना छ । काम गरिरहेका किसानलाई हौसला दिंदा उत्पादन पनि बढ्ने, लगानी कम हुने भएपछि यो कार्यक्रममा सबैले साथ पनि दिएका छन् । काठेखोलाको धम्जामा दुइवटा आलु भण्डारन केन्द्र बनेका छन् । एउटा भण्डारन बनेर राख्न थालिएको छ भने अर्को निर्माणाधिन छ ।
बागलुङको ढोरपाटन र ताराखोलामा पनि प्रसस्त आलु फल्छ । ती स्थानमा पनि आवस्यक भण्डार स्थल बनाउने अभियानका लागि पहल शुरु भएको छ । ताराखोला गाउँपालिकाले आलु उत्पादन मात्र नभई परिकार बनाउने उद्यमी बनाउन लगानी शुरु गरेको अध्यक्ष प्रकाश घर्तीले बताए । ‘हामीले घरघरमै उद्यमी बनाउने लक्ष राखेका छौं’ घर्तीले भने, ‘त्यसका लागि टोलटोलमा तालिम दिएर उत्पादनकै लागि लगानी गरिरहेका छौं ।’ धम्जाका केही किसान, ताराखोलाका केही किसान र ढोरपाटनका अधिकांस किसानले आलु फलाएर बर्षेनी लाखौं रुपैयाँ कमाई रहेका छन् । योजना अनुसार उत्पादन बढाएर काठेखोलामा पनि करोड कमाइ गर्ने बनाउने लक्ष राखेको थापाको भनाई छ ।
काठेखोलाले आलु बाहेक सुन्तलामा लगानी बढाएको छ । अघिल्लो बर्षको तुलनामा चालु बर्ष असिना र अन्य प्राविधिक कारणले उत्पादन कम भएको वडा नं. ६ का अध्यक्ष युक्तप्रसाद कंडेलले बताए । तर उत्पादन बढाउन बिरुवा रोप्ने काम भैरहेकोले दोब्बर बढी फलाउने लक्ष केही बर्षमा पुरा हुने समेत कंडेलले जानकारी दिए । प्रदेश सरकार र गाउँपालिकाको लगानीमा काठेखोलामै जिल्लाको सबैभन्दा ठूलो कृषि फसल भण्डार बनाउने समेत योजना छ । त्यसका लागि प्रदेश सरकारले १ करोड बजेट बिनियोजन गर्ने आश्वासन दिएकोले स्थानीय तहबाट पनि लगानीको तयारी गरिएको उनले बताए । उक्त भण्डारन बनेमा यहाँका सुन्तला, अदुवा, अलैंची लगायतका फसललाई आवस्यकता अनुसार बजारमा पठाउन सकिन्छ । काठेखोलामै दूध उत्पादनमा पनि किसानहरु संगठित छन् । पशु बिकास श्रोत फर्म मार्फत यहाँका किसानले हरेक दिन १ हजार लिटर दूध बागलुङ बजारमा पठाउने गरेका छन् । उक्त फर्मका लागि पनि गाउँपालिकाले लगानी थपेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->