बागलुङ, १८ पुस – बागलुङमा सम्पत्ति शुद्धिकरण निवारण अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला बचत तथा ऋण सहकारी संघ बागलुङले आफ्नो आठौं वार्षिक साधारण सभाका पूर्व सन्ध्यामा नेफ्स्कूनको प्राविधिक सहयोगमा संघले यो कार्यक्रम आयोजना गरेको हो । कार्यक्रमको उद्घाटन सत्रमा संघका अध्यक्ष एवं नेफ्स्कूनका सञ्चालक चण्डिप्रसाद शर्मा पौडेलले सम्पत्ती शुद्धिकरण ऐनमा रहेका विषयहरु जटिल रहेकाले सबै सहकारी संस्थाहरुले यस विषयमा जान्नै पर्ने बताए । सहकारी संस्थाहरु जानी नजानी कानुनको दायरामा जानुपर्ने बाध्यात आउन सक्ने भएकाले सम्पत्ती शुद्धीकरणको विषयमा जानकार रहनु अत्यावश्यक रहेको उनको भनाई थियो । पछिल्लो समयमा कालो धनलाई शुद्ध पार्न सहकारी संस्थाहरु प्रयोग भइरहेको भनी व्यापक हल्ला भएको भन्दै पौडेलले केही सहकारी संस्थाहरुलाई देखाएर सहकारी अभियानलाई नै दोष दिने कार्य गलत भएको बताए ।
संघका अध्यक्ष पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेफ्स्कूनका सदस्य सेवा विभाग प्रमुख दुर्गा ढकालले कार्यक्रमको उद्देश्य माथी प्रकाश पारेका थिए भने कार्यक्रम अधिकृत पवन मल्लले स्वागत र संघका सचिव ऋषीराम गौतमले सञ्चालन गरेका थिए ।





