आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

मध्यपहाडी लोकमार्गको बागलुङ–घोडाबाँधे खण्डमा पुनः काम शुरु

मध्यपहाडी लोकमार्गको बागलुङ–घोडाबाँधे खण्डमा पुनः काम शुरु


  • Dhorpatan News
  • पुष २० २०७६, आइतबार

बागलुङ,२० पुस – राष्ट्रिय गौरवको आयोजना मध्येको एक पुष्पलाल मध्यपहाडी लोकमार्गको अलपत्र बागलुङ–घोडाबाँधे खण्डमा पुनः काम शुरु भएको छ ।जिल्लाबासी नागरिकको चर्को दबाब, सांसद तथा जनप्रतिनिधिको बिशेष पहलपछि लोकमार्गको कामले धेरै महिना पछि गति लिन थालेको छ ।
ठेकेदार कम्पनीको लापरवाहिका कारण असार भित्र कालोपत्रे गर्ने भनिएको लोकमार्गमा तीन महिनादेखि काम ठप्प भएको थियो । बागलुङ बजारको उपल्लाचौरदेखि बिहुँको घोडाबाधे सम्मको २५ किलोमिटर सडकको दुई खण्ड बनाएर निर्माण जिम्मा दिएपनि दुवै खण्डको काम अलपत्र बनेको थियो ।
दुर्गम गाउँहरुको अधिकांश भाग कालोपत्र भइसक्दा समेत बजार आसपासकै खण्डमा कालोपत्र हुन नसक्दा यात्रु तथा त्यस आसपासका स्थानीयले निकै सास्ती खेप्नु परेको छ ।
ट्रयाक खुलेको २० वर्ष वितिसक्दा पनि सडक कालोपत्रे नहुनु चरम लापरवाही भएको भन्दै नागरिक अगुवाहरुले सामाजिक सञ्जाल मार्फत ठेकेदार हराएको प्रतिकात्मक तस्विर सहित दबाव अभियान चलाएका थिए ।
सरकारले ठूला तथा राष्ट्रिय गौरवका आयोजनाको लोकमार्गका निर्माण कम्पनीलाई २०७६ जेठ २३ गते सम्म काम नसके कालो सूचीमा राख्ने नयाँ व्यवस्था गरे पछि ठेकेदार कम्पनी फिल्डमा आउन थालेका हुन् ।
काम छिटो सक्न बागलुङ नगरपालिका–४ ओढारचौरमा बैकल्पिक क्रसर राख्ने भनिएपनि स्थानीयबासीको अवरोध पछि अर्को स्थानमा राख्न लागिएको छ । ओढारचौरबाट कच्चा पदार्थ निकालेर बानपा–३ खहरे नजिकै क्रसर राख्न लागिएको र बिहुँ खण्डमा पनि बैकल्पिक क्रसर स्थापना गर्न लागिएको निर्माण कम्पनीले बताएका छन् ।
बागलुङदेखि घोडाबाँधे सम्मको दुई खण्डमानै अहिले नाली निर्माण गर्ने, पर्खाल लगाउने, कल्भर्ट निर्माण गर्ने जस्ता काम शुरु भइरहेको मध्यपहाडी लोकमार्ग आयोजनाका प्रमुख आशिष थापाले जानकारी दिए । थापाका अनुसार, बिहुँ खण्डको १३ किलोमिटर सडक निर्माणको जिम्मा पाएको सुर्य कन्ट्रक्सनले काम अगाडि बढाएका कारण म्याद थप गर्नका लागि प्रक्रिया अगाडी बढाइएको छ ।
यस्तै उपल्लाचौर देखि बिहुँ सम्मको १२ किलोमिटर सडक जिम्मा पाएको सिद्धिसाई कन्ट्रक्सनको यही माघमा म्याद सकिदैछ । कामले गति लिए निर्माण कम्पनीको म्याद थपिने तर काम सुस्त भए कारवाही गर्ने आयोजना प्रमुख थापाले बताए ।
मध्यपहाडी लोकमार्ग निर्माणमा ठेकेदार कम्पनीको ढिलासुस्ती, निर्माण सामग्रीको अभाव, मुआब्जा विवाद लगायतका कारण कालोपत्रेमा ढिलाई हुँदै आएको छ ।
लोकमार्गको कुल १ हजार ७ सय ७६ किलोमिटर मध्ये बागलुङ खण्डमा मात्रै १ सय ४२ किलोमिटर पर्छ । जसमध्ये बागलुङ घोडाबाँधे २५ किमि र निसीखोला खण्डमा २५ किमि सडकमात्र कालोपत्रे गर्न बाँकी छ । निसीखोलाको दुई खण्डमा असार मसान्त सम्म कालोपत्रे हुने गरी काम अगाडि बढेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->