बागलुङ,२० पुस – बागलुङको जैमिनी नगरपालिका–३ गाजाको धुरीमा रहेको नेपाल टेलिकमको रिपिटर टावर सञ्चालनमा नआउँदा जिल्लाकै ताराखोलाका स्थानीय पाँचदिन देखि सञ्चार सेवा बिहिन भएका छन् । गाजाको धुरीमा रहेको रिपिटर टावरमा विद्युत आपुर्ति बन्द हुँदा सञ्चार सेवा अवरुद्ध भएको हो ।
केही दिन पहिला भएको हिमपातका कारण विद्युत आपूर्ति बन्द भएको र टावरमा जडान गरिएको सौर्य उर्जामा समेत समस्या देखिए पछि सञ्चार सेवा अवरुद्ध भएको हो । नेपाल टेलिकम बागलुङका सुपरभाईजर केशव सापकोटाका अनुसार टावरमा जडान गरिएको सौर्य उर्जाको प्यानलमा अज्ञात व्यक्तिहरुले ढुंगा प्रहर गरेर फुटेको छ । ‘ढुंगाले लागेको सोलार प्यानलले राम्रो सँग काम गरिरहेको छैन’ सापकोाले भने ‘केही दिन यता बर्षा र बदलीका कारण कमजोर बनेको सूर्यको प्रकाशले मात्रै फुटेको प्यानलले व्यट्रि चार्ज गर्न सकिरहेको छैन ।’
पर्वतको दुलुंङमा रहेको टावरबाट गाजाको दहमा रिपिटर राखेर ताराखोलाको तार र अर्गलका टेलिफोन टावरहरु सञ्चालनमा थिए । गत मंगलबारदेखि टेलिकमको टावर आंशिक रुपमा जाने आउने गरे पनि बिहिबार साँझ देखिदेखि पूर्ण रुपमा बन्द भएको ताराखोलाका स्थानीय ओम खड्काले जानकारी दिए । ताराखोला गाउँपालिकामा पर्ने साविकको हिल र तारा गाउँविकास समितिका झण्डै ४ हजार मोवाईल प्रयोग कर्ता सम्पर्क बिहिन छन् । निजी क्षेत्रको सञ्चालनमा रहेको एनसेलको नेटवर्क फ्याट्ट फुट्ट चलेको भएपनि राम्रो सँग कुराकानी गर्न कठिन भैरहेको स्थानीयले बताए । टेलिकम बागलुङका प्रमुख केशव शर्माका अनुसार मौसममा सुधारपछि गाजाको धुरीमा रहेको टावरमा ब्याट्री चार्ज भए पश्चात सेवा सुचारु हुनेछ । प्यानल फुटेको सोलार परिवर्तनको तयारी समेत टेलिकमले थालेको छ ।





