बागलुङ, २१ पुस – सदरमुकामको बागलुङ नगरपालिकाले बिशेष क्षेत्रको रुपमा सूचिकृत गरेको रायडाँडा देखि जैमिनीको दमेक जाने सडक जोडिएको छ । २०५६ सालदेखि सडक निर्माणको काम थालिएपनि दुइदशक बढी समयपछि मात्र रायडाँडाको सिम्ले र ओख्ले बासीले सडकको पहुँच पाएका छन् । उनीहरुले अब सदरमुकाम आउने वा कुश्मीसेरा जाने दुवै सडकको बिकल्प भेटेका हुन् । तित्याङ, भकुण्डे हुँदै रायडाँडा जाने सडकको ट्रयाक खुलेर २०५९ सालमा रायडाँडामा सडक पुगेपनि ग्रामीण बस्तीका बासिन्दाले सधै सास्ती खेपेका थिए । अहिले यो सडकमा जिप चल्ने अबस्था बनेको हो । तत्कालिन रायडाँडा गाबिस अहिले बागलुङ नरपालिकाको वडा नं. ११ हो । एउटै वडाको दुर्गम बस्तीमा २० बर्षपछि मात्र सडक संजालले जोडिएको छ । गत बर्ष रायडाँडाको रामतोाला सडकले जोडिएको थियो ।
ओखले तर्फ झण्डै ३० लाख रुपैयाँ र रामतोला तर्फ झण्डै ५० लाख खर्चेपछि सडकले जोडिएको हो । यी दुइ सडकले वडा कार्यालय जोडेपछि घुमाउरो बाटो हिड्नुपर्ने स्थानीयले सहज सेवा पाउन थालेका छन् । लामो समय रोकिएको काम स्थानीय तहको गठनपछि मात्र अगाडि बढेको हो । जनप्रतिनिधि आएपछिको दुइबर्ष लगातार बजेट परेपछि यहाँको कामले गति लिएको थियो । अहिले सडक संजाल जोडिएकोले स्थानीयले सहज सेवा पाउन सक्ने भएको वडा अध्यक्ष ज्ञानेन्द्र गौतमले बताए । यस अघि ती स्थानका बालबालिकाहरु बिद्यालय आउन समेत समस्या थियो । चुनावमा भोट हाल्न आउँदा सिमलेका बुढापाकालाई बोकाएर ल्याउनु पथ्र्यो । बोकिएरै आउँदा पनि रामतोलाबासीले भकुण्डे हुँदै ुमाउरो बाटो हिड्नु पथ्र्यो । अब भने त्यस्तो समस्या नपर्ने गौतमले बताए । वडा कार्यालयमा काम लिएर आउनेहरुले पनि यो समस्या भोग्नु नपर्ने भएको छ । चालु बर्षको बजेटले जैमिनी नगरपालिका र बागलुङ सदरमुकाम आउने सबै मार्ग खुलेको उनले बताए । आगामी बर्षको बजेटलाई स्तरउन्नतीमा खर्चने गरी योजना बनाउने उनले तयारी थालेका छन् ।
सदरमुकाम देखि सिमले ३०किमी पर पर्छ । सदरमुकामकै नगरपालिकाको वडा भएपनि यहाँका मानिसले सदरमुकाम झर्दा सास्ती खेप्थे । काम सकेर घर पुग्न नसक्ने भएपछि बास बस्नुपर्ने बाध्यता थियो । ‘अब जिप चढेर सदरमुकाम पुग्न पाइने भयो, घरमा फलेको सागपात पनि बेच्न सकियो’ स्थानीय ७० बर्षकी हरिकला थापाले भनिन्, ‘बर्षौ दुःख पाईयो, मर्नेबेला गाउँमा बिकास आएको देख्न पाएँ ।’ वडा भित्रको झण्डै १० किमी सडक गत वर्षदेखि चालु बर्ष भित्र ट्रयाक खुलेको हो । यो सडकले जैमिनी नगरपालिका वडा नं. १, २ र ३ का बिभिन्न स्थान पनि जोड्छ । ‘अब यो सडक खुलेपछि जैमिनीको बाटो हुँदै कालीगण्डकी करिडोरमा पनि सहजै पुग्न सकिन्छ’ स्थानीय समर थापाले भने, ‘दुर्गम बस्तीमा पनि बिकास भित्रने मौका पाएको छ, त्यसका लागि वडा अध्यक्ष र पूर्व गाबिस अध्यक्ष धन्यवादका पात्र छन् ।’ थापाले सामाजिक संजालमा समेत सडक खुलाएकोमा नेतृत्वलाई धन्यवाद दिएका छन् । चालु बर्ष भित्रै आप्mे बस्तीमा पनि सडक जोड्नका लागि काम भैरहेको छ ।
उपभोक्ता समितिले पनि निरन्तर खटेर काम गर्दा समयमै सडकको ट्रयाक खुलेको हो । नगरभित्रकै कतिपय योजना सम्झौता समेत नहुँदै उनीहरुले सडकको काम भ्याएका हुन् । ‘काम भनेपछि रात दिन निर्दै परेन, त्यसैले फत्ते गरेर छाडियो’ उपभोक्ता समितिका सचिव इन्द थापाले भने, ‘दुःख भएपनि गाउँमा मोटर पुग्यो त्यसैले धेरै खुसी लागेको छ ।’ पहिलो पटक जिप चढेर सडक उद्घाटन गर्न गएका जनप्रतिनिधि र पार्टीका अगुवालाई स्थानीयले फूलमाला लगाएर स्वागत गरेका थिए । उनीहरुले पहिलो पटक पुगेको डोजर र जिपलाई पनि माला लगाइदिएका छन् । सामाजिक सुरक्षा सहितका काममा वडा कार्यालय आउँदा बोकिएर आउनु परेको दुःख अब बिर्सन पाइने स्थानीय बागलुङ नगरपालिकाले रायडाँडाको भौगोलिक कठिनाईको बिष्लेषण गरेर बिशेष क्षेत्रको रुपमा सूचिकृत गरेको छ । बिशेष क्षेत्र भएकोले यहाँ पूर्वाधार निर्माण र श्रोत साधन बाँडफाँडमा पनि प्राथमिकता दिएको नगर प्रमुख जनकराज पौडेलले बताए । ‘दुर्गमपनि छ, त्यसैले स्वास्थ शिविर, सडक संजाल सहित वडा कार्यालय निर्माण जस्ता काममा बजेटको व्यवस्थापन गरेका छौं’ पौडेलले भने, ‘वडा कार्यालय समेत नभएकोले बनाउने तयारीपनि छ ।’ कठिन भूगोल भएपनि संभावना बढी भएकोले लगानीको अवसर पनि खोजेको उनले बताए । पहरा र भीर मात्र भएकोले रायडाँडामा सडक लैजान समेत जोखिम थियो । काम गर्दा गर्दै रकम अभाव भएपछि नगरप्रमुख र उपप्रमुखले अनुगमन गरेपछि केही रकम थप गरेका थिए ।
रायडाँडामै फलाम र तामा खानी भएको अनुमान छ । उक्त खानीहरु संचालनका लागि समेत सहज यातायातको पहुँच चाहिने भएपछि लगानी गरिएको पौडेलले बताए । चीनिया कंपनीहरुले यहाँको खानीको अध्ययन गरेर उत्खनन् गर्न सकिने बताएका छन् । ‘टोलीले अनुसन्धान गरिसकेकोले अब उत्खनन्को काम समेत छिटै सुरु हुन सक्छ’ नगरपालिकाका योजना अधिकृत युक्तप्रसाद सुवेदीले भने, ‘खानी उत्खनन् गर्न सकियो भने बिकास र रोजगारीका धेरै अबसर खुल्नेछन् ।’





