२०११ सालमा स्थापित पोखरा उद्योग बाणिज्य संघ, समग्र पोखराको आर्थिक र सामाजिक विकासको साक्षी हो । पोखराको रुपान्तरणको लागि संघले वर्गीय दायरा बिर्सिएर सामाजिक संस्थाको भूमिका निर्वाह ग¥यो । कारण— यही काफी छ, संघ पोखराको जेठो सामाजिक संस्था मात्र बनेन, विकास निर्माणको मुख्य साझेदार पनि बन्न पुग्यो । सरकारी संयन्त्रहरु सवल नभएका बेला संघले यहाँको शिक्षा, पूर्वाधार निर्माण लगायतका क्षेत्रमा गरेका योगदानले पोखरा अहिलेको अन्तर्राष्ट्रिय सहर बन्न सकेको हो । संघ पछिल्ला दिनहरुमा पनि व्यावसायिक उत्थान र पोखरा निर्माणको लागि निरन्तर क्रियाशिल रहेको छ । यही क्रियाशिलताको बीचमा संघले वर्षेनी पोखरामा राष्ट्रिय औद्योगिक ब्यापार मेला आयोजना गर्दै आएको छ । पुस १८ गतेदेखि सुरु भएको मेला अहिले पनि जारी छ । ‘लगानीको सम्वद्र्धनः उद्योग ब्यवसायको प्रवद्र्धन’ भन्ने नारासहित आयोजित मेलाको सेरोफेरोमा रहेर संघका वरिष्ठ उपाध्यक्ष नारायण कोइरालासँग गरिएको कुराकानीको सम्पादित अंश ।
पोखरामा वर्षेनी आयोजना हुने मेला बढी औपचारिक भयो भन्न्ने गुनासो छ नि !
एक हदसम्म यो प्रश्न स्वभाविक पनि लाग्छ । मेला के का लागि भन्ने नयाँ बहस थालनी हुनुपर्छ भन्ने हाम्रो पनि मान्यता छ । पोखरा उद्योग वाणिज्य संघको मेलासँग एउटा विरासत जोडिएको छ । संगठित रुपले गरिने मेला र महोत्सव आर्थिक उत्थान र तरलता वृद्धिको लागि सहायक हुन्छन् भन्ने मान्यता बोकेर नेपालमै पहिलो पटक २०४१ सालमा हामीले मेला आयोजना गरेका हौँ । समय कस्तो प¥यो भने, त्यसपछि देश सशस्त्र द्धन्द्धको चपेटामा प¥यो । ५० जना मानिस एकै ठाउँमा भेला हुन नसक्ने अवस्था आयो । त्यो बेला पनि हामीले मेला आयोजना गर्ने हिम्मत ग¥यौँ । तत्कालीन अवस्थामा गरिएका मेलाले बम र बारुदको गन्धबाट आजित र त्रस्त्र नागरिकलाई जीवनप्रतिको मोह मात्र जनाएन, आर्थिक गतिविधी चलायमान बनाउन पनि मद्धत ग¥यो । अहिले समय बदलिएको छ । जहाँ र जहिले पनि मेला र महोत्सवहरु आयोजना हुन थालेका छन् । यसो भनिरहँदा, हामीले आयोजना गरेको मेलालाई पनि अन्य मेलालाई हेर्ने आँखाले हेरिनु अस्वभाविक हैन । तर, हामीले चाहिँ हिजोलाई नबिर्सी नयाँ केही गरौँ भनेर मेला आयोजना गरेका हौँ । उद्यमशीलता विकास तथा मेलाको माध्यमबाट अर्थतन्त्र चलायमान बनाउने उदेश्यमै समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला आयोजना भएको हो ।
संघले आम्दानीको लागि मात्र वर्षेनी मेला आयोजना गर्छ भनिन्छ नि ?
पोखरा उद्योग बाणिज्य संघले नाफामुखी भएर मेला आयोजना गरेको हैन र गर्दैन पनि । संघले आफ्नो सामाजिक संस्थाको छवि बचाउन र पोखराको समग्र विकासको लागि मेलालाई सहायक मान्दै आएको छ । हेर्नुहोस्,हरेक गतिविधीसँग आर्थिक पक्ष जोडिएकै हुन्छ । यो मेलामात्र अपवाद हुने कुरै भएन । आखिर मेला आयोजना गर्दा पनि त ठूलै परिमाणमा रकम खर्च हुन्छ । खर्च जुटाउनको लागि संघका कार्यसमितिका साथी, शुभेच्छुक र सिंगो सचिवालय खटेको छ । श्रमको हिसाब गर्ने हो भने आम्दानी केही पनि हैन ।
नारा एउटा दिने अनि सस्तो बजारजस्तो मेला आयोजना भयो भन्ने आरोप पनि छ नि !
व्यवसायी भनेका घुमन्ते चराजस्तै हुन् । उचित वातावरण भयो भने लगानी गर्ने हो नत्र ऊ अन्यत्र मोडिन पनि सक्छ । हामीले लगानीको सम्वद्र्धनको कुरा उठाउँदै आएका छौँ । उद्योग व्यववसायको प्रवद्र्धनको कुरा पनि छ । उद्योग व्यवसाय प्रवद्र्धन गर्नु सरकारको दायित्व हो । हामीले मेला आयोजना गरिरहँदा पनि यो कुरालाई बिर्सेका छैनौँ । भला, मेलामा विभिन्न खालका सामानहरु प्रदर्शनी र बिक्रीका लागि राखिन्छन् नै । समृद्धि स्टिल्स राष्ट्रिय व्यापार मेलामा आउनु भयो भने तपाईँले सबै कुरा पाउनुहुन्छ । हामीले अटोदेखि कृषि, दैनिक उपभोग्य सामानदेखि लत्ताकपडासम्मका स्टल राखेका छौँ । पूर्व मेचीदेखि महाकालीसम्मका उत्पादनहरु एउटै थलोमा पाइनु भनेको त विविधता हो ।
पोखरामा बाह्य लगानी भित्र्याउन के गर्नुपर्ला ?
हेर्नुहोस्, पोखरा वा पश्चिमाञ्चल क्षेत्र नै लगानीको लागि उर्वर भूमि हो । मध्यमवर्गीय परिवारको बढ्दो उदयक्रम पर्यटकीय गतिविधि, देशका अन्यभागभन्दा अपेक्षाकृत सुरक्षा, यातायातको सहजता जस्ता कुराले यो क्षेत्र लगानीको लागि उर्वर भूमि भएको हो । लगानी बाजा बजाएर आउँदैन । लगानी आकर्षित गर्ने योजनाहरु ल्याउनुपर्छ । यसो भनिरहँदा बल फेरि राज्यको कोर्टमा नै जान्छ । सरकारले विशेष क्षेत्र घोषणा गरी लगानीको लागि आह्वान गर्न सक्नुपर्छ । गण्डकी प्रदेश सरकारले अघिल्लो वर्ष लगानी सम्मेलन गर्ने कुरा गरेको थियो । के कारणले रोकियो थाहा छैन । प्रदेशका उद्योगमन्त्रीले यो वर्ष लगानी सम्मेलन गरिने जानकारी यही मेलाको समुद्घाटनमा दिनु भएको छ । आशा गरौँ, लगानीको वातावरण बन्ला ।लगानी गर्नेले लाभ खोज्छन् । यसको लागि निश्चित अवधिको लागि कर छुट लगायतका सुविधा दिनुपर्छ । राज्य केन्द्रिकृत भयो भनेर हामीले संघीय अवधारणाको परिकल्पना गरेका छौँ । अहिले भने लगानी भित्र्याउने दायित्व राज्यकै हो । पोखरा उद्योग वाणिज्य संघजस्ता निजी क्षेत्रले त उचित नीतिको लागि पहल गर्ने न हो ।
पोखरा भन्नासाथ पर्यटन नै हो । संघले पर्यटनको विकासका लागि के सोच बनाएको छ ?
पर्यटन र पोखरा एक अर्काका पर्याय हुन् । पोखरा उद्योग वाणिज्य संघले पर्यटनको विकासको लागि सधैँ सकारात्मक पहल गरेको छ । पोखरामा पर्यटनको विकासको लागि निजी क्षेत्रको पहल हुनैपर्छ भन्ने सोचेर संघकै अगुवाईमा पोखरा पर्यटन परीषद गठन भएको हो । यसले पनि पर्यटन प्रवद्र्धनको लागि काम गरेकै छ । खासमा पर्यटनसँग पूर्वाधारका कुरा पनि आउँछन्, दक्ष जनशक्तिका कुरा पनि उठ्छन । यी सबै आवश्यतका पूर्तिको लागि संघले एकिकृत रुपले आफ्ना गतिविधि अगाडि बढाएकै छ । पोखरामा अहिले बनेका सबै होटलहरु निजी क्षेत्रकै लगानीबाट सम्भव भएको पनि हामीले बिर्सनु हुँदैन ।
मेलामा व्यापारीले त व्यापार गर्छन् नै। उपभोक्ताको हितका लागि पनि केहि गर्नु भएको छ कि ?
हरेक व्यापारी उपभोक्ता पनि हो । उसले पनि गुणस्तरीय सामान सस्तोमा किन्ने चाहना राख्छ नै । उत्पादक र उपभोक्ता दुबैको लागि हो, मेला । उपभोक्तालाई सस्तोमा गुणस्तरीय सामान उपलब्ध गराउनु नै मेलाको उदेश्य हो । मेलामा हामीले सस्तोमा गुणस्तरीय सामाग्री किनमेललाई प्राथमिकता दिएका छौँ । क्रेता र बिक्रेता एकै थलोमा भेट हुनु भनेको मूल्य मात्र नभएर गुणस्तर लगायतका अन्य विषयमा पनि एकअर्काबीच भलाकुसारी हुनु पनि त हो नि ।
मेलामा के हेर्न आउने ? मेला बढी मनोरञ्जनात्मक भएन र ?
हो, मेलामा मनोरञ्जनात्मक गतिविधिहरु पनि समावेश छन् । कम्तिमा सहभागिहरुको मन प्रफुल्ल बनाऊँँ न त भनेर यस्ता गतिविधि समेटिएका हुन् । मुख्य कुरा त उद्यमशीलताको विकासकै लागि मेला आयोजना भएको हो । अर्कोतर्फ हामीले संस्कृति जगेर्नाको पहल पनि गरेका छौँ । जस्तो मेलामा पञ्चेबाजा प्रतियोगिता आयोजना गरिएको छ । पञ्चेबाजा बचाउनकै लागि यस्ता प्रतियोगिता आयोजना गरिएको हामीले बिर्सनु हुँदैन । मेलामा हेर्ने र बुझ्ने कुरा धेरै छन् । महिला उद्यमशीलतालाई पनि हामीले जोड दिएका छौँ । घरायसी सामानहरु किनमेल गर्न, नयाँ उत्पादनहरुबारे जानकारी लिन पनि मेलामा आउनुस् भन्ने हाम्रो आग्रह हो ।





