आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

अभियानमा साथ दिनेलाई सम्मान

अभियानमा साथ दिनेलाई सम्मान


  • Dhorpatan News
  • पुष २३ २०७६, बुधबार

बागलुङ, २३ पुस – जिल्ला प्रहरी कार्यालय बागलुङले संचालन गरेको लागू औषध दुव्र्यसन बिरुद्धको अभियानमा साथ दिएको भन्दै स्थानीय तहलाई सम्मान गरेको छ । प्रहरी प्रधान कार्यालयले पठाएको सम्मान पत्र बागलुङ प्रहरीले स्थानीय तहका प्रमुखलाई हस्तान्तरण गरेको हो । लागू औषध बिरुद्ध एक बर्षदेखि प्रहरीले सचेतना अभियान थालेको छ । यो अभियानमा दर्जनौ व्यक्तिलाई पक्राउ गरेर कारवाही गरेको छ भने दर्जनौ बिद्यालय, सामाजिक संस्था र कलेजमा समेत पुगेर लागू पदार्थ सेवन गरे नगरेको परीक्षण पनि गरेको छ । यो अभियानमा स्थानीय तहले साथ र सहयोग गरेको जिल्ला प्रहरी प्रमुख नवराज भट्टले बताए । प्रहरीको अभियानमा निरन्तर साथ दिएको भन्दै नेपाल पत्रकार महासंघका अध्यक्ष दिल शिरिषलाई पनि सम्मान गरिएको थियो ।
उक्त अबसरमा प्रहरी उपरिक्षक भट्टले लागू पदार्थ दुव्र्यसनका लागि समाज, घर परिवारको बेवास्ताले बढी साथ दिएको भेटिएको बताए । किसोर अबस्था र युवा अबस्थामा परिवारको साथ र सहयोग नपाउने, आमा बाबु सँगै नहुने, सानो तिनो गल्ती गर्दा सम्झाउने बानी नहुनु जस्ता कारणले दुव्र्यसनमा पुग्ने गरेको बताए । ‘आमाबाबुलाई थाहा छ, तर समाजको अगाडि राम्रो देखिन हैन, छैन भन्ने प्रवृत्तिले पनि युवाहरु दुव्र्यसनमा फसेका छन्’ भट्टले भने, ‘समयमा सम्झाएको भए त्यो युवा फस्ने थिएन ।’ घरपरिवारले लुकाएकै कारण कतिपय युवाहरुको दुव्र्यसन परीक्षण समेत गर्न नसकेको उनले बताए ।
कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले दुव्र्यसनमा युवा फस्न नदिने अभियानमा प्रहरीले गरेको कामको प्रसंसा गरे । उनले जनप्रतिनिधि र नगरपालिकाको तर्फबाट संस्थागत गर्न सकिने सहयोग गर्ने बताए । लागू पदार्थ सेवन गरे नगरेको थाहा पाउन पिशाव परीक्षण गर्नुपर्छ । उक्त परीक्षणका लागि चाहिने किट महंगो पर्ने भएकोले प्रहरीले खर्च गर्न नसकेको समेत बताइएको छ । विभिन्न संघ संस्था, सामुदायिक प्रहरी सेवा केन्द्र रामरेखा र गुठी लगायतबाट पाएको सहयोगले धेरै काम गर्न सकिएको उनले बताए । पौडेलले प्रहरीको यो अभियानका लागि तत्काल १ सय जनालाई परीक्षण गर्न सहयोग दिने घोषणा गरे ।
उक्त अबसरमा जैमिनी नगरपालिकाका प्रमुख इन्द्रराज पौडेलले युवाहरु दुव्र्यसनमा फस्दा समाजको बिकास क्रम समेत रोकिने बताए । उनले त्यसका लागि नगरपालिकामा प्रहरीको अभियानलाई निरन्तर स्वागत गर्ने भन्दै आवस्यक किटका लागि पनि साथ दिने भनाइ राखेका थिए ।
ग्रामीण बस्तीमा पनि युवामा दुव्र्यसन बढेको भन्दै गलकोट नगरप्रमुख भरत शर्मा गैरे, काठेखोला गाउँपालिका अध्यक्ष अमर थापा र तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढाले पनि साथ दिने बताए । यो अभियानका लागि प्रहरीले आमा समूहलाई परिचालन गरेको छ । जिल्लाका सहकारी संस्था, आमा समूह र अन्य संस्थाको माध्यम बनाएर परीक्षणका लागि किट खरिद गर्ने काम बाहेक अभिमूखिकरण र सचेतना अभियान पनि चलाएको बताएको छ । प्रहरीका अनुसार अघिल्लो आर्थिक बर्ष प्रहरीले दुइवटा नागरिक सुनुवाई, ३ वटा प्रहरी सँग एक दिन, १२ वटा अभिमूखिकरण, २ स्थानमा गाँजा फडानी, ८ स्थानमा सफाई, ४० वटा बिद्यालय कार्यक्रम र ३१ वटा लागूऔषध बिरुद्धको सचेतना कार्यक्रम गरेको थियो ।
चालु बर्ष पनि प्रहरीले २ वटा प्रहरी सँग एक दिन, ५ वटा अभिमूखिकरण, ४ स्थानमा सफाई, २ स्थानमा गाँजा फडानी, ९४ वटा लागूपदार्थ बिरुद्धको अभिमूखिकरण र ८० वटा बिद्यालय अभियान संचालन गरेको हो । बजेट अभावले सोचेका सबै स्थानमा कार्यक्रम गर्न नसकिएको भट्टको भनाई थियो । राजनीतिक दल, सामाजिक संस्था र स्थानीय तहको सहयोग पाउँदा दुव्र्यसन बिरुद्धको अभियानमा सफलता पाउन सकिने उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->