पोखरा, २३ पुस – पोखरा क्रीकेट मैदानमा नेपाल क्रीकेट संघ (क्यान ) र मलेसियालि टिम बिच एक दिवसीय क्रीकेट हुने भएको छ ।मलेसियाको क्रिकेट टोली र क्यान ११ बिच पोखरामा ५० ओभरको खेल हुने भएको छ । मनमोहन मेमोरिएल एकदिवसीय राष्ट्रिय क्रिकेट कप खेल्न नेपाल आएको मलेसियाको टोलीसँग क्यान एघारले खेल खेल्ने भएको हो ।
पोखरामा हुने खेल भने कति खेल्ने र कहिले खेल्ने भने अहिले नै निर्धारण नभइसकेको क्यानका सचिव अशोकनाथ प्याकुरेलले बताए । मलेसिया र नेपालको राष्ट्रिय टिम बिचको खेल भने नरहेको उनले जानकारी दिए । यसघि विभिन्न संचारमाध्यमले नेपाली राष्ट्रिय क्रिकेट टोलीले पोखरामा मलेसियाको राष्ट्रिय टोलीसँग सिरिज खेल्ने भन्दै समाचार प्रकाशन गरेका थिए तर सचिव प्याकुरेलले भने यो गलत सुचना भएको बताएका छन् । ‘बाहिर हल्ला आए जस्तो नेपाली राष्ट्रिय टोलीले खेल्ने होइन ,मलेसियाको पनि राष्ट्रिय टोली खेल्ने होइन ’ सचिव प्याकुरेले क्यान एघार र मलेसियाको टोली बिच खेल हुने पुष्टि गरे । उनले क्यान एघारमा राष्ट्रिय टोली र यू—१९ का केही खेलाडी रहन सक्ने बताए ।इटहरीमा आयोजित मनमोहन स्मृति एकदिवसीय क्रिकेट खेल्न आउने मलेसियन टोलि सँग उक्त खेल सकिएपछी पोखरामा खेल्न आउने छन ।
यस्तै नेपाली पुरुष राष्ट्रिय क्रीकेट टोलिले भने शुक्रबारबाट पोखरामा बन्द प्रशिक्षण थाल्ने बताएका छन् । अन्तर्रा्ष्ट्रिय क्रिकेट परिषद ९आईसीसी० विश्वकप क्रिकेट लिग टु अन्तर्गत नेपालले माघ तेस्रो साता अमेरिका र ओमानसँग सिरिज खेल्दै छ । माघ २२ गते बुधबार देखि माघ २९ सम्म सिरिज चल्ने छ ।
उक्त सिरिजका लागि नेपालले शुक्रबारबाट बन्द प्रशिक्षण थाल्ने सचिव प्याकुरेलले बताए । ‘शुक्रबारबाट पोखरामा बन्द प्रशिक्षण थालिने छ ’ उनले बताए ।
यस्तै अहिले चलिरहेको मनमोहन मेमोरिएल एकदिवसीय राष्ट्रिय क्रिकेट कपले राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा प्रभाव पर्ने समर्थकले आँकलन गर्दै आएका छन् । यद्यपी सचिव प्याकुरेल कुनै पनि प्रतियोगिता सञ्चालन हुँदैमा राष्ट्रिय टोलीको बन्द प्रशिक्षण बिथोलिन नहुुने बताउँछन् । ‘हामीले बन्द प्रशिक्षणका लागि खेलाडी बोलाउँछौँ, उनीहरु आउनु पर्छ ।’ प्याकुरेलले भने,‘प्रतियोगिताको नाममा बन्द प्रशिक्षण छाड्न पाइँदैन, बोलाइएका खेलाडी आउनै पर्छ ।’
सचिव प्याकुरेलले सिरिज अगाडि कुनै पनि टोलीसँग राष्ट्रिय टोलीले खेल नखेल्ने बताए । ‘व्यस्तताका कारण नेपाली राष्ट्रिय टोलीले कुनै पनि खेल खेल्दैन ।’ सचिव प्याकुरेलले भने, ‘त्रिभुवन मैदानको स्तरोन्नति भइरहेकाले सिरिज अघि त्यहाँ खेल्न पनि नपाउने भएका छन् ।’ यस्तै उनले सिरिजका लागि त्रिभुवन मैदानको स्तरोन्नति र अभ्यासको लागि मुलपानी मैदानको स्तरोन्नतिको काम पनि भईरहेको जानकारी दिए ।
पोखरा क्रीकेट मैदानमा मैदान बाहेक अन्य पुर्वाधार भने छैन , अपुरो पुर्वाधार मै पनि बन्द प्रशिक्षण हुने छ ।
विश्वकप लिग(२ अगस्ट २०१९ देखि सुरु भएता पनि नेपालले भने बल्ल पहिलो सिरिज खेल्न लागेको हो। लिग(२ अन्तर्गत अमेरिका, स्कटल्याण्ड, ओमान, नामिबिया, युएई र पपुवा न्यु गिनीले खेलहरु खेलीसकेका छन्। अमेरिका, स्कटल्याण्ड र पपुवा न्यु गिनीले समान ८ खेल खेलीसकेका छन् भने युएईले ६ खेल तथा ओमान र नामिबियाले ५ खेल खेलीसकेका छन्।
लिग(२ अंकतालिकामा ८ खेलमा ६ जित र २ हार सहित अमेरिका १२ अंक सहित शिर्षस्थानमा रहेको छ। ९ अंक सहित स्कटल्याण्ड दोश्रो, ८ अंक सहित ओमान तेश्रो, ६ अंक सहित नामिबिया तेश्रो तथा युएई ५ अंक सहित छैठौं स्थानमा रहेको छ। पपुवा न्यु गिनी खेलेको ८ वटै खेल हार्दै पुछारमा रहेको छ।





