बागलुङ, २४ पुस – पर्यटक लोभ्याउन बागलुङ नगरपालिकाले ‘प्राणी उद्यान (जुलोजिकल पार्क) बनाउनका लागि बिस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन (डिपिआर) बनाउने काम थालेको छ । बागलुङ नगरपालिका वडा नं ५, ६ र ७ मा पर्ने मालिका सामुदायीक बन क्षेत्रमा प्राणी उद्यान निर्माणका लागि डिपिआर सुरु गरीएको हो । गत बर्ष गरिएको सम्भाव्यता अध्ययनमा उक्त क्षेत्रमा प्राणी उद्यान बन्न सक्ने देखिएपछि डिपिआरको काम थालिएको नगरप्रमुख जनकराज पौडेलले बताए । नगरपालिकाले चालु आर्थिक बर्षमा डिपिआर बनाउनका लागि आठ लाख रुपैयाँ बजेट बिनियोजन गरेको थियो ।
मालिका जैविक सामुदायीक बन क्षेत्रमा पर्ने १ सय ७५ हेक्टर जमिनमा उद्यान निर्माण गर्ने तयारी नगरपालिकाले गरेको हो । काठमाण्डकौको टेकुमा रहेको ‘आरकेटेक डिजाईन सिभिल कन्ट्रक्सन’ले डिपिआरका लागि यसै सातादेखि काम थालेको हो । ‘यो साता स्थलगत अध्ययनको काम सकिन्छ’ नगरपालिकाका योजना तथा प्रशासकीय अधिकृत युक्तप्रसाद सुवेदीले भने, ‘डिपिआरकै आधारमा हामीले काम थाल्छौं ।’ स्थलगत अध्ययनमा रहेको कम्पनीले २ जना इन्जिनियर र दुई जना वातावरण बिज्ञ पठाएर काम गरिरहेको हो । उनीहरुको अध्ययन सकिएपछि कागजी काम थाल्ने बताएको छ । ‘हामिले तीन महिनामा डिपिआर बुझाउँछौं’ कम्पनीका प्रमुख शेरसिंह ठगुन्नाले भने ‘सम्भाव्यता अध्ययनले देखाएका सबै स्रोतको परिचालन हुनेगरी डिपिआर तयार हुन्छ ।’ बागलुङ आउने पर्यटकलाई जैबिक बिबिधता सहितको उद्यानमा रमाउने वातावरण बनाउनका लागि नगरपालिकाले प्राणी उद्यानको परिकल्पना गरेको हो ।
मालिका सामुदायीक बन क्षेत्रमा १ सय भन्दा धेरै प्रजातीका जैविक बस्तुहरु र सोही मात्रामा जंगली जनावर तथा पंक्षीहरु रहेको अनुमान छ । पर्यटकीय महत्वका ताराजाल कोट, कारीकोट, माझकोट, संसारकोट र रायँरायकोट लगायतका क्षेत्र यही बन क्षेत्रमा पर्ने भएकाले प्राणी उद्यानमा पर्यटक पु¥याउन सहज हुने नगरपालिकाको विश्वास छ । यिनै पाँच कोट मिलाएर बनेको पञ्चकोट धार्मिक पर्यटकीय क्षेत्रको रुपमा चर्चित छ ।
सम्भाव्यता अध्ययनले देखाए अनुसार यस क्षेत्रबाट दर्जन बढी हिम ऋङ्खला देख्न सकिन्छ । ‘जैविक बिबिधतामा बन्यजन्तुह हेर्दै रमाउन चाहनेहरुकालागि यो क्षेत्र उपयुक्त छ’ नगरप्रमुख पौडेलले भने ‘वातावरणीय संरक्षण र धार्मिक पर्यटन प्रबद्र्धनका लागि यो उद्यान कोषेढुंगा बन्न सक्छ ।’ डिपिआर बन्दै गरेको उद्यान क्षेत्रमा रहेका समथर जमिनको प्रयोग गरेर पर्यटकको बसाई लम्बिने गरी बासस्थानको व्यवस्थापन गर्ने योजनामा नगरपालिकाको छ । उद्यान भित्र वातावारणीय असर र प्राणी तथा पंक्षिलाई असर नपर्नेगरी रिसोर्टहरु सञ्चालन सम्मको योजना रहेको प्रमुख पौडेल बताउँछन् ।
‘हामीले ठूलो लगानी गरेर नभएका प्राणी ल्याएर राख्दैनौं’ पौडेलले थपे ‘भएकाको संरक्षण कम लगानीमा गर्ने र आकर्षक गन्तव्य बनाउने हो ।’ उद्यान बनाउने भनिएको बन क्षेत्रमा तीन किसिमको हावापानी पाईने भएकाले पनि त्यहाँ पुग्ने पर्यटकले तीन किसिमको वातावरण महसुस गर्न सक्छन् । ‘उष्ण, सितोस्ण र समसीतोष्ण तीनै खालको हावापानी यस क्षेत्रमा पाईन्छ’ बागलुङ नगरपालिका–६ का वडाअध्यक्ष खेमराज सापकोटाले भने ‘तीनै किसिमको हावापानीमा पाईने जैविक बनस्पती र जीवजन्तु तथा पंक्षीहरु यस क्षेत्रमा छन् ।’ डिपिआर तयार भएपछि केन्द्र तथा प्रदेश सरकार सँगको सहकार्यमा काम गर्ने र त्यसो हुन नसके नगरको आगामी बर्षको कार्यक्रममा यो योजनालाई प्राथमीकतामा राखेर काम अघि बढाईने नगरपालिकाले जनाएको छ ।





