आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

उपभोक्ता समितिमा बस्न मान्दैनन् उपभोक्ता

उपभोक्ता समितिमा बस्न मान्दैनन् उपभोक्ता

प्रकृया सिकाउन उपभोक्तालाई अनुशिक्षण


  • ढोरपाटन संबाददाता
  • पुष २५ २०७६, शुक्रबार

बागलुङ, २५ पुस – स्थानीय सडकको उपभोक्ता समितिको अध्यक्ष बनेका बागलुङ नगरपालिका–६ धारापानीका कृष्ण प्रसाद सापकोटा आँफ्नो नेतृत्वमा सडक बन्छ भन्ने मात्रै बुझेका थिए । तर समितिमार्फत सडक निर्माण गर्दा पुरा गर्नुपर्ने प्रकृयाको बिषयमा उनले बुझ्न निकै समय लाग्यो ।
स्थानीय नगरपालिकाले बनाएका कानुन, निर्माण सम्बन्धि कार्यबिधि र केन्द्र तथा प्रदेश सरकारले तोकेका जिम्मेबारी तथा सार्वजनिक खरिद ऐनको बिषयमा समेत उपभोक्ता समितका पदाधिकारीलाई जानकारी हुनु जरुरी छ । तर उपभोक्ता समितिहरुका पदाधिकारीहरुमा कृष्ण प्रसादको जस्तै समस्या भोग्दै फरफारकको समयसम्म पुग्दा मात्रै यी बिषयमा जानकारी हुन्छ । योजनाको सम्झौतादेखि फरफारकको समयसम्म पुरा गर्नुैपर्ने कानुनी तथा कागजी प्रकृयाको बिषयमा जानकारी नभएकै कारण पछिल्लो समय उपभोक्ता समितिमा बसेर काम गर्न सर्वसाधारण मान्दैनन् । स्थलगत काम राम्रै हुँदापनि भुक्तानीमा समस्या ब्यहोर्नुपरेपछि उपभोक्ता समितिमा बसेर काम गर्नेहरु पाउनै मुस्कील हुन थालेको हो ।
नेपाल सरकारले १ करोड सम्मका योजना उपभोक्ता समितिमार्फत काम गर्न सकिने भनेको छ । तर ठुला र साना सबै खाले योजनामा पुरा गर्नुपर्ने प्रकृया एकै खालको हुँदा उपभोक्ताहरुलाई काम गर्नभन्दा धेरै प्रकृया पुरा गर्न कठिन हुने गरेको वडाध्यक्ष खेमराज सापकोटा बताउँछन् । ‘एक करोडका लागि बनाईएका मापदण्डहरु १ लाखकको योजनामा लागु हुँदा हाम्रा उपभोक्ता समस्यामा परे’ सापकोटाले भने ‘काम भन्दा धेरै प्रकृया हुन्छ ।’ प्रकृयागत झण्झटकै कारण एक पटक उपभोक्ता समितिमा बसेर काम गरेकाहरु अर्को पटक उपभोक्ता समितिमा बस्न नमान्ने गरेको अध्यक्ष सापकोटाले सुनाए ।
स्थानीय तहमा सञ्चालन हुने योजनामा अनिवार्य गरिएको श्रमदान पनि अर्को समस्या हुने गरेको छ । ‘हाम्रामा श्रमदान गर्ने उपभोक्तानै छैनन्’ स्थानीय खेलकुद मैदान उपभोक्ता समितिका सचिव विमल खत्रीले भने ‘युवा गाउँमा छैनन् कस्लाई श्रमदान गर भन्नु ?’ श्रमदान समावेश नगरे योजनानै गुम्ने र श्रमदान गर्दा पदाधिकारीकै थाप्लोमा ऋणको भारी आउने भएकाले उपभोक्ता समितिमा बसेर काम गर्नेहरु कम हुँदै गएको उनको गुनासो थियो ।
चालु आर्थिक बर्षमा बागलुङ नगरपालिकाबाट सञ्चालन हुने १४ वटा योजनाका लागि उक्त वडामा उपभोक्ता समिति गठन भैसकेका छन् । तर उपभोक्ता समितिले योजना संझौताको बेला आँफुले पाएको समय समेत ख्याल नगर्ने गरेको भन्दै नगरपालिकाले वडा स्तरमानै अनुशिक्षण सञ्चालन गरेको छ । उपभोक्ता समितिहरुलाई प्रशासनीक, प्राबिधिक र आर्थिक कारोवार कसरी गर्ने भन्ने बिषयमा नगरपालिकाले अनुशिक्षण चलाएको हो ।
‘हामीले नगरमा पुग्ने उपभोक्ता समितिका पदाधिकारीहरुलाई जानकारी गराउँथ्यौं । यो बार्षिक कार्यक्रम नै हो’ योजना तथा प्रशासकीय अधिकृत युक्त प्रसाद सुवेदीले भने ‘उपभोक्ताको तहमा प्रकृयाको बिषयमा समस्या देखेर यस बर्ष टोलटोलमै पुगेर यो कार्यक्रम चलाउँदै छौं ।’ काम सकेर भुक्तानीका लागि नगरपालिका पुग्ने जोकोहीलाई कागजातका कारण फर्किनु नपरोस् भनेर अनुशिक्षण सञ्चालन गरेको वडाध्यष सापकोटाले बताए ।
यो कार्यक्रम वडा नं ६ मा पहिलो पटक सञ्चालन भएको हो । नगरका सबै वडामा पुग्ने योजना रहेको जनाईएको छ । बिहिबार वडा कार्यालयमा आयोजना गरीएको अनुशिक्षणमा १५ वटा योजनाका ४५ जना पदाधिकारीको सहभागिता रहेको थिए । कार्यक्रमको योजना तथा प्रशासकीय अधिकृत युक्त प्रसाद सुवेदी, लेखा अधिकृत जब्बर बहादुर भण्डारी, इन्जिनियर दिपेन्द्र भण्डारी लगायतले सहजीकरण गरेका थिए । अनुशिक्षणमा सहभागीले इन्जिनियरले गर्ने लगत स्टमेट नेपाली भाषामा हुनुपर्ने, काम चलेको समयमा नियमीत अनुगमन गरेर सल्लाह दिनुपर्ने लगायतका माग गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->