
बागलुङ, २६ पुस – सामुदायिक बिद्यालयमा गुणस्तर सुधार गर्दा यहाँको एउटा संस्थागत बिद्यालय बन्द भएको छ । बागलुङ नगरपालिका वडा नं. ६ ले यहाँ संचालन भैरहेका ५ वटा बिद्यालयमा गुणस्तर सुधार, व्यवस्थापनमा चुस्तता र अंग्रेजी माध्यममा पढाउन थालेपछि उज्वलतारा बोर्डिङ बन्द भएको वडा अध्यक्ष खेमराज सापकोटाले बताए । अधिकांस बालबालिका सदरमुकामका निजी बिद्यालयमा जान थालेपछि सामुदायिक बिद्यालय सुधारको अभियान थालिएको थियो । गत बर्षदेखि थालिएको अभियान स्वरुप यहाँको लहरेपिपल माबिमा बस समेत चलाइएको छ । अन्य प्राथमिक बिद्यालयमा अंग्रेजी माध्यममा पढाई गर्नका लागि निजी श्रोतमा शिक्षक थप समेत गरिएको छ । हरेक बाल कक्षालाई २ वटा तह बनाइएको छ । जसको कारण बालकक्षा पास गरेको बिद्यार्थी सोझै कक्षा १ मा जानेभन्दा उपल्लो तहमा पढेर मात्र जान थालेका छन् । यसरी उपल्लो तहमा पढ्ने बालबालिकालाई अंग्रेजी माध्यममा पढाउन थालेपछि सदरमुकामका बोर्डिङमा खर्च गरेर पठाउने अभिभावकले गाउँमै पढाउन थालेका छन् ।
त्यस्तै उनीहरुले आफ्ना बालबालिकालाई बिद्यालयमा खाजा पठाउने र गाउँकै निजीमा भर्ना भएकालाई पनि छुटाएर सामुदायिकमा भर्ना गराएका हुन् । ‘बोर्डिङकै जस्तै सरकारीमा पढाई हुने भएपछि किन पैसा खर्चनु प¥र्यो’ स्थानीय सिता सापकोटाले भनिन्, ‘राम्रो पढाई भयो भने हामीलाई पनि खर्च गर्ने चाहना छैन ।’ सदरमुकामका बोडिङमा पठाउन बिहान ८ बजेदेखि बालबालिकालाई खुवाएर तयार पार्नु पर्ने समस्या पनि हटेको उनले बताइन् ।
टाढाको बाटो भएकोले फर्कंदा पनि रात पर्ने भएकोले बालबालिका गाउँकै बिद्यालयमा पढाउन थालेको समेत उनले बताईन् । केही बर्षअघिसम्म यहाँका प्राथमिक बिद्यालयमा शिक्षक र बिद्यार्थी बराबर पुग्न थालेका थिए । व्यवस्थापनमा चुस्तता बनाएर बालबालिका बढाएपछि ती बिद्यालयमा बिद्यार्थी संख्या पनि बढेका छन् । बिद्यार्थी बढेपछि मात्र बिद्यालय जस्तो देखिएको सापकोटाले बताए । शिक्षाको बिकासका लागि भन्दै वडा तहको अगुवाईमा पटक पटक अभिभावक भेला र नियमित अनुगमन समेत गरेपछि गुणस्तर सुधारको संकेत देखिएको उनले बताए । गत बैशाखदेखि लहरेपिपल माबिले भने बिद्यार्थी आर्कषण गर्न बस समेत चलाएको छ । बागलुङ नगरपालिकाको अनुदानमा बस आएपछि बिद्यार्थी संख्या समेत बढेको छ । बालबालिकाले पनि निजी बिद्यालय जाने इच्छा छाडेर सामुदायिकमै पढ्न थालेका छन् । बस चलाएपछि बढेका बालबालिकासहित सबैलाई गुणस्तर दिन निजी श्रोतका शिक्षक राखिएको छ । अंग्रेजी माध्यमबाहेक प्रयोगात्मक शिक्षण बिधि, बालबालिकाको लागि समय समयमा परीक्षा दिलाउने र शिक्षकहरु नियमित बन्ने अबस्था शुरु भएको अभिभावकहरुले बताए । नगरपालिका र वडाबाट नियमित हुने अनुगमनले गुणस्तर सुधारमा साथ मिलेको समेत बताइएको छ ।
वडा नं. ५ को मालिकामा पनि गुणस्तर सुधारको लहर थालिएको छ । यहाँ १६ वटा बालबिकास केन्द्र छन् । ती सबै केन्द्रमा दुइवटा कक्षा चलाइएको छ । आवासिय बिद्यालय बनाउने तयारी समेत थालिएको वडा अध्यक्ष शिवप्रसाद सापकोटाले बताए । त्यसका लागि चालु बर्ष ७० लाख रुपैयाँको पुननिर्माणको बजेटबाट मालिका माबिमा पूर्वाधार निर्माण थालिएको छ ।





