बागलुङ, २८ पुस – ताराखोला गाउँपालिकाको छैठौ गाउँसभा आइतवार सुरु भएको छ । सभामा ७ वटा बिधेयक टेबुल भएका छन् । आइतवार गाउँसभामा उद्योग व्यवसाय प्रवद्र्धन बिधेयक दर्ता भएको प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले बताए । यो बिधेयकले कानूनी मान्यता पाएपछि यहाँ स्थापना हुन लागेको औद्योगिक ग्राम, उक्त स्थानमा संचालन हुने उद्योगहरुको प्रवद्र्धनमा टेवा पुग्ने बताइएको छ । त्यस्तै उद्योगका लागि गाउँपालिका भित्रका अन्य विभिन्न स्थानमा पनि पेशा व्यवसाय गर्न सक्ने बाटो खुला हुने बताइएको छ । जिल्लाभरका स्थानीय तहमा यो पालिकामा उद्योग व्यवसाय प्रवद्र्धन बिधेयक पहिलो पटक आएको हो । आइतवारै कृषि बिधेयक, नगर प्रहरी बिधेयक, संस्था दर्ता सम्बन्धी बिधेयक र स्वास्थ्य तथा सरसफाई बिधेयक पनि दर्ता भएका छन् । अन्य गाउँपालिकामा आइसकेपनि ढीला भएको स्थानीय शिक्षा बिधेयक ताराखोलामा पहिलो पटक दर्ता भएको छ । त्यस्तै पूर्वाधार आयोजना संचालन र सार्वजनिक निजी साझेदारी बिधेयक पनि दर्ता भएको हो । यो बिधेयकले ताराखोलामा स्थानीय तथा बाहिरी लगानी भित्राउने, ठूला आयोजना संचालन गर्ने लगायतको बाटो समेत खुल्ने गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले बताए । बागलुङ नगरपालिकाले भने सोमबारदेखि नगर परिषद सुरु गर्दैछ । परिषदमा नगर प्रहरी बिधेयक र हेवि इक्विपमेन्ट संचालन कार्यविधि आउने भएको छ । त्यस बाहेक कुन बिधेयक आउँछन् भन्ने अहिले सम्म यकिन छैन । बिधायन समिति वा नगर कार्यपालिकाबाट टेबुल हुने भएकोले बाहिर जानकारी आएको छैन ।
नगरपालिका भित्र घर बनाउने तथा सडकको मापदण्ड बारे बिशेष नगरसभा बसेर निर्णय गर्ने र कार्यविधि बनाएर लागू गर्ने भनिएपनि बसेको थिएन । यो सभामा कार्यविधि बनाउने र बजार क्षेत्रको समस्या समाधान गर्ने बारे केही निर्णय हुन सक्ने उपप्रमुख सुरेन्द्र खड्काले बताए । गत असारमा भएको सभामा माग सम्बोधन नभएको भन्दै वडा नं. २ का सदस्य अर्जुन घिमिरेको नेतृत्वमा सभा बहिस्कार भएको थियो । यस पटक पनि तत्कालिन माग सम्बोधन नभए सभा बहिस्कार गर्ने चेतावनी समेत दिइएको छ । उनीहरुले नगरप्रमुखलाई ज्ञापनपत्र पनि बुझाएको बताए ।





