बागलुङ, २ माघ – बागलुङका दुई स्थानीय तहमा औद्योगिक ग्राम (उद्योग क्षेत्र) स्थापना गर्ने सम्झौता भएको छ । उद्योग क्षेत्र स्थापनाको लागि बागलुङ नगरपालिका र ताराखोला गाउँपालिकाले मंगलवार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्झौता गरेका हुन् । सम्झौतासँगै दुई वटा पालिकाले औद्योगिक क्षेत्रमा पूर्वाधार निर्माणको लागि ९२/९२ लाख रुपैयाँ प्राप्त गरेका छन् । बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलको रोहबरमा प्रमुख प्रशासकीय अधिकृत डण्डपानी शर्मा र ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीको रोहबरमा प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।
औद्योगिक ग्राममा जग्गा विकास, पहुँच मार्ग, विद्युत् प्रसारण लाइन तथा आवश्यकता अनुसार सबस्टेसन, ट्रान्सफर्मर, विद्युत् वितरण लाइन र वैकल्पिक ऊर्जाको स्रोत, गोदाम घरलगायत पूर्वाधार बन्नेछन् । पालिकाहरूलाई दिइएको रकम पनि यिनै पूर्वाधार निर्माणमा खर्च गर्नुपर्ने छ । साथै कृषि तथा पैदावरमा आधारित र स्थानीयस्तरको मागमा आधारित उद्योग प्राथमिकतामा छन् । स्थानीय स्रोत साधन, कच्चापदार्थ, प्रविधि र सीपको प्रयोग गरी स्थानीयस्तरमै रोजगारी बढाउने उद्देश्यले औद्योगिक ग्राम सञ्चालन गर्न लागिएको हो । औद्योगिक ग्राम स्थापनाको लागि हिमाली तथा दुर्गम पहाडी क्षेत्रमा ३०, पहाडी क्षेत्रमा ४० रोपनी र तराई क्षेत्रमा ७ बिगाहा जमिन हुनुपर्ने छ । मानव बस्तीको २ सय मिटरभन्दा पर औद्योगिक ग्राम हुनुपर्ने, उद्योग स्थापनाको लागि प्लट कुल जग्गाको ६० देखि ७० प्रतिशत हुनुपर्ने, औद्योगिक ग्राम घोषणा तथा सञ्चालनसम्बन्धी कार्यविधि २०७५ मा उल्लेख छ । कार्यविधि अनुसार औद्योगिक ग्रामभित्र प्रशासनिक भवन, बैंक तथा वित्तीय संस्था, दिवा शिशु स्याहार केन्द्र, अग्नि नियन्त्रणको व्यवस्था, सामान प्रदर्शनी तथा बिक्री कक्ष, शौचालय तथा स्नान गृह, पार्किङ, क्यान्टिन र प्राथमिक स्वास्थ्य केन्द्र बनाउनु पर्नेछ । औद्योगिक ग्राम बनिसकेपछि स्थानीय तह वा निजी तथा साझेदारीमा सञ्चालन गर्न सकिने कार्यविधिमा उल्लेख छ ।
उद्योग ग्रामभित्र कृषि तथा वनजन्य, ऊर्जामूलक र सेवामूलक लगायत स्थानीय तहले उपयुक्त ठानेका उद्योगहरू रहने छन् । आद्योगिक ग्राम स्थापनाको लागि बागलुङ नगरपालिकाले बानपा–१३ कालाखोला बगरमा ८५ रोपनी जग्गा लिएको छभने ताराखोला गाउँपालिकाले वडा नम्बर–१ भुस्कालमा ९० रोपनी जग्गा छनौट गरेको छ । स्थानीय तहले औद्योगिक ग्रामको डिपिआरपछि भौतिक पूर्वाधार बनाउन खर्च गर्ने छन् । डिपिआर भने स्थानीय तह आफैंले बनाउन पर्नेछ । नगर तथा गाउँपालिकाले सम्झौता गरेको १५ दिनभित्र डिपिआरको प्रारम्भिक अध्ययन गरी ३ महिना भित्रमा सम्पन्न गरी सोको स्वीकृत प्रतिवेदनको एकप्रति मन्त्रालयमा पेश गर्नुपर्ने बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले जानकारी दिए । औद्योगिक क्षेत्र निर्माको काम तत्काल सुरु गर्ने नगर प्रमुख जनकराज पौडेलको भनाई छ । अब विस्तृत योजना प्रतिवेदन (डिपीआर) तयार गछौँ मेयर पौडेलले भने– ‘व्यवस्थित उद्योग र सफा बागलुङ बजार निर्माणमा उद्योग ग्रामले सहयोग गर्नेछ ।’ उद्योग क्षेत्र निर्माणको लागी गण्डकी प्रदेश सरकारले पनि आर्थिक सहयोग गर्नेछ । ‘उद्योग ग्राम निर्माणको सम्झौताले हौसिएका छौँ’ ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले बताए ।





