पोखरा, ५ माघ – पोखरा रामबजार १५ मा जारी तेस्रो अमन गुरुङ स्मृति सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि आयोजक भ्याली स्पोर्ट्स क्लब सेतोल जितेको छ ।पोखरा महानगरपालिका – १५ कोलपाटनको रेम्बो एकेडेमी होम्सको खेल मैदानमा आज भएको फाईनल खेलमा एलजी एशोशियसनलाई २–० गोलले पराजित गर्दै आयोजक टिमले उपाधि जितेको हो ।उपाधि सँगै भ्यालीले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्यो भने उपविजेता एलजी एसोसिएसनले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित ७५ हजार रुपैयाँमा चित्त बुझायो ।भ्यालीको जितमा घनश्याम तामाङले खेल शुरु भएको ३ मिनेटमा गोल गर्दै आयोजकलाई अग्रता दिलाएका थिए । आयोजकको लागी दोस्रो गोल खेलको ३६ औ मिनेटमा अजय श्रेष्ठले गरेका थिए ।यस अघि भएको सेमिफाइनलमा एलजीले सँगमलाई र आयोजक भ्यालीले गार्डेनलाई हराउँदै फाइनल प्रवेश गरेका थिए ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी भ्यालीका अजय श्रेष्ठ घोषित हुँदै नगद १२ हजार रुपैयाँ प्राप्त गरे भने सोही क्लबकै सर्वाधिक गोलकर्ता सुनिल गोदामे घोषित हुँदै नगद ७ हजार रुपैयाँ प्राप्त गरे । उनले प्रतियोगिता अवधिभर ९ गोल गरेका थिए ।बिजेता तथा उपबिजेता टिमलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङ, एन्फाका उपाध्यक्ष कृष्ण थापा, कास्की जिल्ला फुटबल सँघ (एन्फा) अध्यक्ष मिलन गुरुङ, प्रयोजकहरु लगायतले पुरस्कार वितरण गरेका थिए ।सो अवसरमा बोल्दै प्रमुख अतिथि समेत रहेका राखेप सदस्य राजेश गुरुङले बिजयी टिमलाई बधाई ज्ञापन गरे । भ्यालीले आगामी दिनमा समेते प्रतियोगितालाई निरन्तरता दिन आग्रह गर्दै आफुले सक्दो सहयोग गर्ने बताए । उनले पोखरा रंगशाला निर्माण पछि सेभेन ए साईडको समस्या हल हुने धारणा राखे ।कास्की जिल्ला फुटबल सँघ (एन्फा) अध्यक्ष मिलन गुरुङले सेभेन ए साइड फुटबललाइ हेप्ने गरेको टिप्पणी गरे । संघ भित्रको विकृतिले गर्दा फुटबल खेलको विकास नभएको उनले बताए । पहिले संघमा बल समेत नदिने प्रवृती निकै मौलाएको अवस्थामा पछिल्लो समय खेल सामग्री संघले काठमाडौ लिन जान नपरेको उनले धारणा राखेका थिए ।उक्त प्रतियोगितामा फुटबल खेलको विकासमा निरन्तर लागेका भन्दै सेभेन ए साइड महासँघका अध्यक्ष नविन पुनलाइ सम्मान समेत गरिएको आयोजकले जनाएको छ ।





