पोखरा,७ माघ – पोखरामा बन्द सत्रमा रहेको नेपाली राष्ट्रिय टिम सम्मिलित नेपाल क्रिकेट संघ (क्यान) ११ ले मैत्रीपूर्ण खेलमा मलेसिया ११ लाई एक सय ३५ रनले हराएको छ ।
क्यान ११ का लागि नेपाली राष्ट्रिय टिमका बलर करण केसी र कमलसिंह ऐरीको उत्कृष्ट प्रदर्शनसँगै मलेसिया ११ सस्तोमै समेटिएको हो ।
निकै उत्कृष्ट फर्ममा रहेका केसी र ऐरीले मेडन ओभर राख्दै समान ३–३ विकेट लिए । ८ ओभर खेलेका केसीले दुई ओभर मेडन राख्दै २७ रन खर्चिएर ३ विकेट लिए । ७ ओभर खेलेका ऐरीले एक ओभर मेडन राख्दै २४ रन खर्चेर ३ विकेट लिए ।
यसअघि टस हारेर व्याटिङको निम्तो पाएको क्यान ११ ले मलेसियालाई २ सय ७८ रनको लक्ष्य दियो । चौथो विकेटको लागि सन्दीप जोरा र आरिफ शेखले १ सय ५३ रनको महत्वपूर्ण साझेदारी गर्दै नेपालको इनिङ्स उकासेका थिए । सुवास खकुरेल १२, ज्ञानेन्द्र मल्ल १९ र पारस खड्का १५ रनमा आउट भए । चौथो विकेटको लागि शतकीय साझेदारी निभाएपछि बोर्ड ११ ले सम्मानजनक स्कोर तयार पा¥यो । आरिफ १ सय १ रनमा नटआउट(रिटायर्ड) रहे । उनले १ सय ५ बल खेल्दै ७ चौका र ५ छक्का हिर्काए । उनले स्ट्राईकमा साथ दिँदै महत्वपूर्ण साझेदारी निभाउने क्रममा सन्दीज जोराले व्यक्तिगत अर्धशतक पूरा गरेका थिए । उनले ५८ रनमा आउट हुदाँ ७० बल खेल्दै ८ चौका र १ छक्का हिर्काएका थिए । क्यान ११ ले ५८ रन बनाउने क्रममा तीन विकेट गुमाइ सकेको थियो ।
चौथो विकेटको लागि १ सय ५३ रनको साझेदारी गर्दै क्यानको ११ को योगफल उकासे । चौथो विकेट २ सय ११ रन बनाउँदा गुमाएको घरेलु टोलीले पाँचौ विकेट २ सय १४ रनमा गुमाएको थियो । ४७ ओभर खेल्ने क्रममा २ सय ७७ रनको योगफल तयार पार्दा करण केसीले २६ रन हिर्काए । पवनदिप सिंहले ३ विकेट लिने क्रममा ३१ रन खर्चिए । त्यसैगरी मोहम्मदी आरिफले पनि ३ विकेट लिन ३३ रन दिएका थिए ।
२ सय ७८ रनको लक्ष्य पछ्याएको मलेसिया १ सय ४२ रनमै समेटियो । ३७.३ ओभर खेल्दै १ सय ४२ रनमा अलआउट हुदाँ सायद अजिजले २८ रन बनाए । २९ बल खेल्ने क्रममा ३ चौका र १ छक्का हाने । करण केसीले उनको विकेट लिएका थिए । आइनुल हकिमले पनि समान २८ रन नै बनाउने क्रममा ४७ बलको सामना गरेका थिए । उनले ४ चौका हिर्काए । कुशल मल्लको बलिङमा एलबी डब्लुको धरापमा पर्दै पवेलियन फर्किए । भिरन्दिप सिंहले २४ रन जोडे । ५० बल खेलेका सिंहले ३ चौका हिर्काएका थिए । अविनाश बोहोराको बलमा पारस खड्काले क्याच आउट गरे । कुशल मल्लले ८.२ ओभर बलिङ गर्दै ३८ रन खर्चिएर २ विकेट लिएका थिए । गत शनिबार कास्की ११ लाई मैत्रीपूर्ण खेलमा सहज पराजित गरेको मलेसिया ११ सोमबार पोखरा रंगशाला क्रिकेट मैदानमा नेपाल क्रिकेट संघ(क्यान) बोर्ड ११ सँग १ सय ३५ रनको फराकिलो हार व्यहारेको हो ।





