आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

कुकाठ मासेर उत्पादन बढाउने अभियान

कुकाठ मासेर उत्पादन बढाउने अभियान


  • Dhorpatan News
  • माघ ७ २०७६, मंगलबार

बागलुङ,७ माघ – जैमिनी नगरपालिकाले एक साता अघि रुख बिरुवा काट्ने अभियान थाल्यो । नगरपालिकाले सूचना जारी गरेर घर वरिपरिको रुख नहाईएमा जवरजस्ती हटाएर खर्च भराउने समेतको चेतावनी दिएको छ ।

बर्षौ लगाएर हुर्काएका बिरुवा हटाउने निर्णय गर्नु राम्रो नहुन सक्छ । तर दैनिक जीवनमा आइपरेका समस्या र उत्पादनमा परेको असरले यो निर्णय लिन बाध्य भएको नगरपालिकाले जनाएको छ । यस्तै अभियान बागलुङ नगरपालिकामा पनि चलेको छ । नगरपालिकाको बलेवा खण्डमा ठूलै लहर आयो । घरको १० मीटर वरिपरि रुखै नराख्ने भन्ने सम्म लहर चल्यो । त्यो अभियानले पूर्णता भने पाईसकेको छैन ।

पछिल्लो समय मालिका, भान्सा, सिम, कालीमाटी तर्फ पनि यो अभियान चलेको छ । रुख काट्ने अभियानलाई कतिपयले टिकाटिप्पणी पनि गरेका छन् । तर उत्पादकत्व बढाउने र सामाजिक सुरक्षाका लागि यो उपयोगी भएको भन्नेहरु पनि छन् । ‘खेतीपाती त भएन, जंगली जनाबरको पनि डर भयो’ बागलुङ नगरपालिका ५ का अध्यक्ष शिवप्रसाद सापकोटाले भने, ‘अहिले रुख काटेर खेती लगाउने, झाडी पन्छाएर सुरक्षित बन्ने काम थालिएको छ ।’ झाडी फाँड्दा कृषि उत्पादकत्व बढ्न थालेको समेत उनले बताए ।

दुइ साता अघि बागलुङको धौलागिरी बहुमुखी क्यामपसमा रुख काटेको बिषयले ठूलै बहस चलायो । रुख काटेर वन कार्यालयको मुद्दा खेप्ने कुरामा क्याम्पस प्रशासन तयार रहेको हो की भन्ने टिप्पणीपनि भए । बागलुङ नगरपालिका वडा नं. १४ मा हवाइजहाज चलाउने निहुँमा साँढे तीनसय सल्लाको रुख काटेपछि स्थानीयले झमेला खेपेको धेरै भएकै छैन । तरपनि रुख काट्ने अभियानले जतासुकै तयारी भएको छ ।

कुनै बेला रुख रोपौ हरियाली बढाऔं भन्ने नारा लगाएर संरक्षणको अभियान गरिन्थ्यो । अहिले ग्रामीण बस्तीमा हरियाली मात्र होइन, झाडी बढेको भन्दै एकाएक किन झाडी फाँड्ने अभियान आयो ? यसमा अधिकांसको मत मिलेको छ । झाडीको कारण चितुवा, बाँदर र अन्य जंगली जनाबरको बिगबिगी बढ्यो । बलेवा क्षेत्रमा अघिल्ला बर्ष चितुवाको आतंक मच्चिएको थियो ।
यो कुरा वन कार्यालय भने सुन्न तयार छैन । ‘जनताको खेतबारीको उत्पादकत्व घटेको, दैनिक जीवन असुरक्षित भएको बिषयमा वन कार्यालयले चासो राखेको पाईएन’ धौलागिरी अञ्चल अस्पतालका अध्यक्ष केबी राना मगरले भने, ‘मुद्दा परे म खेप्छु भनेर अस्पताल सफाई गरियो ।’ यस अघि मुद्दा पर्ने डरले अस्पताल झाडी बनेको उनले टिप्पणी गरे ।

‘हरियो वन नेपालको धन’ भन्ने नारा महत्वको भएपनि कुकाठका बिरुवा हुर्काएर फाइदा नभएको क्याम्पस प्रमुख रामप्रसाद उपाध्यायको मत छ । ‘नियम अनुसार सल्लाको रुक कटान गरेर सफा पार्न खोज्दा सालका रुख काटियो पनि भन्नेहरु आए’ उपाध्यायले भने, ‘सरसफाई गरेर क्याम्पसलाई राम्रो बनाउन खोजेको हो ।’
काठेखोला गाउँपालिकाले पनि काठ नहुने अग्ला रुखहरु फाँड्ने अभियान गत बर्षदेखी थालेको छ । ‘उत्पादन नदिने रुख फालेर सुन्तला रोप्ने अभियान चलाएका छौं’ काठेखोला ६ का अध्यक्ष युक्तप्रसाद कंडेलले भने, ‘सुन्तला रोप्दा एउटै रुखबाट बर्षेनी १० हजार फाइदा हुने जग्गा कुकाठले ओगटेको छ ।’ सयौं रुख काटेर हजारौं बिरुवा रोपेको उनले बताए ।

तर जिल्ला वन अधिकृत रोमराज पाण्डे भने व्यक्तिकै जग्गा भएपनि एकैपटक धेरे रुख काट्ने बिषय राम्रो नभएको बताउँछन् । उनले पर्यावरण बिगार्दा बाढी पहिरो निम्तने खतरा बारे सचेत बन्न नसकेको बताए । ‘व्यक्तिले आफ्नो जमिन भित्रको रुख काटेर आफ्नै खपत गर्छ भने केही फरक परेन, तर बिक्री गर्दा अनुमति लिने र १३ प्रतिशत भ्याट र १ दशमलब ५ प्रतिशत बिक्री कर तिर्नुपर्छ’ पाण्डेले भने, ‘बिकासका लागि बिरोधी बन्न खोजेका भने होइनौं ।’ अनुत्पादक रुख काटेर सुन्तला लगाउँदा दोब्बर फाइदा हुन्छ भने त्यस्ता काममा अबरोध नगर्ने उनले बताए । चौतारो तथा बर पिपल संरक्षण सम्बन्धी ऐनले स्थानीय तहलाई अधिकार दिएको उनले बताए । ‘उक्त ऐन अनुसार स्थानीय तहले संरक्षणमा लाग्नुपर्नेमा फडानीमा लाग्नु भयो भने राम्रो भएन’ उनले भने, ‘जनप्रतिनिधि बिरुद्ध हामी लड्न पनि सक्दैनौ, लड्ने कुरा पनि भएन ।’ सार्वजनिक क्षेत्रको रुख काट्ने र बिक्री गर्ने सन्दर्भमा वन कार्यालयको अनुमति लिनुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->