बागलुङ, ८ माघ – बैंक तथा बित्तीय संस्थाहरुले सदरमुकाम तथा शहर बाहिरका जग्गा धितो लिन नमानेका कारण कृषि कर्जा पाउन समस्या भएको किसानले गुनासो गरेका छन् । कृषि तथा साना उद्यमकालागि कर्जा लिन प्रकृया पु¥याएर बैंक तथा बित्तीय संस्थामा गएपनि बजार बाहिरको जग्गा धितोमा लिन आनाकानी गरेपछि मर्कामा परेको किसानले बताए ।
बागलुङ नगरपालिका–८ सिगानाका किसान रेशम थापाले गाउँको जग्गा देखाएर ऋण नपाएको गुनासो गरे । ‘कृषि फर्म दर्ता छ, आठ सय सुन्तलाका बिरुवा गनेर पु¥यादिन सक्छु, झण्डै ३ हजार अट्ने कुखुरा खोर छन्’ किसान थापाले भने ‘सबै प्रकृया पुरा गरेर बैंकमा जाँदा धितो खोज्यो धितोको जग्गा हेर्नै गएनन् ।’ बागलुङकै ताराखोलामा व्यवसाय सञ्चालन गर्दै आएका सिगानाकै अर्का किसान सरोज गौतमले पनि बैंकहरुले गाउँमा सञ्चालनमा रहेका व्यवसाय र गाउँका जग्गालाई हेर्ने दृष्टिकोण गलत भएको बताए । ‘५० लाख लगानी गरेर मैले कृषि उत्पादन गर्ने तयारीमा छु’ गौतमले भने ‘तर बैंकहरुले हाम्रो धितो गाउँमा चलेको मुल्य भन्दा निकै कम आँकलन गर्छन र ऋण दिन मान्दैनन् ।’ सहुलियपुर्ण कर्जाका लागि व्याज अनुदान सम्बन्धि जानकारी दिन बागलुङ नगरपालिकाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी किसानले यस्तै आक्रोस पोखेका थिए । उनीहरुले सरकारले सहुलियत कर्जामा व्याज अनुदान दिन बनाएको कार्यबिधिमा समेत असन्तुष्टी प्रकट गरे । ‘आम्दानी भएकालाई ऋण दिनु भनेको छ’ गौतमले भने ‘लगानी गरेर प्रतिफल नआउँदै किसान सँग के आम्दानी हुन्छ र देखाउनु ।’ बागलुङ नगरपालिकाका प्रमुख जनकारज पौडेलले किसानहरुलाई बैंक तथा बित्तिय संस्थाहरुले प्रत्साहित गर्नुपर्नेमा जोड दिए । ‘किसान इमान्दार हुन्छन उनीहरुलाई बैंकले विश्वास गर्नुपर्छ’ पौडेलले भने ‘हामी वातावरण बनाउँछौं, बैंकहरु लगानी गरुन किसाने उत्पादन गर्छन ।’
कृषि बिकास बैंक बागलुङका प्रबन्धक बिजयप्रकाश पौडेलले राष्ट्रबैंकले बनाएको बिधि र बैंक तथा बित्तिय संस्थाहरुको नियमका कारण किसानले चाहेको जस्तो सरल कर्जा नपाएको स्विकारे । ‘प्रस्ताव सहित आउनुस भनेका किसान रित्तो हात आउनुहुन्छ’ पौडेलले भने ‘कयौं पटक हामिलेनै प्रस्तावको नमुना सिकाएर बनाउन लगाएका छौं ।’





