आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

संसदमा बुद्ध, बाहिर रावण

संसदमा बुद्ध, बाहिर रावण

मनाङे विरुद्ध किटानी जाहेरी


  • ढोरपाटन संबाददाता
  • माघ ९ २०७६, बिहिबार

पोखरा,९ माघ -पहिलोपटक आयोजित ‘मुख्यमन्त्री कप फुटबल प्रतियोगिता’ लाई नै ओझेलमा पार्नेगरि गण्डकी प्रदेशमा अहिले झापड काण्ड चर्चित बनेको छ । मुख्यमन्त्री कपकै लागि भनेर २० लाख रुपैयाँ सरकारले छुट्याएको छ । अन्य शिर्षक मिलाएर सरकारले थप २० लाख दिँदा यो प्रतियोगितामा गण्डकी सरकारले ४० लाख खर्चिनेछ ।
तर, ४० लाखको प्रतियोगितालाई सत्तारुढ दल नेकपाकै सांसद राजीव गुरुङ (दीपक मनाङे) को झापट काण्डले छायाँमा पारिदियो ।
मंगलबार प्रतियोगिता उद्धाटन हुने कार्यक्रम तय थियो, उद्धाटन गर्ने व्यक्ति थिए प्रदेश सरकार प्रमुख मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ । १ बजे उद्धाटन कार्यक्रम भनिएतापनि मुख्यमन्त्री स्याङजा गएका कारणले केही ढिलाई भयो, त्यही ढिलाईका बिचमा झापट काण्ड घट्न पुग्यो ।
प्रतियोगिता सञ्चालन भइरहेको स्थान लेखनाथको भण्डारढिकमा गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) ले आयोजक एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई मंगलबार उद्धाटन हुनुपूर्व तीन झापड हाने । मनाङेले सहर्ष यसलाई स्विकार्छन्, र भन्छन्, “मैले हातपात गरेको होइन, झापट हानेका हो ।”
प्रदेशस्तरीय प्रतियोगिता भएतापनि आयोजकले मनाङका खेलाडीलाई समयमा सूचना नदिएको, नियमानुसार वन डे विफोर र वन डे आफ्टर पाउने सुविधा, अभ्यास मैदान उपलब्ध नगराएको, यातायातको व्यवस्थापन नगरिदिएको विषयमा मनाङे क्रुद्ध बनेका थिए । र, मनाङेको निसानामा मंगलबार एन्फा कास्कीका अध्यक्ष गुरुङ परे ।
झापट हानेपछि मनाङेले प्रतिक्रिया दिएका थिए, ‘खासमा मैले हान्न खोजेको एन्फा केन्द्रिय अध्यक्ष कर्माछिरिङ शेर्पालाई हो ।’
त्यतिबेला एन्फा अध्यक्ष गुरुङले अतिथी भनेर बोलाएका कारण र सांसद भएका कारण मान राखिदिएको भनेर उस्तै खालको प्रतिक्रिया दिए । उनी यतिमा मात्र रोकिएनन, सुरक्षाको निवेदन लिएर बुधबार जिल्ला प्रहरी कार्यालयमा जाहेरी पनि दिए ।
जाहेरी दिनुपूर्व उनले पत्रकार सम्मेलन गरेर आफू संयमित नभएको भए प्रदेशकै पहिलो मुख्यमन्त्री कप फुटबल प्रतियोगिता नै रोकिने बताएका थिए । उनको भनाई थियो, “मैले गण्डकी प्रदेश सरकारले आयोजना गरेको कार्यक्रमलाई सफल बनाउनेछु, म पनि वादविवादमा उत्रेको भए, ऊ (मनाङे) र मेरो बिचमा केही फरक हुने थिएन, म संयमित भएँ, सांसदको मान राखिदिएँ ।”
संसदका बुद्ध
राजीव गुरुङ उर्फ दीपक मनाङे सांसद बन्नुपूर्वको पाटो छुट्टै छ । माननीयको हैसियत पाउनुअघि उनको छवि अर्कै थियो । कुनै समय गुण्डा नाइकेको परिचय बनाएका मनाङे राजनीतिमा प्रवेश गरेर ०७४ को प्रदेशसभा निर्वाचनबाट विजयी समेत भए ।
चुनावताका उम्मेदवार छनोटको क्रममा तत्कालीन नेकपा एमालेले मनाङेलाई उठाउने विषयमा चर्को विरोध भएपछि मनाङेले त्यतिबेला दलीय उम्मेदवार बन्न पाएनन् । उनी स्वतन्त्र नै लडे, तत्कालीन एमालेले आफ्नो आधिकारिक उम्मेदवारको मनोनयन फिर्ता गरायो र ब्याकफोर्स दिएर मनाङेलाई जिताएको थियो ।
तर, निर्वाचित भएपनि तत्कालै माननीय बन्न भने पाएनन् ।
कारण उनको विगत थियो । वि. सं. २०६१ सालमा अर्का गुण्डा नाइके चक्रे मिलनलाई खुकुरी प्रहार गरेको अभियोगमा उनलाई सरकारले ज्यान मार्ने उद्योगमा मुद्दा चलाएको थियो ।
२०७५ वैशाखमा पक्राउ परि जेलचलान भएका मनाङे पुषको पहिलो साता थुनामुक्त भए । त्यसको हप्तापछि नै उनले प्रदेशसभामा सपथग्रहणको लागि निवेदन दिएका थिए ।
सुरुमा सपथ नखुवाउने मनस्थितीमा पुगेका सभामुख नेत्रनाथ अधिकारीले पछि मनाङेसँग भेटवार्ता गरेपछि माघ १४ मा बल्ल माननीयको हैसियत पाएका थिए ।
त्यसको भोलिपल्टै मनाङे विहारी गाडी लिएर संसदमा छिरेका थिए ।
त्यसयता गण्डकी सरकारले दुइ अधिवेशन सकिसकेको छ । चालु आर्थिक वर्षको बजेट अधिवेशनपछि अहिले हिउँदे अधिवेशन चलिरहेको छ ।
अहिलेसम्मको संसदको बजेट अधिवेशन देखि लिएर, हिउँदे अधिवेशन, शून्य र विशेष समयमा मनाङेले बोलेको रेकर्ड छैन ।
तर, दुई अधिवेशन सकिइसक्दा पनि संसदमा एकपटक पनि नबोलेर बुद्ध बनेका मनाङेले मंगलबार मुख्यमन्त्री कपमा रावण रुप देखाए ।
अनि बुधबारको पत्रकार सम्मेलनमा भने, “तपाईंहरु गान्धीतिरको हुनुहुँदोहेछ । म चााहिँ रावणतिर परें ।”
२०७५ माघ १४ गते सभामुख नेत्रनाथ अधिकारीबाट उनले सांसदको सपथ खाएका हुन् । उनलाई गत असार १९ मा नेकपा प्रदेश इन्चार्ज तथा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पार्टीमा भित्र्याएका थिए ।
मनाङे विरुद्ध किटानी जाहेरी
बुधबारको पत्रकार सम्मेलनमा मनाङे केही नरम देखिएका थिए । मिलन गुरुङको झापडलाई उनले कर्माछिरिङतर्फ डाईभर्ट गरे र भने, ‘मिलन गुरुङ मेरो भाइजस्तो मान्छे हो ।’
तर, मिलन गुरुङले भने बुधबार जिल्ला प्रहरी कार्यालयमा पुगेरै मनाङेविरुद्ध किटानी जाहेरी दिएका छन् ।
पीडित गुरुङले मुलुकी फौजदारी संहिता २०७४ को दफा ११८ विपरितको कशुर हुँदा निजलाई ठाडै पक्राउ गरी प्रचलित कानुन अनुसार हदैसम्मको सजाय गरी पाउँ भनीनिवेदन दिएका हुन् । प्रहरीले मनाङेलाई पक्राउ गर्छ त ? कास्की प्रहरी प्रवक्ता राजकुमार केसीले भने, “अनुसन्धान गर्दै जाने हो, अहिले नै पूर्वानुमान गर्न मिल्दैन ।”
पीडित गुरुङले जाहेरी दिनुपूर्वको पत्रकार सम्मेलनमा शान्ति सुरक्षा, सार्वजनिक स्थलमा हातपात गरेको, विभिन्न आरोपहरु लगाएर आफनो चरित्र हत्या गर्ने काम गरेको र आफनो जिउ धनको सुरक्षा हुनुपर्ने बताएका थिए ।
अनुसन्धानको क्रममा आवश्यक परेका कदम उठाउने प्रहरीले जनाएको छ ।
“किटानी जाहेरी परेको छ, उहाँको विरुद्धमा चाहिँ जाहेरी दरखास्त परेर अनुसन्धान सुरु गरेका छौँ, अनुसन्धान प्रक्रिया कानूनी व्यवस्था अनुसार नै गर्नेछौँ ।” प्रवक्ता केसीले भने ।
मिलन गुरुङ विरुद्ध पनि जाहेरीका चाङ
एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङको बारेमा यसअघि विवादास्पद समाचार सार्वजनिक भएका छन् । बुधबार जिल्ला प्रहरी कार्यालय कास्कीमा मनाङे विरुद्ध किटानी जाहेरी दिएका गुरुङकै विरुद्धमा सोही कार्यालयमा अर्को जाहेरी पनि परेको छ ।
उनले ज्यानको सुरक्षा माग गरेजस्तै उनीविरुद्ध पनि पोखरा क्रियटिभ अवार्ड हाउसका सञ्चालक रामकृष्ण पौडेलले उजुरी दिएका छन् ।
पौडेललाई उनले ४÷५ वर्ष पहिलेदेखिको बक्यौता रकम पनि दिएका छैनन् । पौडेललाई धम्क्याउँदै गुरुङले ढुंगा ताकेको सिसीटिभी फुटेज पनि सार्वजनिक भएको छ । यस्तै, गुरुङले आफूहरुलाई अवार्ड हाउसले ठगेको र उल्टै ४ लाख रुपैयाँ फिर्ता पाउनुपर्ने दाबी समेत गरेका छन् ।
यस विषयमा अवार्ड हाउसका सञ्चालक पौडेलसँग कुराकानी गर्दा गुरुङले उधारो नतिरेसम्म काम गर्न सक्दिन भनेपछि हातपातमा उत्रेको बताए । त्यसपछि पौडेलले जिप्रकामा सिसीटिभी फुटेज सहित हातपातको उजुरी दिएका छन् ।
पौडेलको उजुरीको विषयमा प्रहरीले अनुसन्धानकै क्रममा रहेको जानकारी दिएको छ ।
कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले गुरुङको विरुद्धमा लिखित मुद्धा परेको तर जाहेरीको फम्र्याटमा भने नआएको बताए । “उहाँले सुरक्षा भन्दा पनि हात हाल्यो, धक्का दियो भनेर मुद्धा आएको छ ।” उनले भने ।
मिलन गुरुङविरुद्ध चेक बाउन्सको आरोप
पत्रकार सम्मेलनमा मनाङेले मिलन गुरुङले बाउन्स चेक दिएर ठगी गरेको आरोप लगाए । उनले सार्वजनिक गरेको चेकको फोटोकपी ओम गौरा जोस्टल होटेलको नाममा छ । एसि पे चेकमा २ लाख रुपैयाँ मिलन गुरुङको नाममा उल्लेख गरिएको छ । गएको असोज १३ गतेको यो चेक बाउन्स भएको भन्दै मनाङेले ठगी गरेको आरोप लगाए ।
यस विषयमा होटेलका सञ्चालक हरिभक्त आचार्यसँग सम्पर्क गर्दा उनले पनि रित्तो चेक दिएको बताए । पोखरामा खेलाइएका साग खेलमध्ये नेपाली फुटबल टिमका खेलाडीदेखि प्रशिक्षक, व्यवस्थापक सबै सोही होटेलमा बसेका थिए । खेल सकियो, तर अहिलेसम्म रकम नपाएको आचार्यले बताए ।
४ दिनसम्म बसेका हुन् ।
“बाउन्स चेक हो, चेक लिएर बैंकमा जाँदा पैसा रहेनछ, मैले कुरिराखेँ, साह्रै नै भयो, ६ महिना हुन लागिसक्यो, २ लाखको चेक हो, ७÷८ हजार अझ छुट्टै छ । फोन गर्दा २÷३ पटकसम्म म आउँछु पनि भन्यो तर आएन, अहिले सम्पर्कमा पनि छैन् ।” उनले भने ।
रकम नदिएपछि उनी उजुरी दिने मनसायमा छन् ।
“मैले अहिलेसम्म उजुरी दिएको छैन्, अब बहसमा आइसक्यो, पैसा नदिएपछि उजुरी त दिनुप¥यो, मैले अकाउण्टेण्टलाई भनेको छु ।” आचार्यले भने ।
यसबाहेक गुरुङले साग गेममा प्रदेश सांसद तथा विधायन समितिका सभापति मोहनप्रसाद रेग्मीसँग विवाद गरेको भिडियो पनि सार्वजनिक भएको थियो। यस्तै, सोही खेलमा नै स्वयंसेवकहरुलाई अपशब्द प्रयोग गरेपछि वादविवादको स्थिती समेत सार्वजनिक भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->