आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

‘आंशिक भन्दै जस्केलाबाट छिर्ने अनि करार माग्ने ?’

‘आंशिक भन्दै जस्केलाबाट छिर्ने अनि करार माग्ने ?’

पृथ्वीनारायण क्याम्पसका आंशिक प्राध्यापकको आन्दोलन


  • ढोरपाटन संबाददाता
  • माघ १९ २०७६, आइतबार

पोखरा,१९ माघ – २०७० सालतिरको कुरा हो । पृथ्वीनारायण क्याम्पसका म्यानेजमेण्टतर्फका सहायक क्याम्पस प्रमुखले थप प्राध्यापकको माग गरे । सेक्सनहरु थपिएपछि शिक्षक माग्नु नाजायज थिएन । तर, भइदियो के भने, एकजना प्राध्यापक ‘ज्यालादारी(श्रेणीविहीन)’ मा राख्ने भनिएकोमा १६ जना भर्ना गरियो ।
विभिन्न राजनीतिक पार्टीको सिफारिस, सहायक क्याम्पस प्रमुख र विद्यार्थी संगठनहरुको सहमतिमा उनीहरु देशकै ठूलो पृथ्वीनारायण क्याम्पसको प्राध्यापक बने । उनीहरुको ‘फुली’ बढ्यो । पृथ्वीनारायण क्याम्पसमा पढाउने प्राध्यापक भएको भन्दै उनीहरुले अन्य प्राइभेट कलेजहरुमा जाँदा आफ्नो भाउ बढाउन पाए । अर्को एक दुईजना प्राध्यापक मागिएकोमा ८ जना भर्ना गरियो । किनकि, छैठौँ नम्बरमा नाम निकाल्ने क्याम्पसकी हर्ताकर्ताकी बुहारी थिइन् ।
यी त उदाहरण मात्रै हुन्, आवश्यकताभन्दा पनि भागबण्डामा यसरी ज्यालादारीमा राखिएका शिक्षकहरुलाई क्याम्पसले वार्षिक झण्डै ४ करोड रुपैयाँ तिर्छ । उनीहरुले एक पिरियड पढाएवापत ३ सय रुपैयाँ पाउँछन् । क्याम्पसमा अहिले २ सय १८ जना श्रेणीविहीन प्राध्यापक छन् । उनीहरु यतिबेला आफ्नो श्रम शोषण भएको भन्दै आन्दोलन गरिरहेका छन् । उनीहरुको आन्दोलनकै कारण क्याम्पसको पठनपाठन ठप्प छ । क्याम्पसमा करारसहितका ३ सय २० जना स्थायी प्राध्यापक छन् । नियमानुसार प्राध्यापकहरुले स्नातकको हप्तामा १५ र स्नातकोत्तरको हप्तामा १२ वटा कक्षा लिनुपर्छ ।
तर, पृथ्वीनारायण क्याम्पस स्रोत भन्छ,‘आफूमाथि भारबहनको त कुरै छाडौँ, नेता प्राध्यापकहरु त एउटा कक्षा पनि लिँदैनन्, उनीहरु विभिन्न बहानामा बाहिरै बस्छन् ।’ अझ कतिसम्म भने, आफ्नो मान्छेलाई आंशिकमा कक्षा दिनकै लागि पनि उनीहरु विभिन्न बहाना बनाउँछन् । ‘क्याम्पसको दिउसोक कक्षामा लोड राख्ने घाम ताप्नेहरु गनिसाध्य छैन’, स्रोतले भन्यो,‘ डेमा विए र विविएसको तेस्रो र चौथो वर्षको क्लास खासै चल्दैनन् । ग्रामीण विकास, आमसंचार,विविए र विएमा केही टिचर चाहिने हो । तर, भएकाले नै लोड लिने हो भने केही चाहिँदैन ।’
क्याम्पसका पूर्वक्याम्पस प्रमुख डा. गेहेन्द्रेश्वर कोइराला पनि यो भनाईमा सहमत छन् । उनका अनुसार क्याम्पसमा पहिले आइए, बिएको मात्रै क्लास हुन्थ्यो । कर्मस आएकै थिएन । त्यो बेलाको पढाई त्यस्तै हुँदा मानविकीका प्राध्यापक बढी थिए । ७५ प्रतिशतसम्म दरबन्दी मानविकीको नै हुन्थ्यो । अहिले मानविकीमा विद्यार्थी घटेका छन् । कल्चरमा घट्यो । मानविकीका विद्यार्थी अन्यत्र गए । मानविकीमा दरबन्दी भएकाहरु दिउसोको दरबन्दीबाट टसमस हुन मानेनन् ।
‘१४ वर्षसम्म मानविकीको क्लास नै भएन, टिचरको दरबन्दी दिउसो नै थियो’, उनले भने,‘ त्यही दरबन्दी बिहान प्रयोग गर्न सकिन्थ्यो । रिभ्यु नै गरिएन ।’
उनले आंशिक शिक्षक राख्नु नै नीतिगत रुपले भयंकर गलत भएको जिकिर गरे । उनका अनुसार त्रिभुवन विश्वविद्यालयले विभिन्न विषयहरुको क्लास स्वीकृत गर्दा नै ‘आर्थिक दायित्व नलिनेगरि स्वीकृत गरिएको छ’ भन्ने वाक्याशं राखेर आफू दायित्वबाट पर भागेको जिकिर गरे ।
पृथ्वीनारायण क्याम्पस आंगिक क्याम्पस हैन र ?’, उनले प्रश्न गरे,‘ कुनै पनि कुराको गैरजिम्मेवार कुरो गर्न पाइँदैन । यसमा टियु र आंशिक प्राध्यापकको पनि गल्ती हो ।’ उनका अनुसार आंशिक प्राध्यापकहरुलाई आंशिककै रुपमा नियुक्ति दिएको हो । उनीहरुले हस्ताक्षर नै त्यही कामको लागि भनेर गरेको छन् । आंशिकमा आएकाले नैतिक रुपमा मलाई करार बनाऊ भन्दै बोल्ने ठाउँ छैन । ‘तर, त्यसरी ब्याख्या गर्न हुँदैन । उसको क्याम्पस छिरेपछि केही पाइएला भन्ने आश हो । उसको विवशता होला’, उनले भने,‘कमजोरीको फाइदा कसैले लिनुहुँदैन । आफूले काममा लगाएका शिक्षकको भलाईको कुरा गरिएन ।’ टियुले नै आंशिक शिक्षकहरु लिएर कलेज चलाउँछु भन्नु नै गलत भएको उनले जिकिर गरे । पुराना कुरा सम्झँदै उनले भने,‘पिचएडी गर्न जाँदा अर्को मान्छेको व्यवस्था गरेर पिएचडी गर्न पठाइन्थ्यो । अहिले आफ्ना मान्छे भयो भने जे भयो भन्ने कुरो आयो । आफ्नो मान्छे आएपछि जसरी पनि भर्ना गरिनु गलत हो ।’
अहिले क्याम्पसमा झण्डै १० हजार विद्यार्थी पढ्दैछन् । कलेजले विभिन्न १९ वटा विषयमा डिग्रीको क्लास चलाउँछ । आंशिक प्राध्यापकहरुको आन्दोलनको व्यवस्थापन कसरी त भन्ने प्रश्न गर्नको लागि क्याम्पस प्रमुख चन्द्रबहादुर थापाको मोवाइलमा सम्पर्क गर्दा दुईपटकसम्म उनले फोन काटे । सायद, शनिबार भएर पो हो कि ?
तर, स्रोत भन्छ,‘जस्केलाबाट छिरेकाहरुको आन्दोलन व्यवस्थापन पनि नगर्ने अनि आफूसँग भएका प्राध्यापकहरुले जिम्मेवारी पूरा नगर्दा कारबाही पनि गर्न नसकी रुञ्चेस्वरले कुरा गर्दा नै समस्या बल्झिएको हो ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->