बागलुङ, २० माघ – ताराखोला गाउँपालिकाले जिल्लामै पहिलो पटक आवधिक योजना बनाएको छ । आगामी ५ बर्षभित्र गर्ने बिकास निर्माणको कामको योजनासहित बजेट समेतको अनुमानित योजना बनाएको हो । गाउँपालिकालाई उज्यालो गाउँपालिका बनाउने, युवाहरुलाई रोजगार दिने र आयात ठप्पै पारेर यहाँ उत्पादित सामानको निर्यात बढाउने गरी आवधिक योजना बनाइएको अध्यक्ष प्रकाश घर्तीले बताए । उनका अनुसार ताराखोलामा अहिले पनि एकसय २४ साना उद्योग छन् । ती उद्योगको संख्या दोब्बर बनाएर झण्डै ५ हजार युवा रोजगार बनाउने लक्ष पनि राखिएको छ ।
शिक्षा र स्वास्थ्य क्षेत्रमा बढी लगानी गरेर सबै स्वास्थ्य संस्थामा बर्थिङ सेन्टर संचालन गर्ने, सबै बिद्यालयमा इन्टरनेटसहित सुबिधा सम्पन्न भवन र प्राविधिक एवं अंग्रेजी माध्यमको शिक्षा दिने लक्ष समावेश छ । गरिबी मुक्त गाउँपालिका बनाउने लक्ष्यसहित आगामी दुइ बर्षभित्रै उज्यालो गाउँपालिका बनाउने तयारी छ । निजी क्षेत्रलाई बिद्युत उत्पादनमा आब्हान गरिएको घर्तीले बताए । पाँच बर्षभित्र सबै वडामा पक्की सडक बनाउने योजनाका लागि समेत बजेट व्यवस्थापन भएको छ । त्यसका लागि १ अर्ब ५० करोड खर्च लाग्ने अनुमान छ ।
ग्रामीण सडक स्तरीय बनाउने र गलकोटदेखि ताराखोला र रिजालचोक तर्फको सडक कालोपत्रे गर्ने गाउँपालिकाको लक्ष छ । रिजालचोक तर्फको सडकलाई सहिद मार्गको रुपमा समेत चित्रण गरिएको छ । यी दुवै सडक कालोपत्रे भएमा ताराखोलाको चक्रपथकै स्वरुप लिनेछ । गलकोट तर्फको सडक कालोपत्रे र स्तरोन्नतीका लागि चालु बर्ष ४० करोड रुपैयाँ बिनियोजन छ । गण्डकी प्रदेशको लगानीमा १२ किमी कालोपत्रे गर्न काम सुरु भएको हो । समपुरक कोष, प्रदेश सरकारको लगानी तथा संघिय सरकारबाट अनुदान समेत चालु बर्षका लागि ४५ करोडको डिपिआर बनेको घर्तीले बताए । हरेक बिद्यालयमा इन्टरनेट जडानका लागि गाउँपालिकाले २० लाख रकम बिनियोजन गरेर काम पनि थालेको छ । सबै बिद्यालयमा स्वच्छ खानेपानी पु¥याउने लक्ष पुरा गर्न १ करोड २५ लाख रुपैयाँ रकम बिनियोजन भएको हो । गाउँपालिकाले बिज्ञ सहितको टोली झिकाएर आवधिक योजना बनाएको हो ।
पर्यटन प्रवद्र्धनका लागि गाउँपालिकाले प्राथमिकता दिएको छ । त्यसका लागि पहिलो पटक गाईघाट झरनाको प्रर्वद्धनको काम भएको छ । हाल टिकटै काटेर हेर्ने व्यवस्था गरिएको गाईघाटलाई थप व्यवस्थापन गर्ने लक्ष छ । मन्दिर र धार्मिक सम्पदाको संरक्षण गर्ने, डुडेलेक, घुम्टेलेक, कालीलेक र मालिङगेलेकमा पार्क बनाएर पर्यटक लैजाने कार्यक्रम योजनामा समावेश छ । चालु बर्षदेखि नै यहाँको अर्गलमा किकल्टा होमस्टे, करिमेलामा सामुदायिक ट्राउट होमस्टे संचालनमा आइसकेको छ ।
३५ करोड रुपैयाँ पर्यटन क्षेत्रमा खर्चने लक्ष योजनामा छ । ताराखोलामा संचालन भएका अल्लो धागोलाई थप व्यवसायिक बनाउने, माछापालनमा जोड दिने र कृषि तर्फका अन्य फर्ममा पनि लगानी बढाउने गरी नीति बनाइएको प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले बताए । निर्माण सामाग्री, खाद्यान्न बस्तु, दुध, माछा, मासु, अण्डा लगायतका बस्तुलाई प्राथमिकताका साथ उत्पादन बढाउने लक्ष छ । हरेक सहकारीमा एकएक बस्तु उत्पादन गर्न लगाउने र गाउँपालिकाले अनुदान गर्ने नीति बनाइएको छ । ताराखोला आलु उत्पादनको मुख्य क्षेत्र हो । आलु जोनमा समावेश यहाँ भण्डारन केन्द्र बनाउने तयारी छ ।
योजनामा सिंचाईलाई २ करोड, कृषितर्फ हरेक बर्ष दुई÷दुई करोड र भण्डारन केन्द्रहरुका लागि पूर्वाधार तर्फको बजेट छुट्टै लगानी हुनेछ । अचारको रुपमा प्रयोग हुने भाँगोको अधिकांस उत्पादन यही हुन्छ । अन्न र कृषि उत्पादनमा गाउँपालिका आत्मनिर्भर बन्न सक्ने उनले बताए । यहाँ किबी, भुइ स्याउ, गेडागुडी, अलैची, अदुवा, सिमी, भट्ट र टिमुरको समेत व्यवसायिक खेती हुन्छ । आगामी ३ बर्षभित्र सबै बिद्यालयमा शिक्षक दरबन्दीले पूर्णता पाएको हुने घर्तीले बताए । सबै वडामा एक÷एक वटा नमूना बिद्यालय संचालन हुनेछन् । ती बिदालयमा आवासीय हुनेछन् । बालबालिकालाई आबासमा राखेर पढाउँदा उपलब्धी बढ्ने वडा नं. १ का अध्यक्ष यमबहादुर श्रीषले बताए । हरेक बिद्यालयमा दिवा खाजाको व्यवस्था गर्ने, पारदर्शीता र नियमित अनुगन तथा निरीक्षण हुने व्यवस्था मिलाइने शर्माले बताए ।





