बागलुङ,२० माघ – ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ले ढोरपाटन उपत्यकामा निर्माण हुने ७२१ मेगावाट क्षमताको उत्तरगंगा जलाशययुक्त जलविद्युत् आयोजनास्थलको निरिक्षण गरेका छन् । बागलुङका प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेल र रुकुमपूर्वकी प्रतिनिधिसभा सदस्य कमला रोकासहित आएर ऊर्जामन्त्री पुनले सोमबार विहान आयोजनास्थलको निरिक्षण गरेका हुन् ।ढोरपाटन उपत्यकामा बन्ने जलाशययुक्त आयोजनाबाट पानी बाग्लुङतिर खसाल्ने की रुकुमतिर भन्नेमा लामो समयदेखि विवाद थियो । ऊर्जामन्त्री पुनले राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको उत्तरगंगा जलाशययुक्त आयोजनालाई छिटो अगाडि बढाउन चाहेका छन् ।
नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टिमको पछिल्लो अध्ययनले उत्तरगंगा नदिको पानीलाई एक हजार तीन सय ५० मिटर लामो सुरुङमार्गबाट निसीखोलामा खसालेर विद्युत् उत्पादन गर्दा ७२१ मेगावाट विद्युत् उत्पादन हुने र सोही विकल्प उत्तम भएको सुझाव दिएको छ । आयोजनाको अनुमानित लागत एक खर्ब २० अर्ब हुने बताइएको छ ।
यसअघि उत्तरगंगा आयोजना आठ सय २८ मेगावाटको हुने र एक खर्ब ७० अर्ब लागत अनुमान गरिएको थियो । विक्रम् संवत् २०८३ सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको उत्तरगंगा आयोजनाको विद्युत् उत्पादनपछि पानी बाग्लुङतिर खसाल्ने की रुकुमतिर भन्ने विवादका कारण निर्माण प्रक्रिया सुरु हुन सकेको छैन ।
ऊर्जामन्त्री पुनले आयोजना अघि बढाउन स्थानीयहरुसँग निरन्तर छलफल गरिरहेका छन् ।





