मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

सुन्तलाबाट समृद्धि खोज्दै पर्वतको बाँसखर्क गाउँ

सुन्तलाबाट समृद्धि खोज्दै पर्वतको बाँसखर्क गाउँ


  • संजय रेग्मी
  • माघ २१ २०७६, मंगलबार

पर्वत,२१ माघ – सुन्तला उत्पादनमा पकेट क्षेत्र मानिएको पर्वतको जलजला गाउँपालिका १ बाँसखर्कमा यस बर्ष सुन्तलाको उत्पादन बढेपछि कृषहरु कृषिमा झनै हौसिएका छन् ।
यस बर्ष सुन्तलामा रोग र किराको संक्रमण नदेखिएका कारण उत्पादन बढेसँगै आम्दानी पनि बृद्धि भएको सुन्तला उत्पादक कृषकहरुले बताएका छन् । स्थानीय कृषक भुवन पाइजाले अघिल्ला बर्षहरुको तुलनामा यस बर्ष सुन्तला उत्पादनमा बृद्धि भएकाले व्यवसायिक रुपमा सुन्तलाखेती गर्दै आएका प्रत्येक घरले राम्रो आम्दानी गरेको बताए ।
बाँसखर्कभरीमा बढी सुन्तला उत्पादन गर्न सफल कृषकका रूपमा परिचय बनाएका उनले यस वर्ष झण्डै १२ लाख रुपैयाँ बराबरको सुन्तला बिक्री गरे । ‘मलाई विदेश किन जानु प¥यो ? यहीँ सुन फलेको छ मेरा लागि ।’ उनले भने, ‘यस वर्ष पनि झन्डै १२ लाखका सुन्तला बिक्री गरियो ।’ बाँसखर्ककै अर्का सफल सुन्तला उत्पादन हुन जगत खत्री । उनले पनि यस वर्ष भुवनकै हाराहारीमा सुन्तला बिक्री गरेका छन् । विरुवा हुर्काउने बेलामा दुःख गरेपछि सधैँका लागि निरन्तर आम्दानी दिने भएकाले आफूलाई सुन्तला मोहले कहिल्यै पनि नछाडेको उनी बताउँछन् ।
बाँसखर्क सुन्तला उत्पादनका हिसाबले पर्वत जिल्लासहित अन्य छिमेकी जिल्लामा पनि उत्तिकै चर्चामा छ । यही कारण पनि अन्य ठाउँको भन्दा बाँसखर्कको सुन्तलाको माग बढी हुन्छ, सामान्यतः अन्य ठाउँको भन्दा केही बढी मूल्य पनि पर्छ । ढिलो समयसम्म पनि बोटमा रहने मीठो स्वाद भएका कारण बाँसखर्कको सुन्तलाको माग बजारमा बढी हुने गरेको छ । वर्षौँ पहिलेदेखि सुन्तला खेतीबाट आम्दानी गरेर जीविका चलाउँदै आएका बाँसखर्कवासीहरूको अहिलेको रोजीरोटी पनि सुन्तलाले नै धानेको छ । हरेक वर्ष एकैघरबाट लाखौँ रुपैयाँ सुन्तला बिक्री हुने गरेको बनौँमा अहिलेको ‘सिजन’ मा गाउँभरबाट झन्डै ४ करोडको सुन्तला उत्पादन भएको छ । ढिलोसम्म बोटमा रहेका कारण यस वर्ष बोटबाटै प्रति किलो १ सय २० रुपैयाँसम्ममा बिक्री गर्न सकिएको कृषकहरू बताउँछन् । यो वर्ष सुन्तलामा रोग र किराको आक्रमण पनि खासै नभएका कारण सुन्तला उत्पादन राम्रो भएको र बजार पनि राम्रो पाएका कारण आम्दानी बढेको अर्का कृषक जगत खत्री बतउँछन् ।
बाँसखर्कको सुन्तला म्याग्दीको बेनी, बागलुङ, कुस्मा, पोखरा, चितवनसम्म पनि पुग्ने गरेको छ । सुन्तलाको व्यवस्थित बजारीकरण गर्न किसानकै अग्रसरतामा सुन्तला उत्पादन तथा बिक्री गर्न बजारमा सुन्तला उत्पादन सहकारीसमेत सञ्चालन गरिएको छ । गाउँभरी सुन्तला खेती वडाध्यक्ष तुलसीराम रेग्मीका अनुसार वडामा २ सय ६१ घरहरू रहेकोमा २ सयभन्दा बढी घरहरूले सुन्तला खेती गर्दै आएका छन् । सहकारीमार्फत गाउँमा नै ‘कोल्ड स्टोर’ निर्माण गरिएका कारण लामो समय बोटमै राखिएका सुन्तला टिपेर थप लामो समय भण्डारण गर्न सकिने उनको भनाइ छ । सुन्तला उत्पादनमा वृद्धि गर्नका लागि वडाले नै बेला बेलामा सुन्तलामा रोग वा किराको आक्रमण भए वा नभएको भन्ने बारेमा परीक्षण गराउँदै आएको छ ।
यस्तै, सुन्तलामा लाग्ने रोगहरूको सङ्क्रमणबाट जोगाउनको लागि बाँसखर्कमा अन्यत्र ठाउँबाट सुन्तलाका विरुवाहरू आयात गर्न नपाइने भनी वडा कार्यालयले निर्देशन दिएको छ । ‘सुन्तलामा अनौठा रोग लाग्छन् । अलिकति रोगले पनि सुन्तला स्वाहा पारिदिन्छ ।’ वडाध्यक्ष रेग्मीले भने, ‘रोगबाट बचाउनकै लागि बाहिरबाट विरुवा खरिद गर्न नपाउने, आवश्यकताअनुसार गाउँमै विरुवा तयार गर्नुपर्ने नियम राखिएको छ ।’ गाउँमा रहेको कच्ची र जोखिमपूर्ण सडकका कारण भने कृषकहरू समस्यामा पर्दै आएका छन् । सुन्तला गाउँसम्म सडक पुगेको भए पनि बाटो निकै अप्ठ्यारो र जोखिमपूर्ण भएका कारण सुन्तला निर्यातमा समस्या हुने गरेको छ । वडाध्यक्ष रेग्मीका अनुसार कृषकहरूको समस्यालाई बुझेर उक्त बाटोको स्तरोन्नतिको लागि यस पटक ८४ लाख बजेट आएर टेन्डरसमेत भइसकेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->