
बागलुङ,२४ माघ – बिद्यालय तहको कक्षा १ मा भर्ना हुनु अघि बालबालिकालाई मनोबैज्ञानिक रुपमा बिद्यालय जान तयार पार्न काठेखोलाले लगानी गरेको छ ।
कक्षा १ मा पुग्दा बालबालिका पढाईमा अब्बल बनुन् भनेर बालबिकासमै दक्ष र मानसिक रुपमा तयार पारिएको छ । उनीहरुको बसाई व्यवस्थापन, खेलेर सिक्ने वातावरण तयार पार्ने र प्रशासनिक चुस्तता समेत बनाउँदा उपल्लो कक्षामा कम लगानीमा दक्ष बिद्यार्थी बनाउन सकिने भएकोले लगानी गरिएको गाउँपालिका अध्यक्ष अमर थापाले बताए ।
यो अभियानकै क्रममा लेखानीस्थित सरस्वती आधारभूत बिद्यालयले बालबिकास केन्द्र देखि कक्षा ३ सम्मका बालबालिकालाई न्यानो कार्पेटमा बस्ने व्यवस्था गरेको छ । यसरी पढ्न बस्दा बालबालिकाको सिकाई गुणस्तरीय बन्नुको साथै निजी बिद्यालय जाने क्रम घटेको प्रअ दुर्गा गुरुङले बताईन् । बालबिकासपछि सोझै कक्षा १ मा नलगी अर्को तयारी कक्षा पनि संचालन गरिएको छ ।
लेखानी मात्र नभइ काठेखोलाका ११ माबि सहित ५६ बिद्यालय र बालबिकास केन्द्रमा पनि गाउपालिकाले खाजा र स्टेशनरीमा लगानी गरेको छ । बसाई व्यवस्थापनमा लगानी मात्र नभई निर्देशन पनि दिएको थापाले बताए । बालबिकासमा खेलेर सिक्ने व्यवस्था गरिएको छ भने कक्षा १ मा पुगेपछि अंग्रेजी माध्यममा पढाइन्छ । पढाईको तरिकामा सुधार र प्रशासनिक चुस्तता थपिएको छ ।
प्रारम्भिक बाल बिकासको कक्षा सामुदायिक बिद्यालयमा ढाएपछि अधिकांस अभिभावकले कक्षा १ मा भर्ना नगरी निजी बिद्यालयमा पठाएपछि सुधारको काम गर्नु परेको थापाले बताए । ‘बिद्यालय आउने बानी पार्न बालकक्षामा ल्याउने, त्यसपछि निजीमा किन गए भन्ने ठूलो अध्ययनपछि सामुदायिकमै बोर्डिङ सरहको पढाई थाल्यौं’ थापाले भने, ‘कक्षा चढेर मात्र गुणस्तर बन्दैन भन्ने बल्ल बुझ्यौं ।’ गाउ“पालिका र गाउ“शिक्षा समितीको एक बर्षको अध्ययनले यो सुत्र पत्ता लगाएको उनले बताए ।
गत बर्ष १८ लाख खर्चेर ४२ बिद्यालयमा सुधारको काम थालिएको थियो । उक्त प्रयास सफल भएपछि चालु बर्ष सबै बिद्यालयमा गुणस्तरीय शिक्षा र कक्षा व्यवस्थापन थालिएको हो । कक्षा व्यवस्थापन थालेपछि शिक्षकको नियमितता, पढाईको बिधि तथा प्रशासनिक चुस्तता समेत अनुगमन गर्न थालिएको हो । ‘गुणस्तर सुधारका दर्जनबढी सूचक बनाएर नियमित अनुगमन थालिएको छ’ गाउ“शिक्षा अधिकारी रामानन्द कंडेलले भने, ‘अहिले शिक्षकको नियमितता र प्रशासनिक सुधार समेत भएको छ ।’ कक्षा कोठामा शिक्षक नभेटिने, चउरमा घाम ताप्ने र बालबालिका पनि धुलो खेलेर बस्ने अबस्था पनि अनुगमनले सुधार ल्याएको उनले बताए । अब बालबिकास र कक्षा ३ सम्मका बालबालिकालाई खाजाको जोहो घरबाट गर्नु पर्दैन ।
गाउँपालिकाले ‘सघन अनुगमन’ भन्ने अभियानै चलाएको छ । एकैबर्षमा त्यसको प्रतिफल पनि देखिन थालेको थापाले बताए । ‘टाढा टाढाका बोर्डिङले पनि बालबालिका टिपेर लैजान थालेका थिए, अहिले अभिभावकले सामुदायिकमै राख्न थाले’ थापाले भने, ‘अभिभावक, शिक्षक र बिद्यार्थीको समेत भेला राखेर वास्तबिकता बुझ्न थालेका छौं ।’ शिक्षकले नपढाएको, अभिभावकले चासो नराखेको वा बिद्यालयको वातावरण मन नपरेर कक्षा छाडेको भन्ने ती भेलाबाट पत्ता पाउन सकिएको उनले बताए । चिसो र धुलो कक्षामा बस्दा बालबालिकाले सिक्न नसकेको, कक्षा कोठाको वातावरण देखेर अभिभावकले बालकक्षापछि अन्यत्र लगेको जस्ता कारण पत्ता लागिसकेको कंडेलले बताए । ‘बाल कक्षामा न्यानो कार्पेट सहितको बसाई व्यवस्थापन, प्रयोगात्मक सिकाई अभ्यास हुनेगर्छ, तर बालकक्षापनि उपल्लो कक्षामा जानै नपरे हुन्थ्यो भन्ने बाल मनोबिज्ञानले निजी जाने धेरै देखिए’ कंडेलले भने, ‘केही सुधार भैसकेको छ, अझै सुधार्ने योजना छ ।’ गाउ“पालिकाले आन्तरिक रुपमा दरबन्दी मिलानको काम पनि थालेको छ । बिद्यार्थी संख्याको आधारमा शिक्षक अनुपात मिलाउन चालु बर्ष लागेपछि दर्जनबढी बिद्यालयमा दरबन्दी मिलान गरिएको हो । साबिकको बिद्यालयबाट तलब खाएर खटाइएको बिद्यालयमा पढाउनुपर्ने व्यवस्था सहित काजमा पठाएपछि गुणस्तर सुधार र अभाव भएका बिद्यालयले शिक्षक कोटा पाएका छन् ।
गाउँपालिकाले स्वास्थ्यचौकीमा गर्भवती जा“च गर्ने महिलालाई एकएक क्रेट अण्डा समेत दिन थालेको छ । समयमा गर्भ जा“च गर्न नआउने, घरमै सुत्केरी हुन अझै चाहनेहरुका लागि आर्कषण गर्न यो व्यवस्था गरिएको थापाले जानकारी दिए । अण्डा दिएपछि गर्भ परीक्षण गर्न आउने क्रम बढेको उनले बताए । गत साउन देखि अण्डास“गै सबै गर्भवती महिलालाई आयो नुन पनि दिन थालिएको छ । चालु बर्षका लागि गाउ“पालिकाले ५ लाख लगानी गरेर सबै स्वास्थ्य संस्थामा ल्याब स्थापनाको तयारीपनि गरिसकेको छ । ल्याब संचालनमा आएपछि वडा तहमै गर्भ परीक्षण स“गै रगत, दिशा पिशाव र खकार परीक्षण गरेर अन्य रोगको उपचार समेत गर्न सकिने व्यवस्था मिलाएको थापाले बताए ।





