बागलुङ,२६ माघ – नेपाल राष्ट्रिय शिक्षक संगठनका राष्ट्रिय अध्यक्ष लक्ष्मण शर्माले शैक्षिक गुणस्तरको वृद्धि शिक्षकको चाहनामा मात्रै हुन सक्ने बताए। बागलुङमा जिल्ला समितिको आयोजनामा भएको सामुदायीक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि, नेतृत्व सीप विकास तथा प्रविधिमैत्री शिक्षण सिकाई क्षमता विकास विकास विषयक जिल्ला स्तरीय प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा अध्यक्ष शर्माले शिक्षकको चाहना वृद्धि गर्न आवश्यक सेवा सुविधा वृद्धि गर्नुपर्ने, शिक्षकको स्थायीत्वको ग्यारेन्टी गर्नुपर्ने, शिक्षामा राज्यको लगानी वढ्नु पर्ने लगाएतका विषय उठान गरे। शिक्षकको उमेरहद ६३ वर्ष पुर्याउन आफ्नो संगठन लागिरहेको बताउँदै शर्माले प्रविधिको प्रयोग गर्न नसक्ने, आफुलाई निरन्तर अपटुडेट गर्न नसक्ने शिक्षकहरुले भने उमेर नकुर्न र तत्काल विद्यालय छोड्न आग्रह गरे। शिक्षक सधै अध्ययनरत हुनुपर्ने बताउँदै अध्यक्ष शर्माले समयअनुकुल गुणस्तरीय शिक्षाको लागी जिम्मेवार बन्न शिक्षकहरुलाई उनको आग्रह थियो । विद्यालयमा व्यवस्थापन समिति, जनप्रतिनिधि लगाएतको हस्तक्षेप रहेको तर शैक्षिक गुणस्तरको लागी कोहि पनि वहस गर्न तयार नभएको भन्दै अध्यक्ष शर्माले यदि ति निकाय विद्यालय हितको लागी हो भने शैक्षिक वहस गर्न तयार हुनुपर्ने नभए शिक्षकलाई गाली गर्नका लागि मात्रै आवश्यक नरहेको धारणा व्यक्त गरे।
२ दिन सम्म बागलुङ बजारमा जिल्ला भरका करिव ३ सय शिक्षकहरुको सहभागितामा चलेको सो कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनका गण्डकी प्रदेश अध्यक्ष राम प्रसाद पोखरेल, उपाध्यक्ष केशवराज घिमिरे, महिला उपाध्यक्ष गंगा कुमारी शर्मा, प्रविधि मैत्री शिक्षक समाज नेपालका केन्द्रिय सदस्य डिल्लीराज उपाध्यायले सहजिकरण गरेका थिए । प्राध्यापक डाक्टर दिन बहादुर थापाले सामुदायीक विद्यालयको शैक्षिक गुणस्तर सम्भावना र चुनौति विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रमको समापन समारोहमा नेपाल राष्ट्रिय शिक्षक संगठन बागलुङका पूर्व अध्यक्ष टिकाराम शर्मा, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटि बागलुङका शिक्षा विभाग प्रमुख डिल्लीराज गौतम, सहभागिको तर्फवाट छोरेगाउँ माविका तारा प्रसाद कँडेल लगाएतले बोलेका थिए । उद्घाटन सत्रमा गण्डकी प्रदेशका प्रदेश सभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटा, काठेखोला गाउँपालिकाका अध्यक्ष अम्मर थापा, जिल्ला समन्वय शिक्षा इकाइ बागलुङका प्रमुख कुश्मराज उपाध्याय लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम नेपाल राष्ट्रिय शिक्षक संगठनका बागलुङ अध्यक्ष गोविन्द भण्डारीको अध्यक्षता तथा जिल्ला सचिव कृष्ण भट्टराईको सञ्चालनमा सम्पन्न भएको थियो।





