बागलुङ, २७ माघ -जिल्ला प्रशासन कार्यालय बागलुङमा सरुवा भएकार आएका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुले आईतवार पदबहाली गरेका छन् । आज विहान बागलुङ सदरमुकाम आईपुगेका प्रमुख जिल्ला अधिकारी सैजुले विहान साढे ११ बजे पदबहाली गरेका हुन् । पदबहालीका अवसरमा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक नवराज भट्ट र जिल्ला प्रशासन कार्यालय बागलुङका कर्मचारीहरुले प्रजिअ सैजुको स्वागत गरेका थिए ।
पदबहाली पछि प्रजिअ सैजुले जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरुलाई निष्पक्षरुपमा सेवा ग्राहीहरुलाई छिटो, छरितो रुपमा सेवा प्रवाह गर्न तथा जिल्लामा सुशासन र पारदर्शिता कायम गर्न निर्देशन दिए ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत धिरेन्द्र पन्तका अनुसार नेपाल रेडक्रस सोसाईटीका सभापति जब्बरबहादुर लामिछाने, बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीले कार्यालयमा र बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काले कालिका मन्दिर परिसरमा स्वागत गरेका थिए ।
प्रजिअ सैजुले आज जिल्लामा कृयाशील राजनीतिक दल, जनप्रतिनिधी, सरकारी कार्यालय प्रमुखहरु, पत्रकार र विभिन्न संघसंस्थाका प्रतिनिधीहरुबीच जिल्लाको वस्तुस्थिति र सुरक्षा अवस्थाका वारेमा भेटघाट तथा अन्तरक्रिया गर्ने कार्यक्रम रहेको प्रशासकीय अधिकृत पन्तले वताए ।





