बागलुङ, २७ माघ – आफ्नै दैलोमा बसपार्क बन्ने भएपछि बागलुङ नगरपालिका–४ उपल्लाचौरका खड्कबहादुर जिसीले बर्षभरी खानपुग्ने धान फल्ने खेत निशुल्क उपलव्ध गराए । बसपार्क बन्ने आशामा जिसीले जग्गा दिएको १६ बर्ष पुरा भएको छ । बर्षपार्कलाई आवश्यक जमिन उपयोग गर्न दिने र बाँकी जमिन फिर्ता पाउने सर्तमा जिसीले आफ्नो नाममा रहेको जग्गा समितिको नाममा दिएको बर्षौं बित्यो । उनी जस्तै जग्गा दिनेको संख्या धेरै छ । दिने जमिन माग्दा माग्दै दिएका उनीहरुको फिर्ता पाउने जमिनको लालपुर्जा कुर्दाकुर्दै बर्षौं बितेका छन् ।
उपल्लाचौरको दावगह्रामा जमिन रहेका ५१ जना मोहीले ५९ रोपनी जग्गा बसपार्क निर्माणका लागि जग्गा व्यवस्थापन गर्न बनेको समितिलाई उपलव्ध गराएका छन् । २०६० सालदेखि २०७० सालको बिचमा ५१ जनाले जग्गा व्यवस्थापन समितिको नाममा उक्त जग्गा उपलव्ध गराएको लिखत छ । नगरपालिकाले सुरुमा बसपार्कका लागि १० रोपनी जमिन खोजेको थियो । बसपार्कको बिस्तृत परियोजना प्रतिवेदन तयार गर्दासम्म १७.५ रोपनी जमिन बसपार्कका लागि आवश्यक देखियो । सोही अनुसारको जमिन समितिले बसपार्कलाई उपलव्ध गराईसकेको छ । दावगह्रामा रहेको सबै जमिन एकिकृत गर्ने, बसपार्कलाई आवश्यक जमिन दिने र बाँकी जमिनको कित्ताकाट गरेर जग्गादाताहरुले लिने सहमति नगरपालिकाले जग्गा व्यवस्थापन समितिसँग गरेको थियो ।
बसपार्क बनाउनका लागि करोडौं मुल्य पर्ने जमिन निशुल्क उपलव्ध गराएका बागलुङ नगरपालिका–४ उपल्लाचौर दावगह्राका मोहीहरु अहिले आफ्नै जमिन फिर्ता माग्नका लागि वडा कार्यालयदेखि नगरपालिकासम्म डेलिकेशन गरिरहेका छन् । ‘हात दिएर खुट्टालाई दुख भयो’ जग्गा धनी सुवास केसीले भने ‘दातालाई सम्मान गर्नु त कता हो कता अपमान पनि धेरै भयो ।’ उनीहरुले उपलव्ध गराएको जमिनमध्ये बसपार्कको आवश्यकता बाहेकको जमिन चक्लाबन्दी र कित्ताकाट गरेर उनीहरुलाई नै फिर्ता गर्ने सम्झौता छ । जग्गा धनिले बाँकी जग्गा समयमा फिर्ता पाए आफ्नै तरिकाले लगानी गर्ने वातावरण बन्ने उनको भनाई छ । ‘बर्षौंदेखि आफ्नो जग्गा अर्कैका नाममा छ’ केसीले भने ‘न त उपयोग गर्न पाईएको छ न त प्रतिफलको आश ।’ २०७१ साल पौष २२ गते जग्गा व्यवस्थापन तथा विकास समिति र बागलुङ नगरपालिकाको बिच चार बर्ष भित्रमा बसपार्क बनाई सक्ने र बाँकी रहेको जमिन दाताहरुलाई फिर्ता गर्ने गरी १२ बुँदे सम्झौता भएको छ । सम्झौता अनुसार बाँकी रहेको जमिनमा आवश्यक पूर्वाधार निर्माणको काम बागलुङ नगरपालिकाले गर्ने उल्लेख छ । ‘बाँकी रहेका जग्गाभित्र आवश्यक पूर्वाधार बिकास गरि सम्बन्धित जग्गा दाताहरुलाई फिर्ता गर्नुपर्ने भएकाले सो बाँकी जग्गा समेतमा एकिकृत गुरुयोजना बागलुङ नगरपालिकाले निर्माण गर्ने’ सम्झौताको बुँदा नं २ मा भनिएको छ ‘गुरुयोजना बमोजिम नक्साङ्कन, बाटो, ढल, नाली तथा पानी र बिजुली जस्ता पूर्वाधारहरु बागलुङ नगरपालिकाले निर्माण गर्ने सम्झौता गर्दछौं ।’
सहमति अनुसार जग्गा फिर्ताको काम सुरुनै नभएपछि जग्गादाताहरु तालुक निकायमा धाउन थालेका छन् । नगरबिकास कोषसँग ऋण सम्झौतापछि बागलुङ नगरपालिकाले गत आर्थिक बर्षमा एक बर्षभित्रै बसपार्क बनाउने गरी ठेकेदारसँग ठेक्का सम्झौता गरेको थियो । २०७६ कात्तिकमा निर्माणको जिम्मा पाएको कम्पनीले काम नसकेपछि आगामी असार मसान्त सम्मको लागि म्याद थप भएको छ । बसपार्कको लागि समय थप भएपनि सोही बसपार्क बनाउनका लागि जग्गा दिने दाताका समस्या सम्बोधन नभएको जग्गादाता गुणनिधि शर्माले बताए । नगरविकास कोषको ऋण सहयोगमा निर्माण हुने बसपार्कका लागि आशिष फेवा संयुक्त निर्माण कम्पनीले काम गरिरहेको छ । बसपार्क भन्दा बाहिरको बाँकी जमिनमा बन्ने संरचनाको काम भने नगरपालिकाले गर्नुपर्ने सम्झौतामा उल्लेख छ । ‘गत बर्ष आएको ४० लाखले हामीले जग्गा सम्याउने काम ग¥यौं, यो बर्ष छुट्टिएको पैसा रातो किताबमा आउँदा ऋण भुक्तानी भन्ने शिर्षकमा पुगेछ’ बागलुङ नगरपालिका वडा नं ४ का अध्यक्ष ध्रुव बहादुर केसीले भने ‘स्थानीय, प्रदेश र केन्द्र सरकार कसैको नजर पुगेको छैन, म एक्लै लडेर भएन ।’ बजेटको अभावका कारण बाँकी रहेको जमिनमा बन्ने भनिएका संरचना र कित्ताकाटको काम हुन नसक्दा जग्गाधनीले जग्गा फिर्ता नपाएका हुन् । ‘डिपिआर अनुसार सबै काम सम्पन्न गर्न ३ करोड लाग्छ’ केसीले भने ‘सामान्य कित्ताकाट गरेर जग्गाधनी पुर्जा बनाउँदा खर्च मात्रै भएपनि मोहीका समस्या बिस्तारै समाधान हुन्थे ।’ बसपार्क निर्माणका लागि निर्माण कम्पनीले ७ करोड ६६ लाख ९९ हजार रुपैयाँमा जिम्मेबारी लिएको छ । कम्पनीले बसपार्कसहित टर्मिनल भवन, व्यापारिक भवन र भूमिगत ट्यांक्सी पार्किङ समेत बनाईने छ ।
तत्कालिन समयको तुलनामा यहाँको मूल्य धेरै आकासिएको छ । बसपार्कलाई जमिन दिएर बाँकी रहेको फिर्ता पाउने आशामा रहेका यहाँका उपभोक्ताले आफ्नै जमिनमा पाईलो टेक्न नपाएको बर्षौं बितेको छ ‘हाल यो स्थानको जग्गाको मूल्य करोडौं छ’ बसपार्क उपभोक्ता समितिका सदस्य गुणनीधि शर्माले भने, ‘बसपार्क बनाएमा जिल्लाकै सान बढ्ने भएकोले जग्गा दिईयो तर फिर्ता आउने जग्गाको पत्तै छैन् ।’ नगरबिकास कोषले ९ करोड ४ लाख रुपैयाँ ऋण दिएपछि निर्माणको काम शुरु भएको थियो । उक्त रकमका लागि नगरबिकास कोषका कार्यकारी निर्देशक मनिराम सिंह र नगरप्रमुख जनकराज पौडेले ऋण सम्झौता गरेका थिए । बाँकी रकममध्ये नगरपालिकाको ७५ लाख र समपुरक कोषबाट २५ लाख खर्च हुनेछ । बसपार्क निर्माणकै लागि केएफ डब्लुले १० लाख र नेपाल सरकारले १८ लाख रुपैयाँ पनि ऋण सहयोग गर्नेछ । यसरी नगरपालिकाको ऋण भार १० करोड ४ लाख ८८ हजार रुपैयाँ पुग्नेछ । बाँकी ४० लाख रुपैयाँ स्थानीय बासिन्दाको संकलन हुनेछ । बसपार्क बाहेकका अन्य संरचनामा समेत लाखौं खर्च हुने डिपिआरमा उल्लेख छ । बसपार्क बनेर बाँकी जमिनमा जग्गादाताको लागि कम्तिमा साँढे दुई आनादेखि पाँच आना सम्मका एक सय २७ वटा घडेरी बनाईने योजना छ । नगरपालिकाले प्राप्त रकम नदिएका कारण सम्झौता अनुसार त्यहाँ बन्ने भनिएका संरचना बनेका छैनन् । बागलुङ नगरपालिकाले भने ऋणमा बनिरहेको बसपार्क र बाँकी बन्ने संरचनाको लागि एकै पटक स्रोत जुटाउन कठिन भैरहेको जनाएको छ । ‘यो बसपार्क नगरको मात्रै होईन सबैको दायित्वको बिषय हो’ बागलुङ नगरपालिकाका प्रमुख जनकारज पौडेलले भने ‘हामीले केन्द्र र प्रदेश सरकारसँग पनि सहयोगको लागि पहल ग¥यौं तर आश्वासन मात्रै पाईयो ।’ आगामी आर्थिक बर्षमा केन्द्र र प्रदेशको सहयोगमा नभए नगरको स्रोत परिचलन गरेरै भएपनि जग्गादाताको समस्या समाधान गर्ने पौडेलले बताए । यहाँ बन्ने बसपार्क गण्डकी प्रदेशकै नमुना बसपार्क हो ।





