बागलुङ,२८ माघ – जिल्लाको गल्कोट नगरपालिका–३ हटियाकी अञ्जु सुनुवार बेपत्ता भएको भन्दै परिवारले खोजी गरिदिन आग्रह गरेको छ । सोमबार बागलुङमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी सुनुवारको परिवारले खोजीका लागि आव्हान गरेको हो । गत पौष २९ गते साँझ ६ बजेदेखि सम्पर्कमा नरहेको भन्दै परिवार सञ्चार माध्यामको सहायता माग्न आएको हो । पत्रकार सम्मेलनमार्फत परिवारका सदस्यहरुले आफ्नी छोरी हराएको र खोजीका लागि देसभर सन्देश प्रवाह गरिदिन आग्रह गरे ।
उनीसँगै जिल्लाको बागलुङ नगरपालिका–११ रायडाँडाका अनिल थापा पनि सोही दिनदेखि सम्पर्कमा छैनन् । परिवारले प्रहरीमा दिएको निवेदन अनुसार एउटै समय र स्थानबाट दुवै जना सम्पर्कबिहिन भएका हुन् । जिल्ला सदरमुकाममा रहेको कालिका कन्या माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत १६ बर्षकी सुनुवार र सोही विद्यालयमा कक्षा ११ मा अध्ययनरत १६ बर्षकै थापा हराएको भन्दै खोजी गरिदिन परिवारले प्रहरीमा निवेदन दिएका छन् । सुनुवार हराएलगत्तै आफन्त र साथीभाईकोमा खोजी गरेको परिवारले ढिलो गरि प्रहरीमा निवेदन दर्ता गरेको जनाएको छ ।
‘छोरी सम्पर्कमा छैन, सँगै एउटै स्कुलमा पढ्ने केटा पनि हराएको छ’ उनकी आमा मनकुमारी सुनुवारले भनिन् ‘कयौं प्रयास गरियो प्रहरीले पनि भेटाएको छैन भन्छ ।’ यता थापाको परिवारले पनि आफन्तदेखि प्रहरी र सञ्चार माध्याममा सूचना प्रकाशन प्रसारण गरेर समेत थापाको खोजी गरिरहेको छ । दुवै जना लामो समयसम्म सम्पर्कमा नरहेको भन्दै परिवारका सदस्यहरुले चिन्ता जाहेर गर्न थालेका छन् ।
सुनुवार र थापा दुवै सदरमुकाममा कोठा खोजेर बस्दै आएका थिए । हराएका भनिएका थापाको कोठामा सुनुवारका कपडा भेटिएको र दुवै जना प्रेम सम्बन्धमा रहेकाले भागेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । अञ्जुको परिवारले उनका साथीहरुले भनेको आधारमा अनिलसँग नजिक रहेको भन्दै उनलाई सम्पर्कको प्रयास गरेको जनाएको छ । ‘साथीहरुकोमा खोज्दा अनिलको नाम आयो बिद्यालयको रजिष्टेशनमा रहेको नम्बरमा सम्पर्क गर्दा उसको अंकलले उठाउनुभयो’ अञ्जुकी आमा मनकुमारीले भनिन् ‘त्यहीँ दिनदेखि अनिल हराएको जानकारी हाम्ले पाएका हुम ।’ दुवै पक्षको निवेदनका आधारमा प्रबिधि र स्थलगत खोजीको प्रयास थालेको प्रहरीले नतिजाको नजिक पुगेको भएपनि परिणाम देखाउन नसकेको जनाएको छ ।
‘हामीले तीन पटक हुलिया देशभर पठाएका छौं, नेपाल टेलिकमको बिटिएस र सिआरडी प्रबिधिको प्रयोगबाट खोजी गरिएको छ’ प्रहरी निरिक्षक हेम केसीले भने ‘उनीहरुले पछिल्लो समय प्रयोग गरेको मोबाईल नेटवर्क पोखराको बजारभित्रै छ, अनुसन्धान सुरु भएपछि त्यो नम्बर परिवर्तन हुँदा भेटाउन समस्या भयो ।’ दुवै जनाले प्रयोग गरेको पछिल्लो फोन संबादका आधारमा उनीहरु सँगै भागेको निश्कर्षमा पुगेको केसीले बताए । ‘संबाद के थियो भन्न मिल्ने कुरा भएन’ उनले भने ‘संवाद सुनेकै आधारमा उनीहरु सँगै छन् भन्ने निश्कर्षमा हामी छौं ।’
नागरिकको जिउधनको सुरक्षा गर्नु प्रहरी दायित्व भए पनि अनुसन्धानमा कसैले नसघाएको उनले गुनासो गरे । केसीका अनुसार पौष २९ गते नै बागलुङ बजार र तित्याङ जोड्ने काठेखोलाको पुलको पश्चिम तर्फको चिया पसलमा उनीहरुले सँगै चिया खाएकोसम्म जानकारीमा आएको छ । उमेर नपुगी बिबाह गर्न नमिल्ने र उनीहरुको प्रेम सम्बन्धमा पारिवारिक अवरोध हुन सक्ने आशंकाले भागेको हुनसक्ने प्रहरीको अनुमान छ । ‘हामी जुनसुकै हालतमा पत्ता लगाएर छोड्छौं’ केसी भन्छन् ‘पछिल्लो समय सामाजिक सञ्जाल र मोबाईल समेत प्रयोग नगरेकाले अनुसन्धानमा समस्या भैरहेको छ, समय लाग्छ ।’ नेपालको संबैधानिक व्यवस्था अनुसार २० बर्ष उमेर नपुगी बिबाह गर्नु गैह्रकानुनी मानिएको छ ।





