आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बागलुङका दुई संस्थागत विद्यालय समायोजन !

बागलुङका दुई संस्थागत विद्यालय समायोजन !


  • ढोरपाटन संवाददाता
  • माघ २९ २०७६, बुधबार

बागलुङ,२९ माघ – सामुदायीक विद्यालयमा विद्यार्थीको संख्या कम तर शिक्षकको दरबन्दी बढि रहेका कारण अनावश्यक व्ययभार परेको भन्दै गत आर्थिक बर्षमा बागलुङ नगरपालिकाले ६ वटा बिद्यालयमा कक्षा स्थगत ग¥यो । विद्यार्थी संख्या कम हुँदाहुँदै पनि चलिरहेका विद्यालयहरु शिक्षा ऐनमा व्यवस्था भए अनुसार अर्को विद्यालयमा समायोजन हुन नमानेपछि घुमाउरो तरिकाबाट विद्यालयहरु मर्जिङ गरियो ।
शिक्षकको दरबन्दी मिलान र ती छ वटा बिद्यालयमा रहेका विद्यार्थीलाई अर्को नजिकैको बिद्यालयमा पठाएर नगर शिक्षा शाखा व्ययभार कम गर्ने प्रयास थालेको थियो । सामुदायीक विद्यालयमा यो बागलुङ नगरपालिकाको मात्रै समस्या होईन जिल्लाका दशवटै स्थानीय तहमा विद्यार्थी संख्या कम भएका विद्यालयहरुको संख्या धेरै छ ।
स्थानीय पालिकाहरुले विद्यार्थी, शिक्षक र विद्यालय नै व्यवस्थापनमा आ–आफ्नो हिसाबले योजना बनाएर लागिरहेका छन् । सामुदायीक विद्यालयमा बिद्यार्थीको संख्या कम हुनुको मुख्य कारण हो बसाईसराई र बेग्रल्ती खुलेका संस्थागत विद्यालय । अभिभावकको अंग्रेजी मोह र अंग्रेजी माध्याममा पठनपाठन गराउन खुलेका संस्थागत विद्यालयहरुमा निकै प्रतिष्पर्धा छ । कल्पना गर्नुस् संस्थागत विद्यालयहरु बन्द हुने वा समायोजन हुनेभन्दा धेरै फुट्ने र खुल्ने प्रकृयामा देखिने गरेका छन् ।
तर सदरमुकाममा रहेका दुई संस्थागत विद्यालयले भने अस्वस्थ्य प्रतिस्पर्धाका कारण विद्यालय नै धरासयी हुने अवस्थामा पुग्ने भन्दै समायोजन (मर्जिङ) भएका छन् । सदरमुकाममा रहेको अमृत आदर्श आवासिय मावि र अमर आदर्श विद्यामन्दिर आवासिय मावि समायोजन भएका हुन् । दुवै बिद्यालय समायोजन भएर अमृत आदर्श एकेडेमी बनेको एकेडेमी व्यवस्थापन समितिका अध्यक्ष मेहेशचन्द्र प्रधानले बताए । ‘हामीले अस्वस्थ प्रतिस्पर्धाको अन्त्य र शिक्षामा गुणस्तर बृद्धिका लागि जिल्लामै पहिलो कदम उठायौं’ प्रधानले भने ‘शिक्षामा परिवर्तनका लागि विद्यालय मर्जिङ गरिएको हो ।’
अमृतमा रहेका ३ सय २५ जना र आदर्श विद्यामन्दिरमा रहेका ४ सय २९ जना विद्यार्थीलाई माघ १६ गतेदेखि एकै ठाउँमा राखेर पठनपाठन थालिएको छ । विद्यालयका लेखापाल रामप्रसाद घिमिरेका अनुसार कक्षा १ भन्दा तल्लो तहका बिद्यार्थीलाई एकै ठाउँमा पठनपाठन सुरु भैसकेको छभने कक्षा १ भन्दा माथिका विद्यार्थीहरुलाई पहिलेकै विद्यालयको हिसाबमा सेक्सनमा राखेर अध्यापन भैरहेको छ । नयाँ शैक्षिक सत्रदेखि एकै ठाउँमा पठनपाठन हुने घिमिरेले बताए । दुवै विद्यालयका ४६ जना शिक्षक कर्मचारी पनि समायोजन भएका छन् ।
संस्थागत बिद्यालयले समयोजन गर्दा सम्बन्धित पालिकाको शिक्षा शाखामा जानकारी गराउनुपर्ने व्यवस्था रहेको भएपनि बागलुङ नगरपालिकाको शिक्षा शाखाले भने औपचारिक जानकारी नआएको जनाएको छ । ‘विद्यालयहरु मर्जिङ हुने मौखिक हल्ला सुनिएको छ तर आधिकारीक जानकारी आएको छैन्’ शिक्षा अधिकृत गौरव राना मगरले भने ‘प्रकृया पुरा गरेर मात्रै समायोजन हुन पाईन्छ ।’ दिर्घकालिन योजना बिना खुलेका बिद्यालयहरुलाई चलाउनु चुनौतीपूर्ण रहेकाले संस्थागत विद्यालयहरु पनि समायोजनको चरणमा पुगेको रानाले प्रतिकृया दिए ।
प्रतिष्पर्धि विद्यालयहरुको संख्या धेरै भएपछि जिल्लाका बिभिन्न स्थानमा रहेका अन्य संस्थागत बिद्यालय समेत संकटग्रस्त अवस्थामा रहेको जानकारहरु बताउँछन् । स्थानीय सरकार गठनसँगै बनेका पालिका मुकामहरुमा खुलेका निजी विद्यालय पनि साविक सदरमुकामका नीजि विद्यालयको चुनौतीको रुपमा खडा भएका छन् । अर्कोतर्फ स्थानीय सरकारको मातहतमा आएपछि सामुदायीक विद्यालयमा भैरहेको सुधारले पनि संस्थागत बिद्यालयलाई असर पु¥याएको राना बताउँछन् ।
‘अभिभावक गुणस्तरको खोजीमा हुनुहुन्छ, हाम्रा सामुदायीक बिद्यालयहरु पनि सुध्रिएका छन्’ रानाले भने ‘सामुदायीक जस्तै संस्थागत विद्यालय पनि समायोजन हुनु र परिमार्जित हुनु आवश्यक छ ।’ बागलुङ नगरपालिकाले थालेको सामुदायीक बिद्यालय सुधार अभियानका क्रममा गत बर्षनै बागलुङ नगरपालिका–६ मा रहेको एक संस्थागत बिद्यालय बन्द नै भएको थियो । स्थानीय लहरेपिपल माध्यमिक बिद्यालयमा सबै विद्यार्थी गएकाले उक्त विद्यालय बन्द भएको वडाध्यक्ष खिमराज सापकोटाले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->