बागलुङ, ३ फागुन– जिल्लाका बिभिन्न स्थानीय तहहरु विद्यालय स्तरमा रहेका प्रतिभा खोज्ने कार्यक्रम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गरिरहेका छन् । एक दुई दिन पहिला मात्रै बरेङ गाउँपालिकाले प्रतियोगिता सम्पन्न गरेको छ भने जैमिनी नगरपालिकाले शनिवार देखि यो प्रतियोगिता सुरु गरेको छ । शनिवार सुरु भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिमा नगरप्रमुखले ग्रहण गरेको सलामीको बिषय शनिवार साँझसम्म नै चर्चामा रहेको छ । आफ्नो दाहिने र बाँयातर्फ जनप्रतिनिधि र कर्मचारीलाई राखेर सानो टेवलमाथी चढेका नगर प्रमुख इन्द्रराज पौडेलको तस्विरले सामाजिक सञ्जालमा चर्चा पाएको हो । झट्ट हेर्दा पूर्व राजपरिवारको खानदानमा दिईने सलामीको झल्को दिनेगरी नगरप्रमुख चढेको टेवल तस्विरमा देखिएको छ । उनले विद्यार्थी खेलाडिहरुबाट दिईएको सलामि ग्रहणका लागि उक्त टेवलमा चेढेको नगरपालिकाले जनाएको छ ।
तस्वीर सार्वजनिक भएपछि जैमिनी नगरबासी तथा देश तथा बिदेशमा रहेका नेपालीहरुले आआफ्नो धारण राख्दै उनको तस्वीर सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।पौडेलको फोटो फेसबुकमा पोष्ट गर्दै दिपक शर्माले लेखेका छन् – ‘राजा माहाराजा भन्दामथि अहिले का नेताहरु हुन कि आयोजकले यो गराएका हुन ? यदि यो बाहेक अरु कुनै साधन उपलब्ध गराउन नसके पनि एउटा ढुङ्गा को प्रयोग गरेको भए नेताज्युको यो फोटो फेसबुकमा भाईरल हुनपर्ने थिएन होला ।’
तस्वीरको बिषयमा चर्चा भएपछि शनिवारनै नगर प्रमुख पौडेलले सामाजिक सञ्जाल मार्फत आफ्नो प्रतिकृया दिएका छन् ।
उनले आँफुले जानेर नभई खेलाडि तथा रेफ्रिको आग्रहमा त्यसो गरेको धारणा राखेका छन् । पौडेलले फेसबुकमा लेखेका छन् ‘आज सामाजिक संजालमा मेरा बारेमा फैलाएका टीका टिप्पणी बारे म गम्भीर छु । टेबुल मैले जान्दछु, त्यो मेरो रहर होइन । खेलका एम्पायर तथा रेफ्रीज्यूहरुले भन्नू भो भुइबाट सलामी फर्काइयो भने खेलाडीको अपमान हुन्छ । हामीसँग सानो टेबुल उपलब्ध थियो, बिकल्पहिन अबस्थामा त्यहि प्रयोग गरियो । शुभचिन्तक साथीहरूले यसको बिकल्प प्रयोग गरेको भए हुन्थ्यो भन्ने मनसायले सुझाब दिनुहुने प्रियजनहरुका प्रती उच्च सम्मान प्रकट गर्दछु । मेरो विश्वास छ साथीहरूले यो विषय सहि ढंगले बुझ्नुहुनेछ ।’ नगर प्रमुखले स्पष्टिकरण दिएको भएपनि सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले भने तस्वीरमा देखिएको अवस्थाको अर्थ खोजेका छन् । सहारा खेल मैदानमा जैमिनी नगरपालिकाका प्रमुख ईन्द्रराज पौडेलले शनिवार प्रतियोगिताको उद्घाटन गरेका थिए । खेल मैदानमा जैमिनी नगरपालिका भित्रका माध्यमिक विद्यालयका छात्र एवं छात्राहरुबीच भलिबल प्रतियोगिता शनिवार देखि सुरु भएको छ ।





