बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

म्याग्दीका ७ ठाउँमा पक्की पुल बन्दै

म्याग्दीका ७ ठाउँमा पक्की पुल बन्दै


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ४ २०७६, आइतबार

म्याग्दी,४ फागुन – हिमाली जिल्ला म्याग्दीको पश्चिम भेगका बस्तीहरुलाई जोड्ने गरी धमाधम पक्की पुल निर्माण भइरहेका छन् । संघीय र प्रदेश सरकारले सात ठाउँमा मोटरेबल पुल निर्माण गरेका हुन् । संघीय सरकारअन्तर्गत रहेको सडक डिभिजन कार्यालय बागलुङले म्याग्दी खोलामा दुईवटा पक्की पुल निर्माण गर्दैछ ।
प्रदेश सरकारअन्तर्गत रहेको भौतिक पूर्वाधार विकास कार्यालय म्याग्दीले पाँच स्थानमा पुल निर्माण गर्दैछ । बेनी नगरपालिका–४ सिंगादेखि मंगला गाउँपालिका–३ बरंजालाई जोड्ने गरी निर्माण गर्न लागिएको पुलले बरंजाको बस्तीलाई सडक सञ्जालसँग जोड्ने छ । एक वर्षअघि सडक डिभिजन कार्यालय बागलुङले ठेक्कामार्फत निर्माण थालेको उक्त पुलको ४५ प्रतिशत काम सकिएको छ ।
कुल लागत १० करोड ७२ लाख १२ हजार ४०३ रुपैयाँमा लुम्बीनी प्राकृतिक जेभीसँग २०७७ जेठ २५ मा सक्ने गरी २०७५ जेठ २५ मा ठेक्का सम्भौता भएको सडक डिभिजन कार्यालय बागलुङका इन्जिनियर तथा सूचना अधिकारी मुकुन्दप्रसाद लामिछानेले जानकारी दिए । उनका अनुसार, पुलको लम्बाई १०५ मिटर हुनेछ । ठेकेदारले पुल निर्माणलाई तीव्रता दिएपनि सम्झौता अवधिमा निर्माण नहुने र ६ महिना म्याद थपिने उनले बताए ।
यसैगरी मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरदेखि वडा नम्बर ५ अर्मनलाई सडक यातायातसँग जोड्ने गरी ११ करोड २४ लाख २५ हजार ५२ रुपैयाँमा म्याग्दीखोलामा पक्की पुल निर्माण थालिएको छ । दुई वर्षमा सक्ने गरी २०७५ पुस २५ गते लुम्बिनी प्राकृतिक जेभीसँग ठेक्का सम्झौता भएको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ । ८० मिटर लम्बाइको यस पुलको ४० प्रतिशत निर्माण पूरा भएको छ । आगामी एक वर्षभित्र निर्माण सक्ने गरी यतिखेर धमाधम काम भइरहेको छ ।
यसैगरी धवलागिरि र मालिका गाउँपालिकाको सिमानामा दुईवटा मोटरेबल पुल निर्माण थालिएको छ । प्रदेश सरकारअन्तर्गतको पूर्वाधार विकास कार्यालय म्याग्दीले भारवाङको म्याग्दी खोला र फेदीको दाङखोलामा मोटरेबल पुल निर्माण थालिएको हो । मालिका–७ भारवाङ र धवलागिरि–७ बगरको सिमानाको म्याग्दी खोलाको उक्त पुल ४० मिटर लम्बाइको छ ।
यस्तै, मालिका–५ र धवलागिरि–७ को सिमाना फेदीखोलामा १८ मिटर लामो पुल निर्माण सुरु भएको छ । भारवाङको पुल निर्माणका लागि देव एण्ड सायर बिएन जेभीले छ करोड २४ लाख २३ हजारमा ठेक्का लिएको छ । फेदीखोलाको पुल बनाउन इन्द्रेणी फेवा जेभीले एक करोड ९३ लाखमा ठेक्का सम्झौता भए पनि निर्माणाधीन जलविद्युत आयोजनाका कारण पुल डुबानमा पर्ने भएकाले पुनः डिजाइन गरी निर्माण कार्यलाई अगाडि बढाउने तयारी भएको कार्यालय प्रमुख सिनियर डिभिजनल इञ्जिनियर ओमराज ढुङ्गानाले बताए । उनका अनुसार भारवाङघाटको पुल १८ महिनामा सक्ने गरी ठेक्का सम्झौता भई कार्यस्थलमा निर्माण कम्पनी खटिएको छ ।
यसैगरी छिसबाङको बस्तीलाई मालिका गाउँपालिकाको केन्द्र दरवाङसँग जोड्न छ्याछ्यारेस्थित म्याग्दीखोलामाथि पक्की पुल निर्माणका लागि पनि डिजाइन स्टिमेट तयार भएको छ । यता, बेनी नगरपालिका सिंगादेखि आगेबगर जोड्का लागि म्याग्दी खोलामा पक्की पुल बनाउनका लागि डिजाइन सर्वेको काम अगाडि बढेको कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर ढुङ्गानाले बताए । ग्रामीण बस्तीहरुलाई सडक सञ्जालसँग जोड्ने गरी आवश्यक पर्ने स्थानमा पक्की पुल निर्माणका लागि जिल्लाले सिफारिस गरी पठाएका योजनालाई संघ र प्रदेश सरकारले प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->