आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

एक वर्षभित्रै जग्गादातालाई जग्गा फिर्ता दिने नगरप्रमुखको आश्वासन

एक वर्षभित्रै जग्गादातालाई जग्गा फिर्ता दिने नगरप्रमुखको आश्वासन


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ८ २०७६, बिहिबार

बागलुङ, ८ फागुन – आधुनिक बागलुङ बसपार्क निर्माणका लागि निशुल्क जग्गा उपलव्ध गराएका जग्गादाताहरुले बसपार्क निर्माण भई बाँकी रहेको जग्गा फिर्ता गर्न आग्रह गर्दै बुधबार बागलुङ नगरपालिकामा डेलिकेशन गएका छन् । बागलुङ बसपार्क जग्गा व्यवस्थापन तथा विकास समितिका प्रतिनिधि र जग्गादाताको समुहले बागलुङ नगरपालिका प्रमुख जनकराज पौडेललाई भेटेर बाँकी रहेको जग्गा फिर्ता गर्न आग्रह गरेको हो । बागलुङ बसपार्क निर्माणका लागि १७ बर्ष पहिला बागलुङ नगरपालिका–४ उपल्लाचौरमा रहेको जग्गा ६४ जना जग्गादाताले एकिकृत गरेर समितिलाई उपलव्ध गराएका थिए । जग्गा व्यवस्थापन तथा विकास समितिले एकिकृत भएको ५९ रोपनी जग्गामध्ये साढे १७ रोपनी जग्गा बागलुङ नगरपालिकाका नाममा उपलव्ध गराएर आधुनिक बसपार्क निर्माणको काम चलिरहेको छ ।
प्रभावित क्षेत्रको सबै जग्गा एकिकृत गर्ने र बसपार्कलाई आवश्यक जग्गा निशुल्क दिएर बाँकी जग्गा जग्गादातालाई फिर्ता गर्ने सहमति भएको थियो । सहमति भएको लामो समय बितिसक्दा समेत जग्गा फिर्ता नपाएको भन्दै जग्गादाताहरु बागलुङ नगरपालिकामा डेलिकेशन गएका हुन् । बाँकी रहेको जग्गामा बिजुली, पानी, सडक, डल लगायतका पूर्वाधार बनाएर कित्ताकाट गरी जग्गादातालाई फिर्ता गर्नेगरी १२ बुँदे सहमति समिति र नगरपालिका बिच भएको थियो । बुधबार जग्गादाताहरुसँग कुराकानी गर्दै नगरप्रमुख जनकराज पौडेलले एक महिनाभित्र कित्ताकाटको काम सक्ने र एक बर्षभित्रमा जग्गादातालाई जग्गा उपलव्ध गराउने प्रतिबद्धता जाहेर गरेका छन् । ‘उहाँले आगामी नगर कार्यपालिकाको बैठकमा जग्गादाताका समस्या राख्छु भन्नुभएको छ’ जग्गादाता सुवास केसीले भने ‘नगरले निर्णय गरेर आवश्यक व्यवस्थापनका लागि बजेटको व्यवस्था गर्ने आश्वासन पाएका छौं ।’ १२ बुँदे सम्झौता अनुसार बाँकी रहेको जग्गामा कित्ताकाट हुनुपूर्व पूर्वाधार निर्माणको लागि झण्डै दुई करोड खर्च हुने स्टमेट रहेको समितिका अध्यक्ष सुवासचन्द्र राजभण्डारीले बताए । ‘हामीले जग्गा दिएका छौं बसपार्क बन्दैछ’ उनले भने ‘बाँकी जग्गा कसरी फिर्ता गर्ने भन्ने बिषयमा सरकोकारवाला नगरपालिका र जग्गादाताबीच भएको सहमतिको कार्यान्वयन वा जग्गादाताको सल्लाहका आधारमा अन्य विकल्पको खोजी भैरहेको छ ।’ उनले आगामी एक बर्षभित्र जग्गा फिर्ता गर्ने वातावरण बनाउनका लागि समिति लागिरहेको बताए ।
बागलुङ नगरपालिकाले पनि बसपार्कको लागि छुट्टाएर बाँकी रहेको जग्गा दाताहरुलाई फिर्ता गर्न आँफु आतुर रहेको जनाएको छ । प्रदेशकै नमुना बसपार्क बन्ने भएकाले संघ र प्रदेश सरकारले समेत यसमा सहयोग गर्नुपर्ने नगरको तर्क छ । ‘यहाँ निर्माण गर्ने भनिएका पूर्वाधारको लागि स्रोतको जोहो गर्ने प्रयास भैरहेको छ’ नगरप्रमुख जनकारज पौडेलले भने ‘सके हामी माथीका सरकारबाट सम्बोधन गराउँछौं, नभए हामी आँफै लागेर भए पनि जग्गा दाताको चित्त बुझाउने प्रयासमा रहेका छौं ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->