आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

मेटिँदै नापीका नक्सा, सेवाग्राही र कर्मचारी हैरान

मेटिँदै नापीका नक्सा, सेवाग्राही र कर्मचारी हैरान


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १० २०७६, शनिबार

बागलुङ, १० फागुन – नापी कार्यालय बागलुङका प्रमुख योगेन्द्र कुमार यादव बिहिबार कार्यालयमा निहुरीएर बसिरहेका थिए । कम्प्युटरको अगाडि बसेका यादवको हातमा ठुलो प्लाष्टिकको पाता देखिन्थ्यो । आफ्नो कार्यकक्षभन्दा तल झरेर सेवाग्राहीले नक्सा चेकजाँच गर्ने कक्षमा थिए यादव । बागलुङ नगरपालिकाका एक सेवाग्राहीको नक्सा हेरेर कित्ता छुट्टाउन उनलाई निकै समय लाग्यो ।
जिल्लाका अधिकांश बजार क्षेत्रका नक्सा फाँटेका छन् । प्लाष्टिकमा बनाईएका नक्सा कुनै मेटिएका छन्भने कुनैमा रेखानै देखिँदैनन् । पुराना नक्सामा सेवाग्राहीले मागेको रेखांकन उपलव्ध गराउन कर्मचारीलाई निकै कठिन हुने गरेको छ । प्राबिधिक शाखाका कर्मचारी मात्रै होईन नापी कार्यालयका प्रमुख र अन्य शाखामा रहेका कर्मचारीले समेत त्यहाँ पुगेर सघाउने गरेका छन् ।
‘मेटिएका नक्साहरुमा मागेको कित्ता भेटाउनै मुस्किल हुन्छ’ कार्यालय प्रमुख यादव भन्छन् ‘आदेश दिएर बस्ने जस्तो नै छैन्, सेवाग्राहीलाई छिटो सेवा दिन सबै कस्सिएर खोज्छौं र प्राबिधिकहरुले प्रमाणित गर्नुहुन्छ ।’ जग्गाको मुल्यांकन बढी र धेरै किनबेच हुने सदरमुकाम बागलुङ बजार क्षेत्रको नक्सा सबैभन्दा धेरै मेटिएका छन् । नक्सा स्पष्ट नभएकै कारण कर्मचारीहरु लामो समय खर्चेर सेवाग्राहीको काम गरिरहेका हुन्छन् ।
ठाउँ–ठाउँमा च्यातिएको नक्साबाटै मुस्किलले कर्मचारी सेवाग्राहीको माग अनुसारको नक्साङ्कन गर्ने गरेका छन् । ‘नक्सा पुराना भएर काम गर्नै नसकिने अवस्था छ’ अमिन गोविन्द शर्माले भने ‘हरेक दिन सेवाग्राहीको गाली खेप्नु बानी नै परिसकेको छ ।’ बागलुङ नगरभित्र पर्ने साविकको कालिका गाउँविकास समिति, जैमिनी नगरपालिकाको केन्द्र कुश्मीशेरा बजार, गल्कोट नगरपालिकाको केन्द्र र ढोरपाटन नगरपालिकाको बुर्तिबाङ बजारको नक्सामा धेरै समस्या छ ।
गाउँका जग्गा कम खरिद बिक्री हुनेभएकाले नक्सा खासै नमेटीएको भएपनि बजारक्षेत्र र सडक आसपासका जग्गाको नक्सा मेटिने गरेका छन् । ‘खरिदबिक्री धेरै हुँदा नक्साको प्रयोग धेरै हुन्छ’ कार्यालय प्रमुख यादव भन्छन्– ‘पुनःनापी गर्नुपर्ने धेरै नक्साहरु छन् ।’ काम धेरै हुने कार्यालय भएर पनि नापी कार्यालयको बिषयमा सरोकारवालाले कम चासो राख्ने गरेको उनको गुनासो छ । विवाद रहेका जग्गामा समय निकै खर्चिएर नक्सांकन गर्नुपर्ने बाध्यता रहेको उनले बताए । बजारक्षेत्रका जग्गाधनीहरु हरेक दुई बर्षमा कुनै न कुनै रुपमा नक्सा लिन आउने गरेको उनले सुनाए ।
नाम निसाना नै नरहेका जग्गाहरुको भने कार्यालयले पुराना लिखत र स्थलगत अनुगमन गरेर सेवाग्राहीलाई नक्सा उपलव्ध गराउने गरेको कार्यालयका चेकफाँट प्रमुख कृष्ण प्रसाद उपाध्यायले बताए । नक्साको समस्या धेरै भएपछि कार्यालय र बागलुङ नगरपालिकाले पुनःनापीको पहल थालेका छन् ।
बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले पुनःनापीको लागि भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई औपचारिक पत्र लेखेर पुनःनापीको पहल थालेको बताए । ‘मन्त्रालयले हाम्रो ध्यानाकर्षणपछि चासो देखाएको छ’ पौडेलले भने ‘आगामी आर्थिक बर्षसम्म प्रकृयामा अगाडि बढ्ने आशामा छौं ।’ मन्त्रालयले नापी बिभागलाई आवश्यक कारवाहीका लागि पत्राचार गरेपछि बिभागले नापी कार्यालयसँग नाप नक्साको काम, क्षेत्रफल, जनशक्ति र समयको बिषयमा योजना माग गरेको छ । ‘माथिबाट अनुमति भयोभने बजार क्षेत्रको अनिवार्य पुनः नक्सांकन गर्नुपर्ने अवस्था छ’ यादवले भने ‘काम थालेको दुई बर्षमा नयाँ नक्सा दिन सकिन्छ ।’
२०४० को दशकमा भएको नापी नै जिल्लाको पहिलो र अन्तिम नापी हो । समय समयमा पुनःनापी गर्नुपर्ने अवस्था आएपनि हुन सकेको छैन् । नक्सा मेटिएको नगर क्षेत्रको पुनःनापी जुनसुकै हालतमा गरिने नगर प्रमुख पौडेल बताउँछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->