पर्वत,१० फागुन- मौसममा बदली आएर वर्षा समेत भएपछि पर्वतमा भइरहेको चौथो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताका फाइनलका दुई खेलहरू रोकिएका छन् ।
शुक्रवार बिहान ९ बजे तेस्रो स्थानको लागि त्रिभुवन आर्मी क्लब र होङवान्जी न्यु डायमन्ड एकेडेमी तथा ११ बजे विजेता र उपबिजेताको लागि दुई विभागीय टोलीहरू नेपाल पुलिस क्लब र डीफेन्डीङ च्याम्पियन सशस्त्र प्रहरीको एपीएफ क्लब भिड्ने तयारी भएको थियो । शुक्रवार बिहान देखी नै आकाशमा बादल देखिएको थियो । खेल खेलाउने बेला हुनै लाग्दा सिमसिम वर्षा भएपछि खेल मैदान चिप्लो बन्दा शुक्रवारका लागि तोकिएका खेलहरू खेलाउन नसकिएको रेफ्री टहलसिँह थापाले बताए । उनका अनुसार वर्षा रोकिए पनि हिलो भएको मैदान घाम लागेर नसुकेसम्म खेल खेलाउन नसकिने भएको छ ।
१३ औँ गण्डकी प्रदेशस्तरीय महिला महोत्सवको अवसरमा आयोजित प्रतियोगितामा बिहीबार भएको सेमिफाइनलमा आ–आफ्ना प्रतिद्वन्द्वीलाई हराउँदै पुलिस र एपीएफ फाइनलमा पुगेका हुन् । एपीएफले होङग्वान्जी न्यु डायमन्डलाई सोझो सेटमा हराउँदै फाइनलमा स्थान बनाएको थियो भने एपीएफले होङवान्जी न्यु डायमन्ड एकेडेमीलाई पराजित गरेको थियो । पुलिसले भने विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई हराउँदै फाइनलमा स्थान बनाउन सफल भएको हो ।
प्रतियोगिताको विजेताले दुई लाख, दोस्रो हुने टोलीले एक लाख र तेस्रो हुने टोलीले पचास हजार नगद प्राप्त गर्नेछ । महिलाहरूको व्यवस्थापनमा सञ्चालित रेडियो दिदीबहिनी पर्वतको आयोजनामा हरेक वर्ष आयोजना हुने प्रदेश स्तरीय महिला महोत्सवको अवसरमा हरेक वर्ष राष्ट्रिय स्तरको महिला भलिबल प्रतियोगिता हुँदै आएको छ । यस वर्ष रेडियो स्थापनाको दशौँ वर्ष तथा अन्तर्रा्ष्ट्रिय महिला दिवसको सन्दर्भ पारेर महोत्सवको आयोजना गरिएको हो ।
गत फागुन १ गतेबाट पर्वतको जलजला गाउँपालिका ३ वारीबेनीको जुकेधारा मैदानमा भइरहेको महोत्सवको समापन फागुन ११ गते हुने रेडियोकी अध्यक्ष कल्पना चापागाईँले जानकारी दिइन् ।





