पोखरा, १२ फागुन – पोखरामा एसियन टुर प्याराग्लाईडिङ वल्र्डकप आइतबारदेखि सुरु भएको छ । नेपाल हवाई खेलकुद संस्था(ना) को आयोजना तथा नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ एसोसियसनको सहयोगमा आयोजित विश्वकपमा फेडेरेशन अफ एरोनोटिक इन्टरनेशनल(एफएआई)बाट मान्यता प्राप्त पाइलटले भाग लिएका छन् ।
विश्वका उत्कृष्ट पाइलटहरुले क्रसकन्ट्रीमा एकसाता प्रतिस्पर्धा गर्नेछन् । पहिलो दिन पाइलटलाई प्राक्टिस डे रुपमा राखिएको छ । पोखराको मौसम अनुकुल आफू्रलाई ढाल्नुपर्ने छ । पहिलोदिन पाइलटले ४० किलोमिटरको टास्क पूरा गर्नेछन् । प्याराग्लाइडिङ वल्र्डकप टुरमा २० देशका ९० जना प्रतियोगितामा भाग लिएको नेपाल हवाई खेलकुद संस्थाका निर्बतमान अध्यक्ष एवं संयोजक योगेश भट्टराईले बताए । उनले पहिलो दिन पाईलटलाई वल्र्डकप टुरको नियमबारे जानकारी दिने उद्देश्यले ब्रिफिङ गरेको बताए । उनका अनुसार सोमबारदेखि प्रतिस्पर्धा सुरु हुने र प्रत्येक दिन फरकफरक टास्क हुने बताए । उनले मौसमले नै टास्कको दूरी तय गरिने संयोजक भट्टराईले बताए । पोखरामा एएफएआईट–२ क्याटगोरीको प्याराग्लाईडिङ प्रि–वल्र्डकप आयोजना भइसकेको छ । निरन्तर दुई वर्षसम्म प्रि–वल्र्डकप आयोजना गरिएपछि एफएआईले विश्वकपको लागि स्वीकृति प्रदान गरेको उनले बताए । सराङकोटबाट उडान भरेर फेवाताल किनार खपौंदीमा अवतरण गर्नेछन् ।
प्रतियोगितामा अमेरिका, कोरिया, फ्रान्स, जापान, कोरिया, बेलायत, भारत, इरान, चेकोस्लोभाकिया, स्वीस, अष्ट्रियालगायतका देशका पाइलटको सहभागिता रहेको नेपाल हवाई खेलुकद संस्थाका अध्यक्ष कृष्ण भण्डारीले बताए । विश्वकपमा नेपाली १२ जना पाईलटले प्रतिस्पर्धा गर्ने छन् । विश्वकप टुरमा पाईटलले उपाधिसँगै अंक पाउने छन् । प्राप्त अंककै आधारमा एएफएआईले पाईलटको ¥याङ्किङ गर्ने भण्डारीले जानकारी दिए ।
एक्युरेसीमा सबैभन्दा कम अंक जोड्नेले उपाधि जित्ने छन् । क्रसकन्ट्रीमा भने आयोजकले तोकेको टास्क पूरा गर्ने खेलाडीले बढी अंक प्राप्त गर्नेछन् । तीनदिनसम्मको टास्कलाई जोडेर खेलाडीको विजेता घोषणा गरिने छ । प्याराग्लाईडिङमा हुने सम्भावित जोखिम न्युनिकरण गर्न नेपाली सेनाले रेस्क्यु गर्न तयारी छ । प्रतियोगितामा कोरोना भाइरसको प्रभाव परेको छ । चाइनबाट ११ जनासहित अन्य देशबाट पनि खेलाडीले पछिल्लो समयमा प्रतियोगितामा भाग नलिने जनाएका थिए ।




