बागलुङ१३ फागुन – बागलुङ नगरपालिकाले आयोजना गरेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सोमबारदेखि सुरु भएको छ ।प्रतिायोगितामा छात्र र छात्रा तर्फका १ हजार ५ सय मीटर दौड प्रतियोगिता सिगाना माबि तित्याङले जितेको छ । सिगाना माबिका सोदिप सुवेदी छात्र तर्फ र आरती जिसी छात्रा तर्फ प्रथम भएका छन् । छात्र तर्फ त्रिभूवन माबि पैयुँपाटाका प्रतिप हरिजन द्वितिय र पृथ्पी हिरण्य माबि अमलाचौरका हेमन्त पौडेल तृतिय भए । छात्रा तर्फ जनताधन माबि नारायणस्थानकी अनुषा पौडेल द्वितिय र त्रिभूवन माबि पैयुँपाटाकी जयन्ती केसी तृतिय भए ।
सोमबारै भएको एकसय मीटर दौडमा छात्र तर्फ गणेश माबिका सुमन क्षेत्री प्रथम, बहिरा माबिका किशोर थापा द्वितिय र न्यू ओयसिस माबिका अमर खत्री तृतिय भएका थिए । छात्रा तर्फ त्रिभूवन माबिका पुनम पौडेल प्रथम, गणेश माबिकी सोनी थापा द्वितिय र न्यू ओयसिस माविकी सोनिया परियार तृतिय भए ।दौडमा बिजयी भएपछि सिगानाका आरती जिसी र सोदिप सुवेदीले खेलाडीका लागि खाली खुट्टा दौडनुपर्ने बाध्यता भएको बताए । जर्सी बिद्यालयले उपलब्ध गराएपनि जुत्ता नभएपछि हिड्नेडुल्ने बेलाकै जुत्तामा दौडनु परेको बताए । उनीहरुले आयोजकबाट खेलाडीलाई एकै प्रकारको पोशाक र जुत्ता उपलब्ध गराएमा खेलको स्वच्छ प्रतिष्पर्धा हुन सक्ने बताए ।
खेल प्रतियोगिता अन्र्तगत सोमबारै भलिबलका प्रतियोगिताहरु सुरु भएका छन् । त्यस्तै छात्र तथा छात्रा सटपुट, लमजङ र हाइजम्प लगायतका खेल पनि भएका छन् । कबड्डी खेलपनि सोमबारै संचालन भएका छन् । मंगलवार छात्रछात्राको ३ हजार मीटर दौड, भाला हान्ने र भलिबलका अन्य खेलहरु हुने आयोजकले जनाएको छ । नगरभित्रका २४ बिद्यालयले प्रतियोगितामा भाग लिएको बताइएको छ ।
प्रतियोगिताको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बिद्यालय स्तरमा हुने खेलकुँद प्रतियोगिताले बालबालिकाको शिक्षा र स्वास्थ्य क्षेत्रमा समेत सुधार हुने बताए । उनले शिक्षाको बिकासमा पनि नयाँ उत्साह थपिने भएकोले खेल अनिवार्य भएको बताए । नगरपालिकाले खेलका लागि प्राथमिकता दिएर खेल मैदान निर्माण देखि प्रतियोगितामा पनि रकम बिनियोजन गरेको बताए । प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुनेले नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र पाउनेछन् । हरेक खेलमा पनि प्रथम, द्वितिय र तृतिय हुने खेलाडीले प्रमाणपत्र र मेडल पाएका छन् ।





