शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

टिम इभेन्टमा नेपाल दोस्रो

टिम इभेन्टमा नेपाल दोस्रो


  • विजय नेपाली
  • फाल्गुन १७ २०७६, शनिबार

पोखरा,१७ फागुन – लगातारको मौसम परिवर्तनले प्रभावित भएका विश्व कप एशियन टुर–२०२० अन्तरगतको छनौट खेल तथा ‘१९ औं नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियन’मा नेपालले टोम इभेन्टतर्फ दोस्रो स्थान हाँसिल गरेको छ ।
नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजनामा पोखरामा जारी प्रतियोगिताको४२.७ किलोमिटरको क्रस कन्ट्री इभेन्ट तर्फको ‘टास्क’मा १७ अंक जोड्दै नेपाल दोस्रो भएको हो । टाक्समा सहभागी ९२ जना प्रतिस्पर्धीमध्ये ५२ जनाले टास्क पूरा गरेका थिए । त्यस्तै २० अंक जोड्दै कोरिया पहिलो स्थानमा रहेको छ भने नेपालकै अर्को टिम ‘टिम एभरेष्ट’ १५ अंकका साथ तेश्रो स्थानमा रहेको छ ।यता, एकल तर्फको प्रतिष्पर्धामा भने कोरियाका चिक्योङ हा ७५० अंकका साथ पहिलो, कोरियाका जङ्गमेन चोई ७३४ अंकका साथ दोश्रो, मुनसिउब लिम ७२६ अंकका साथ तेश्रो स्थान बनाएका छन् । नेपालका युवा खेलाडी युकेश गुरुङ ७१९ अंकका साथ चौथो स्थानमा रहँदै कोरियाका खेलाडीलाई पछ्याइरहेका छन ।
त्यसैगरि, महिला एकलतर्फ अमेरिकाकी ग्यालेन कर्कप्याट्रिक २०६ अंक बटुल्दै अग्र स्थान बनाएकी छन् भने कोरियाकी याना ली १५६ अंकका साथ दोश्रो स्थानमा छन । स्विजरल्याण्डकी सुसन स्टोफर र भारतकी रिनुल पशांकर क्रमश ः ६८ र ५२ अंकका साथ तेश्रो र चौथो स्थानमा रहेका छन ।

शुक्रबारको टास्कअन्तर्गत प्रतियोगीहरुले सराङकोटहुँदै नौडाँडा, ठूलाखेत, लामा गाउँ, पुम्दीभुम्दी, धम्पुस, मेतलाङ हुँदै खपौंदीमा ल्याण्डिङ गरेको अधिकारी बताए । तिन दिन सम्म पोखराको मौसम बिग्रदा खेलमा पूर्णरुपमा वाधा पुगेको थियो भने प्रतियोगिहरु सराङकोट उडान क्षेत्र बाट रित्तो हात फर्किएका थिए ।
नेपालमा आयोजना भएको अहिलेसम्मकै प्याराग्लाइडिङको ठूलो प्रतियोगितामा २० देशका ९२ जना पाइलटहरुले विश्वकप छनौटका लागि प्रतिष्पर्धा गरिरहेको प्रतियोगिताका संयोजक एवम ना का निवर्तमान अध्यक्ष योगेश भट्टराईले बताए । नेपाली १३ जनासहित सहभागिता रहेको उक्त प्रतियोगितामा ८ जना विदेशी महिला खेलाडी समेत रहेका छन । नेपाल भ्रमण २०२० को अवसरमा आयोजित उक्त प्रतियोगितामा छनौट भएका खेलाडीले विश्वकपमा पुग्न एशिया ३ देशमा हुने विभिन्न चरणका खेलहरुमा जित्नुपर्ने ना का अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिए । यही फागुन १७ गतेसम्म संचालन हुने प्रतियोगिता अन्तरगत विश्वकप टुरका लागि र नेपालतर्फको च्याम्पियनशिपमा विजेता खेलाडीलाई पुरस्कृत गरिनेछ ।

एशियन अन्तरगत एफएआईले एशियन प्याराग्लाइडिङ वल्र्ड कप एशोसियसनको मातहातमा रही सन २०२० का लागि नेपाल, चीन र इण्डोनेशियामागरि तीनवटा टुरहरु समेत आयोजना गर्न स्विकृति दिएको हो । प्रतियोगिताको मुख्य उद्धेश्य एशियाका प्याराग्लाइडिङ खेलाडीलाई विश्वकपको सूपर फाइनलमा सोझै प्रवेश दिनका लागि भएको हो । विश्वकपको सुपर फाइनल भने सन २०२१ मा फ्रान्समा हुनेछ ।

प्याराग्लाइडिङ प्रतियोगितालाई पूर्णरुपमा शुरक्षित बनाउन नेपाली सेनाले सहयोग गरिरहेको छ । सम्भावित दुर्घटना भएमा हेलिकप्टर सहित सेनाहरु परिचालित गरि प्याराग्लाइडिङको अन्तर्राष्ट्रिय खेल अभ्यासमा नेपाली सेनाले उदाहरणीय कार्य गरेको संयोजक भट्टराईले बताए । नेपाली सेनाले खेलाडीका उडानका सम्पूर्ण सामाग्रीहरु समेत सराङकोट ल्याउन लैजान सहयोग गरिरहेको छ ।
प्रतियोगितामा खेलाडीहरुको उडान भइरहेको बेला सबै जानकारी लिन ‘लाइभ ट्रयाकर’ यन्त्रको समेत प्रयोग गरिएको छ । नेपालमा प्याराग्लाइडिङ प्रतियोगितामा ‘लाइभ ट्रयाकर’ प्रयोग पहिलो पटक गरिएको हो । ‘लाइभ ट्रयाकर’को ‘चिप’ प्रत्येक खेलाडसँ रहने र कुन खेलाडी वा पाइलट कता उडान गर्दैछ भन्ने सम्पुर्ण दृष्य समेत सोझै मोनिटर बाट हेर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->