पोखरा,१७ फागुन -‘हाम्रोमा क्रिकेटको विकास नै हुन सकेन’, नेपाली क्रिकेटका पूर्वराष्ट्रिय खेलाडि वीरेन्द्र पुनले भने,‘क्रिकेटमा मेडल र पदक जितेका हामी जिरोमा झर्दा पनि पदमा बसेकाहरुले चासो दिएनन् ।’
केही समयअघि सम्पन्न भएको मनमोहन कप, आठौँ राष्ट्रिय, पिएम कपको सन्दर्भ सुनाउँदै थिए उनी । ‘३ वटा खेल खेल्नको लागि हाम्रो क्षेत्र गयो । तर सबैमा हा¥यो । सबैमा जिरो छ’, उनले गुनासो पोखे, ‘एउटा म्याच पनि जितेन । हाम्रो प्रदेश र जिल्ला क्रिकेट संघ चलाएर बसेको मान्छे के हेरेर बसेको छ ?’
गण्डकी प्रदेशको खस्किँदो क्रिकेट देख्दा सिनियर खेलाडिहरु यतिबेला चिन्तित बनेको उनले सुनाए । उनीसहित राष्ट्रिय क्रिकेट खेलाडी गोविन्द प्रधान, पूर्वअन्तर्राष्ट्रिय क्रिकेट खेलाडी दीपेश खत्रीले प्रदेशको क्रिकेट अवस्था बिस्तारै ओरालो लाग्न थालेको गुनासो गरे । प्रधान अहिले गण्डकी प्रदेशको क्रिकेट कप्तानको जिम्मेवारीमा पनि छन् । पूर्वअन्तर्राष्ट्रिय खेलाडी दीपेश खत्री नयाँ खेलाडीलाई क्रिकेट सिकाउँछन् । पुनले भने खेल जीवनबाट सन्यास लिइसकेका छन् ।
तर, प्रदेशको खस्किदो क्रिकेट अवस्था देखेर फेरि खेल जीवनमा फर्किन चाहन्छन् ।‘अब म पनि खेलमै फर्किन्छुु’ उनले भने,‘यसरी आफ्नो क्षेत्र ओरालो लाग्दै गरेको कसरी हेर्ने ? पदमा बसेकालाई माया नभए पनि हामी खेलाडिहरुलाई त माया छ नि ।’
क्रिकेटको विकास गर्न बनेका निकायहरुले नै बेवास्ता गरेको उनीहरुको आरोप छ । आफूले सन्यास लिए पनि क्रिकेटको माया लागिरहने उनी बताउँछन् ।
क्रिकेट संघका अध्यक्षलाई जिल्लाको क्रिकेट किन ओरालो लाग्यो भन्दा नयाँ खेलाडि नै नजन्मेको भन्नेजस्ता बेतुकका तर्क गरेको उनले सुनाए ।‘उहाँलाई प्रश्न ग¥यो नयाँ खेलाडि नै जन्मेनन्, प्रदेशमा क्रिकेटको माहोल नै बनेन्, सिनियर खेलाडीहरु फेजआउट हुन सकेन’, उनले भने, ‘कोचहरु छैन भन्नुहुन्छ ।’
क्रिकेटको विकास गर्नेहरुले नै अरुलाई आरोप लगाएर तर्किन खोजेको उनको आरोप छ । क्रिकेटको विकास गर्न भनेर पदमा बस्नेले क्रिकेटको विकास गर्न नसके पदमा बस्नुको कुनै औचित्य हुन नसक्ने उनी तर्क राख्छन् । एक त क्रिकेट सिक्न चाहने नयाँ खेलाडिको लागि सिक्ने ठाउँ पनि छैन पोखरामा । २ वर्षदेखि प्राइभेट सेक्टरबाट चलेको एकेडेमी पनि संघले हामीहरु नै चलाउँछौं भनेर बसेको बन्द छ । ‘बच्चाहरु खेलेका पनि थिए, कोचहरु पनि भयो’, गण्डकीका कप्तान गोविन्द प्रधान भन्छन्, ‘२ वर्ष यता ग्राउन्डकै विवाद छ ।’
ग्राउन्ड संघको कि प्रदेशको ? यही विषयमा अन्यौल रहेको उनले सुनाए । ‘संघबाट त स्वीकृति पाई सकेका छौँ’, उनले भने,‘भोलि प्रदेशले पाउँदैनौं भन्न सक्ने । एकेडेमी कसले लिने ?’
क्रिकेट सिक्न एकेडेमी पनि छैन अहिले । न टुर्नामेन्ट नै छ । कप्तान गोविन्द भन्छन्,‘यस्तोमा नयाँ फेसेज छैन भन्न मिल्दै÷मिल्दैन । प्रतिभा भएर पनि देखाउन ठाउँ नभएको उनको गुनासो छ ।’
आफूहरुले क्रिकेट सुरु गर्दा ताका मान्छेहरु क्रिकेट नै नबुझे पनि क्रिकेटलाई माया गर्ने उनी सुनाउँछन् । ०५७ देखि जुर्मराएको पोखरेली क्रिकेट पिएन क्याम्पसमा अन्डर सेभेन्टीहुँदै रंगशाला जस्तो सुविधासम्पन्न ग्राउन्डसम्म आइपुग्दा पनि उकालो चढ्न नसकेको भन्दै उनले गुनासो पोखे । ‘त्यतिबेला क्रिकेट भन्ने कसैलाई थाहा थिएन ’,उनले भने, ‘मतलब पनि थिएन । मलाई पनि थाहा थिएन । लहैलहैमा खेल्न गएको हो ।’
तिनताका ७० देखि ८० प्लेयर्सको जमघट हुन्थ्यो । बाहिरबाट पनि खेलाडिहरु आउँथे । क्लब÷क्याम्पस खेलहरु चलि रहन्थ्यो । यसरी क्रिकेटमा जम्न खोजेको पोखरा एक्कासी जिरोमा खस्दा दुःख लागेको उनले सुनाए ।
पोखरामा खेल नहुँदा खेलाडिहरु खेल्ने काठमाडौं पुगेको छन् ।‘यहाँ गेम छैन’, गोविन्द गुनासो पोख्छन्,‘पदमा बस्नले सोच्नुपर्ने बेला आइसक्यो ।’
पूर्वअन्तर्राष्ट्रिय क्रिकेट खेलाडि दीपेश खत्री २०÷२१ वर्ष पहिले जस्तो क्रिकेटको माहोल पोखरामा अहिले नभएको बताउँछन् । क्रिकेटको विकास गर्नुको सट्टा क्रिकेट खेलाडिहरुलाई ने दोष थुपारेको स्मरण गर्दै उनले यो जस्तो नमीठो अरु केही हुन नसक्ने बताए अमरसिंह ग्राउन्ड, पिएन क्याम्पस र बसुन्धरा पार्कहुँदै रंगशालासम्म क्रिकेट आइपुग्दा क्रिकेटको विकास हुन नसक्नुमा नीति बनाउँनेहरुकै दोष रहेको उनी बताउँछन् ।
सिनियर खेलाडि आफैंले क्लब खोल्नु पर्ने टिम बनाउनुपर्ने, प्रतिष्पर्धा बढाउनुपर्ने क्रिकेट संघको आशय रहेको उनको आरोप छ । ‘उहाँहरु संघमा बसेको त क्रिकेटको विकास गर्नको लागि हो नि’, उनले भने, ‘हामीले नै गर्नुपर्ने भए संघ किन चाहियो ?’ क्रिकेट संघसँग आफ्नो क्यालेन्डर पनि भएको बताउँदै उनले क्रिकेटको माहोल बढाउन प्रतियोगिताहरु बढाउँदै लैजानुपर्ने सुनाए ।
होम क्रिकेट कसरी विकास गर्ने ?
बजेट कहिले आउँछ र क्रिकेटको विकास गरौंला भनेर बस्यो भने क्रिकेटको कहिले विकास नहुने तिनै खेलाडीहरुको निष्कर्ष छ । पहिला आफैं कस्सिए मात्रै केन्द्रबाट पनि बजेट विनियोजन हुने उनीहरु बताउँछन् । कतिपय जिल्लामा आफ्नो लिग आफैं पनि चलि राखेको छ ।
‘रुपन्देहीमा ए डिभिजन बि डिभिजनको आयोजना हुन्छ’, गण्डकीका क्रिकेट कप्तान गोविन्द प्रधानले भने,‘त्यहाँका मान्छे आफैंले कस्सिएर भाको हो । बजेट ताकेको भए त्यति पनि हुदैनथ्यो ।’ क्रिकेट भन्दापछि आएको ब्याडमिन्टन संघ, टेनिस संघ माथिपुग्दा क्रिकेट भने झनै खस्किएको भन्दे उनीहरुले गुनासो पोखे ।
यता, क्रिकेट संघका कास्की जिल्ला अध्यक्ष सञ्जयकान्त सिग्देल भने क्रिकेटमा योगदान पु¥याएको हैसियतले एकेडमी बनाउँन र क्रिकेट कोचिङका लागि ५ जना खेलाडीलाई जिम्मेवारी दिएको बताउँछन् । क्रिकेट विकासका लागि पूर्वाधार पनि ल्याएर एकेडेमी सञ्चालन गर्न दिँदा पनि संघलाई आरोप लगाएको भन्दै कटाक्ष गरे ।‘नेगेटिभ मानसिकता बोकेर केही पनि हुन्न’, उनले भने,‘उनीहरुलाई हामीले नियुक्ती दिएर पत्र काटेर दिएको हो । काम नगर्ने, सबै थोक जिम्मा दिँदा पनि दोष मात्र लगाएर हुन्छ ?’
संघले स्कूल लेभल र क्लब लेभल गेमहरु जिल्लामा सञ्चालन गर्दै आएको उनले बताए । पोखरामा रंगशालालगायत क्रिकेट मैदान र अन्य खेलकूदका पूर्वाधारहरु बनि रहेका छन् । यद्यपि, अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिग‘पोखरा प्रिमयर लिग’ बाहेकका अरु ठूला खेलहरु भने आयोजना भएका छैनन् । फूटबलमा भने, सहारा क्लबको आयोजनामा ‘आहा रारा गोल्ड कप’ वर्षेनी आयोजना हुँदै आएको छ ।





