आउँदो फागुन २२ गतेदेखि पोखरामा १८ औं संस्करणको ‘आहा ! रारा गोल्ड कप’ आयोजना हुँदै छ । ‘खेलकुदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन सहरको रुपमा स्थापित गरौँ’ भन्ने मूल नारा बोकेर अघिबढिरहेको सहारा क्लब पोखराले हरेकवर्ष यसै समयमा ‘आहा ! रारा गोल्ड कप’को आयोजना गर्छ । २०५८ मा क्याराभान गोल्डकपलाई २०५९ देखि ‘आहा ! गोल्ड कप’को नाम दिइएको हो । आहा ! गोल्डकपको १० औं संस्करणपछि नाम परिवर्तन गरेर हिमश्री फुड्स प्रा.लि.को उत्पालन रारा चाउचाउसँग सहकार्य गरेर मुख्य प्रायोजकको रुपमा सम्झौता गरेर ‘आहा ! रारा गोल्ड कप’को नाममा सञ्चालन हुँदै आएको छ ।
‘आहा ! रारा गोल्ड कप’को सुरुआति दिनदेखि १८ औं वर्षसम्म आइपुग्दा के कस्ता चुनौतिहरु थिए ? क्लबका भावी योजना र १८ औं गोल्ड कपको तयारी विषयमाथि केन्द्रित रहेर ‘ढोरपाटन’ दैनिकले आयोजक संस्था सहारा क्लब पोखराका अध्यक्ष केशव थापासंग कुराकानी गरेको छ । उनीसँंग गरेको कुराकानीको अंश ।
१८ औं आहा ! रारा गोल्ड कपको तयारी कस्तो छ ?
अन्तिम चरणमा छ । १८ औं संस्करणको आहा ! रारा गोल्ड कप सफल पार्न सबैजना लागि परेका छौँ । १६ जना उपसमिति बनाएर कामको बाँडफाँड पनि गरेका छौँ ।
आहा ! रारा गोल्ड कपले १८ औं संस्करणसम्म पुगेर एउटा गर्विलो इतिहास कायम गरि सकेको छ ।
गोल्ड कपका सुरुआति दिन कस्ता थिए ? कसरी सुरु भएको थियो ?
फुटबल खेल्ने युवाहरुको जमात थियो पोखरामा । त्यही युवाहरुको जमातले नै सहारा क्लब पोखरा जन्माए । त्यो बेला ‘रारा कप’ भएको थियो । ‘रारा कप’मा सहभागी हुन, सहारा क्लबको नामबाट खेलियो । त्यो खेल सकिई सकेपछि त्यही युवाको जमात मिलेर २०५५ मा क्लब स्थापना भएको थियो । पहिला खेल खेलौँ भनेर क्लब दर्ता ग¥यौँ । पछि, खेल्ने मात्रै होइन खेलाउनु पनि पर्छ भन्ने अवधारणा आयो । खेलाउनेले मात्र पनि पुगेन, खेलाडी पनि उत्पादन गर्नुपर्छ भनेर एकेडेमीतर्फ पनि लागेका हौँ ।
२०५७ मा जिल्लास्तरीय सहारा कप खेलाएका थियौँ । ०५८ मा क्याराभान गोल्डकपको आयोजना ग¥यौँ । त्यसपछि, २०५९ मा पहिलो ‘आहा ! गोल्ड कप’को आयोजना भयो । गोल्डकपको १० औं संस्करणपछि नाम परिवर्तन गरेर हिमश्री फुड्स प्रा.लि.को उत्पालन रारा चाउचाउसँग सहकार्य गरेर मुख्य प्रायोजकको रुपमा सम्झौता गरेर ‘आहा ! रारा गोल्ड कप’को नाममा सञ्चालन हुँदै आएको छ ।
०५८ सम्म घरदेखि नै आउजाउ गर्ने गरि एकेडेमी सञ्चालन हुन्थ्यो । अरु पनि खेलाडि उत्पादन भए पनि नाम सुनिनेगरि राष्ट्रिय फुटबल खेलाडिको रुपमा अनिल गुरुङ आउनु भएको थियो । पछि, छलफल हुँदै जाँदा घरदेखि आउने जाने भन्दा विपन्न परिवारका विद्यार्थीहरु लिएर ०६१÷६२ देखि आवासिय एकेडेमी सुरु गरेका हौँ ।
थुप्रै खेलाडीहरु यहाँबाट निस्किए । अजित भण्डारी, लक्ष्मण जीसी राष्ट्रिय टिममै बोलाएको थियो । क्लोजक्याम्पमा बोलाएको सुशिल लामा लगायत छन् । अझै पनि खेलिरहेको अवस्था छ ।
अहिले एकेडेमीमा तेस्रो ब्याचका विद्यार्थीहरु छन् । ०७० बाट दोबिल्लामा सुविधासम्पन्न तरिकाले एकेडेमी सञ्चालनमा छ । कामले काम सिकाउँलै रै’छ । हिजो घरबाट आउने जाने थियो, सानो ठाउँमा एकेडेमी सञ्चालन ग¥यौं । त्यो पनि पर्याप्त भएन भनेर ०६३÷६३ मा पोखरा १७ दोबिल्लामा २६ रोपनी जग्गा किनेर सुविधासम्पन्न भवन सहित खेलमैदान पनि तयार पारेर तेस्रो चरणका १४ जिल्लाका २४ जना बालकहरु आश्रित छन् । जसको सबै खर्च क्लबले नै गर्दै आएको छ । हाम्रो आम्दानीको मुख्य स्रोत ‘आहा ! रारा गोल्ड कप’ नै हो ।
सुरुमा बालहरु लिने बेलामा १० कक्षासम्मको लागि भनेर लिएका थियौँ । तर, पछि आएर नेपाल सरकारको प्रावधान अनुसार माध्यमिक शिक्षा १२ सम्म भई सकेपछि १२ कक्षासम्म नै पढाउने गरि जिम्मा लिएका छौँ । ११ कक्षासम्म पढ्ने बच्चाहरु छन् ,अहिले ।
एकेडेमी चलाउँन सानोतिनो खर्चले पुग्ने कुरै आउँदैन । एकेडेमीमा खाने, बस्नेदेखि पढ्ने खर्च क्लबले नै उठाउने गरि सञ्चालन गरि रहनुभएको छ । कसरी व्यवस्थापन गरि हनु भएको छ ,यो सबै ?
एकेडेमी सुरु गर्दा त हामीले विभिन्न संघ÷संस्थाबाट सहयोग लियौँ । एकेडेमीको लागि जग्गा किनेको पनि ऋण लिएरै हो । विभिन्न देशमा बस्ने नेपालीबाट सहयोग पायौँ ।
खेलमैदान पनि बनाउने भइसकेपछि युके, हङकङ, बाहिरका संघ÷संस्थादेखि बाहिर बस्ने नेपाली दाजुभाई÷दिदीबैनीको सहयोग पायौँ । यसरी, एकेडेमीको लागि भवन र खेलमैदान तयार पा¥यौँ ।
एकेडेमीको खर्च कम हुँदा, आहा ! रारा गोल्ड कपबाट उठेको रकमबाट ग्राउन्ड, भवन बनाउन खर्च ग¥यौँ । यसलाई निरन्तरता दिइरहन अक्षयकोषको अवधारणा पनि अघि बढाएका छौँ । २ करोड बराबरको अक्षय कोष जम्मा भइसकेको छ । यसरी, अघि बढ्दै आएका छौँ । हाम्रो मुख्य आयस्रोत भनेको व्यक्ति, संघ÷संस्थाले गर्दै आएको सहयोग नै हो । सहारा युके, अष्ट्रेलिया, हङकङ लगायतका संघ÷संस्थाहरु हुुनुहुन्छ । ‘आहा ! रारा गोल्ड कप’को सञ्चालनबाट बचतहुँदै आएको रकम पनि मुख्य आयस्रोत हो । तिहारमा देउसी÷भैलो खेलेर पनि केही रकम जम्मा हुन्छ । ति सबैबाट आउने रकम बचत गर्दै एकेडेमी सञ्चालन गरि रहेका छौँ ।
अहिले विश्वभर प्रकोपको रुपमा नै फैलिई रहेको छ कोरोना भाइरस । हामी पनि उच्च जोखिमको सूचिमा छौं । नेपाल सरकारले पनि ठुला सार्वजनिक कार्यक्रमहरु नगर्न निर्देशन दिई रहेको छ । यस्तोमा, ‘आहा ! रारा गोल्ड कप’सञ्चालन हुन्छ कि हुँदैन ? कस्तो योजना बनाउनु भएको छ ?
नेपालमा पनि ४÷५ जनामा देखियो भनेर भनिएको छ । पोखरामा त एउटा पनि देखिएको छैन । संक्रमण नहोला भन्ने त होइन । तर, हामी सबैले सतर्कता अपनाएन भने प्रकोप नफैलिएला भन्न सकिन्न । त्रास मात्रै दिएर पनि भएन । सेफ्टीको हिसाबले सरकारले दिएको सुझाव पनि ठीकै हो ।
हामीलाई चाहीँ खेललाई यसले असर गर्दैन होलाजस्तो लाग्छ । प्रभाव खासै छैन । यसको प्रभाव नहुँदा एकैचोटी ह्वात्तै बन्द गर्नुपर्ला जस्तो हामीलाई लागेको छैन । चैतको ५ गतेसम्म त विद्यालयमा एक्जाम चल्नेछ । एसइईको एक्जाम पनि सुरु हुँदैछ । यी सबलाई मध्यनजर गर्दा केही समयपछि प्रकोपै बनेर आएर बन्द गर्ला । त्यस्तो किसिमको सोच त बनाएका छैनौँ । सरकारले नै चलाउनै हुँदैन भनेर प्रतिबन्ध लगाए सरकारभन्दा ठूलो हामी त होइन नि ।
सहारा क्लबका अबका योजना कस्ता छन् ?
फुटबलमै समृद्ध बनाई रहेका छौँ । भोलिका दिनमा फुटबलसँगसंगै सामाजिक काम पनि अघिबढाउँदै लैजाने हो । ए, डिभिजन लिग नै आयोजनागरि आफूलाई व्यावसायीक रुपमा परिमार्जित गर्ने किसिमले लैजाने छौँ । विपन्न वर्गका बालहरुलाई मात्रै होइन, भोलि घरबाटै आउन पनि मिल्नेगरि एकेडेमी थप गर्दै लैजाने हाम्रो योजना छ ।





