पोखरा, २७ फागुन – पोखरा रंगशाला निर्माणाधीन फुटबल मैदानमा जारी आहा रारा गोल्डकपमा संकटामाथी सहज जित निकाल्दै गत वर्षको उपविजेता त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
सहारा क्लब पोखराको आयोजनामा जारी १८ औ आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेलमा आर्मीले ३(० गोलको फराकिलो गोल अन्तरले पाखा लगाउदै सेमिफाइनलमा मनाङ संगको भेट पक्का गरेको हो ।
पहिलो हाफमै १(० गोलको अग्रता लिएको आर्मीले दोस्रो हाफमा फिनिसिङ लाइनमा सुधार गर्दै थप दुइ गोल गरेको हो ।
आर्मीको जितमा सुदिल राइ, नवयुग श्रेष्ठ र वैकल्पिक खेलाडिको रुपमा मैदान प्रवेश गरेको विवेक बस्नेतले गोल गरे ।
खेलको १५ औ मिनेटमा आर्मीका सुदिल राइले गोल गर्दै आर्मीको लागी अग्रता दिलाए । सुदिलले सुमन अर्यालको पासमा गोल गरे । यस अघि सुमनले खेलको चौथौ मिनेटमा पहेँलो कार्ड पाएका थिए ।
त्यस्तै खेलको ७१ औ मिनेटमा आर्मीका लागी नवयुग श्रेष्ठले गोल गरे भने खेलको ७८ औ मिनेटमा आर्मीका लागी परिवर्तित खेलाडी विवेक बस्नेतले गोल गर्दै आर्मीको अग्रता तेब्बर बनाए । आर्मीले त्यो बाहेक पहिलो हाफमा पाएको अन्य अवसरको सदुपयोग गर्न सकेन । आर्मीका कप्तान भरत खवासले बारम्बार अवसर पाए पनि गोल गर्न भने चुके । खेलको २४ औ मिनेटम भरतले राम्रो अवसर पाए पनि अलमलिन पुगे । सोहि बललाई गोर्गे प्रीन्स कार्कीको फितलो प्रहार संकटाका गोलरक्षक राजा बाबु थापाले सहजै समाए । खेलको २९ औ मिनेटमा दिपक गुरुङको पासमा भरत खवासले गोल गर्न सकेनन् । कप्तान भरतको फिनिसिङ निकै कम्जोर देखियो । त्यस्तै खेलको ३० औ मिनेटमा सुमन अर्यालको उत्कृष्ट क्रसपासमा नवयुग श्रेष्ठले फिनिसिङ दिन सकेनन् । उनले फ्लिक गरेको बल क्रसबार माथीबाट बाहिरियो । उता खेलको ७ औ मिनेटमा संकटाका मेस्सोयुके पिएरले पाएको अवसरमा आर्मीका विकास तामाङ बाधक बने । त्यस्तै खेलको १४ औ मिनेटमा संकटाका लक्षमण रुचालको उत्कृष्ट फ्रीकिक फस्टबार नजिकै बाट बाहिरिन पुग्यो । खेलको म्यान अफ दि म्याच आर्मीका नवयुग श्रेष्ठ घोषित भए ।
हार संगै संकटाका मुख्य प्रशिक्षक सल्यान खड्गीले पहिलो गोल खानु नै दुर्भाग्यपूर्ण बनेको प्रतिक्रिया दिए । “ हामिले पहिलो गोल खानुनै दुर्भाग्यपुर्ण रह्यो हामिले सम्हालेर खेल्न सकेनौ“ खड्गीले भने ।
मनाङ संगको खेलमा फिनिसिङ सुधार गर्छौ : प्रशिक्षक नविन न्यौपाने
आहा रारा गोल्डकप अन्तर्गत मंगलबारको अन्तिम क्वाटरफाइनल खेलमा आर्मीले सहज जित निकाल्यो तर पनि आर्मीको फिनिसिङ लाइन भने निकै कम्जोर देखियो । आर्मीका मुख्य प्रशिक्षक नविन न्यौपानेले मनाङ मर्स्याङ्दी संगको सेमिफाइनल खेलमा फिनिसिङ लाइनमा सुधार गर्ने प्रतिक्रिया दिएका छ्न । “ हाम्रो पहिलो हाफमा एक गोल भयो तर म सन्तुष्ट छैन , हाम्रो फिनिसिङ राम्रो भएन मनाङ संगको खेलमा सुधार गरेर खेल्छौ“ न्यौपानेले भने । आर्मीले लिग पछि मंगलबार मात्रै सेट टिमलाइ मैदान उतारेको हो । “ मैदान निकै राम्रो छ नयाँ मैदान भएको कारणले पनि हामिले बुझ्न समय लग्यो अब खेल फरक हुनेछ“ उनले भने । आर्मीले क्रसपास, सुटिङको सदुपयोग गर्न सकेको भए निकै गोल गर्न सक्ने उनले बताए ।





